काठमाडौं– सर्वोच्च अदालतले गत पुस २३ मा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा शशि शर्मालाई पुनर्वहाली गर्ने फैसला गरेपछि डा गोविन्द केसी प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध आमरण अनसनमा बसे। ४ वर्षअघि डिनबाट बर्खास्त भएका डा शर्मालाई अदालतले ४ दिन पदावधि बाँकी रहँदा पुनर्वहाली गरेपछि डा केसी अनसनमा बसेका थिए।
अदालतको आदेश अनुसार शर्माले सोही दिन साँझ पदवहाली गरेका थिए। उनको सेवाअवधि २७ गतेपछि सकिएको छ। डा गोविन्द केसीको अनसन पनि सरकारसँग ५ बुँदे सहमतिपछि तोडिएको छ।
तर, आइओएमको डिनका विषयमा भने अझै बहस चलिरहेको छ। डा शशि शर्माले ४ दिन डिनमा पदबहाली गरेपछि बहालवाला डिन डा जगदीशप्रसाद अग्रवालको पद निरन्तर रहने वा नरहने भन्ने विवाद निस्कियो। कानुन विज्ञले डा अग्रवालकै निरन्तरता रहने बताए भने त्रिवि पदाधिकारीले नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखे। यही सेरोफोरोमा डा अग्रवालसँग स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले कुराकानी गरेका छन्:
डिनको वैधानिकताको विषयमा अन्योल कायमै छ कि प्रस्ट भयो?
कानुनी दृष्टिकोणले हेर्ने हो भने यसमा केही अन्योल छैन। सम्माननीय सर्वोच्च अदालतको पुस २३ को फैसलालाई हेर्ने हो भने, नाम किटान गरेर नै निर्णय भएको हुनाले यो विषयमा कुनै द्विविधा छैन। यसबीचमा ४ दिनका लागि डा शशि शर्मालाई पुनर्वहालीको निर्णय भयो। उहाँ ४ दिन हाजिर हुनुभयो अनि जानु भयो। त्यसपछि स्वतः म नै हो। मेरो पहिलेको नियुक्ति २०७३ कात्तिक १८ मा भएको हो, त्यो नै निरन्तर रहन्छ।
चिकित्सा शास्त्र अध्ययन संस्थानको ४५ वर्षको इतिहासमा सँधै संस्था विस्तार हुँदै गएको सुनिन्थ्यो, तर पछिल्ला केही वर्षयता विवाद धेरै आउन थाल्यो, के संस्थाको गतिमा ‘गियर डाउन’ भएको हो?
त्यस्तो होइन। संस्थानको शाख माथि नै गइरहेको छ। पहिले हामी एक्लै थियौं। जे गरिन्थ्यो त्यो हाम्रो मात्र देखिन्थ्यो। अहिले पनि हाम्रो शिक्षाको क्षेत्रमा हेर्दा ५५ वटा कार्यक्रम चलाउँछौं, त्यो आफैँमा ठूलो संख्या हो। र, त्यसको गुणात्मक स्तर पनि हामीले कायम राखिरहेका छौं।
विगत केही वर्षदेखि हामीले ‘सबस्पेसियालिटी’ कार्यक्रम सुरु गरेका छौं। सेवाको हकमा पनि विस्तार छ। पहिला ३ सय शय्याको शिक्षण अस्पतालबाट सेवा दिइन्थ्यो। आकस्मिक कक्ष साँघुरो थियो । तर, अहिले आँखाका लागि छुट्टै, मुटुका लागि छुट्टै, आकस्मिक कक्ष लगायतका विभागहरु पनि छुट्टाछुट्टै भइसकेका छन्। धेरै अगाडि नै बढेको जस्तो लाग्छ। यो पनि स्वभाविक हो, जब परिवार ठूलो हुन्छ त्यसमा केही कुरा देखिन सक्छ।
अहिले हामीकहाँ १५ वटा सम्बन्धन प्राप्त कलेज छन्। त्यसमा कहिलेकाहीँ कलेजहरुको अदालत जाने आउने जस्ता कुरा आउँदा जनमानसमा गलत सन्देश गएको हुनसक्छ। तर, चिकित्सा शास्त्र अध्ययन संस्थान चाहिँ माथि नै गएको जस्तो लाग्छ।
यस्तो ‘ग्याप’ आउनुमा केही कारक तत्व छन् कि?
त्यस्तो ठूलो कारक तत्व नै छ जस्तो त मलाई लाग्दैन। तर, पनि कहीँ न कहीँ ‘कम्युनिकेसन ग्याप’ हो कि जस्तो लाग्छ। कर्मचारी, फ्याकल्टी, सम्बन्धन प्राप्त कलेज लगायतका क्षेत्रमा समन्वयको अभाव भएको हो कि जस्तो लाग्छ।
प्राज्ञिक निकायमा चाहिनेभन्दा बढी राजनीतिक दबाब भएको हो कि?
यसमा भनिरहने कुरा नै छैन। यो हामी सबैले देखेको, भोगेको कुरा हो। सबै क्षेत्रमा यस्तो छ जस्तो लाग्छ। सोझै राजनीतिक हस्तक्षेप छ भनेर त म भन्दिनँ, तर घुमाउरो हिसाबले केही हस्तक्षेप गर्ने कामहरु चाहिँ नभएका होइनन्।
०००
डिन डाक्टर जगदीशप्रसाद अग्रवालसँग प्रवेश परीक्षामा भएको चिट चोरी, प्रश्नपत्र बाहिरिएको विषय, परीक्षा प्रणाली, विद्यार्थी भर्ना प्रक्रिया, शुल्क, डिन नियुक्त भएपछि हालसम्म गरेका काम, आइओएममा देखिएका समस्या लगायत विषयमा पनि 25मा कुराकानी भएको छ।
हेरौँ पुरा भिडियो