एजेन्सी– अफ्रिकी राष्ट्र गिनीमा एउटा अचम्मको भाइरस फैलिएको छ। मानिसको शरीरमा आन्तरिक तथा बाह्य रुपमा रगत बग्ने, बान्ता आउने र झाडापखाला लाग्ने ‘इबोला’ नामक यो भाइरसबाट अहिलेसम्म गिनीमा ५९ जनाको मृत्यु भएको छ।
भकाभक मान्छे मर्न थालेपछि अहिले त्यहाँ त्रास सिर्जना भएको छ। यो भाइरस जंगली जनावरको मासुबाट सर्छ। त्यसैले अधिकारीहरुले जनतालाई जंगली जनाबरको मासु नखान र शान्त भएर बस्न आग्रह गरिरहेका छन्।
अहिलेसम्म यसको कुनै उपचार या भ्याक्सिन देखा परेको छैन। गिनीको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले संक्रमण रोकथामको प्रयास गरिरहेकाले घरभित्रै बस्न सर्वसाधारणलाई आग्रह गरेका छन्। इबोला भाइरस पहिलोपटक युगाण्डा र कंगोमा देखिएको थियो। अहिले गिनीमा मेडिकल सान्स फ्रन्टियरका कार्यकर्ताले काम गरिरहेका छन्।
यो भाइरसको संक्रमणमा परेका २५ देखि ९० प्रतिशत मानिसहरुको मृत्यु हुने बताइएको छ। युनिसेफले त्यहाँ कार्यरत स्वास्थ्य कार्यकर्तादेखि स्थानीयसम्मलाई संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा जनचेतना जगाउने तयारी गरिरहेको छ। मेडिकल सान्स फ्रन्टियरले गिनीका सबैभन्दा प्रभावित ३ स्थानमा ३३ टन औषधि र उपकरण पु¥याउनुका साथै ती स्थानमा ‘आइसोलेसन युनिट’ स्थापना गरेको छ। फ्रन्टियरका सल्लाहकार डा. इस्थर स्टेर्कले आइसोलेसन युनिट संक्रमण फैलिने क्रम रोक्नका लागि अत्यावश्यक भएको बताए।