रिमिक्स गीत ‘सालको पात टपरी’, आफ्नै पहिलो एल्बम ‘आधार’ को ‘खै त मलाई झम्के बुलाकी’ जस्ता गीतले गायिका आस्था राउतलाई सफलताको शिखर चुमायो। जति उनी स्वस्थ छिन्, उनको सफलताको पारो पनि बढ्दैछ। स्वास्थ्य खबरपत्रिकासँगको कुराकानीमा उनले आफ्नो स्वस्थ जीवनको रहस्यमध्ये एउटा पोको फुकाइन्, ‘सानो छँदाको खेलकुद रुचीले अहिले पनि स्वस्थ बनाइरहेको छ।’
सकारात्मक सोच र अनुशासित जीवनपद्दति। आस्थाका जीवनमा मुलमन्त्र हुन् यी। जिवन जिउने यिनै कलाले उनलाई स्वस्थ बनाइरहेका छन्। त्यतिमात्र नभई यिनै कुराले उनको गायन करिअरलाई पनि उचाईमा पुर्याउन सहयोग पुर्याइरहेका छन्। ‘ज्यानलाई रोगी बनाउनु र कैदमा बस्नु उस्तै हो,’ आस्थाको स्पष्ट मान्यता छ। यही मान्यतामा टेकेर अहिलेसम्म अघि बढिरहेकी छिन् उनी। ‘यो स्वास्थ्य पत्रिकाको लागि बाठो उत्तर होइन,’ स्पष्टिकरण दिइन्।
केही रोगले आक्रमण गर्न थालेपछि उनले स्वास्थ्यलाई विशेष ध्यान दिन थालेकी हुन्। स्वास्थ्यको ख्याल गर्दा प्राप्त हुने अनगिन्ति फाइदाका कारण उनी अहिले आफूलाई पूर्ण हेल्थ कन्सस भनेर चिनाउन हिच्किचाउदिनन्।
‘खानपानमा अलिकति गडबड गर्यो वा तातोचिसोमा ख्याल पुर्याएन भने स्वास्थ्यले निहुँ खोजिहाल्छ,’ उनले भनिन्।
स्वास्थ्यको ख्याल गर्ने उनको बानीले साथीभाईलाई चिढ्याउँछ रे। किनभने अपच हुने र जंकफुड नखाने भएपछि ‘उमेरमा मस्ति गर्नुपर्छ’ भन्ने मान्यता बोकेका उनका साथीभाई रिसाउछन्। साथीभाईलाई उनलाई भन्छन्, ‘तैँले बार्ने भएकाले रोगले पनि तँलाई नै दुःख दिने गरेको हो।’ तर, उनलाई राम्रोसँग थाहा छ, सबैको स्वास्थ्य उस्तै हुँदैन। कतिको स्वास्थ्यले मज्जैसँग पचाउने खानेकुरा कतिका लागि विष भइदिन सक्छ। त्यसैले साथीभाईको यस्तो भनाइमा उनको उत्तर हुन्छ, ‘स्वास्थ्यको ख्याल गर्ने भएकाले यत्तिको छु, नत्र त मेरो शरीर रोगको घर भइसक्थ्यो।’
उनी रोगविहीन भने होइनन्। सनाइनसले सबैभन्दा धेरै दुःख दिइरहेको छ। धुवाँधुलोको एलर्जीले पनि बेलाबखत आक्रमण गर्न खोज्छ। डेढवर्षअघि जण्डिसको लक्षण देखिएपछि पानी र खानामा सुधार गर्न बाध्य भइन्। कोरिया कार्यक्रममा जाँदा निमोनियाले समातेपछि चिसोसँग पनि भाग्नुपर्ने रहेछ भन्ने थाहा भएको छ। उनलाई लाग्छ, ‘यसरी सानातिना रोगले दुःख नदिदा हुन् त म स्वास्थ्यको यतिविधि ख्याल गर्दिनथेँ होला।’
स्वस्थ रहनका लागि भनेरै खानपानमा व्यापक कटौति गरेकी छन्। गुन्द्रुक, दही, तामा, अचार, माछालगायतका खानेकुरा उनलाई मन पर्छन्। तर, स्वास्थ्यको प्रतिकुलताका कारण खान छाडेकी छन्। फ्राइ, मैदायुक्त र मासुजन्य खानेकुरा पनि स्वास्थ्यकै कारण कटौति भएका छन्। उसो त आफ्नो घर नै भेजेटेरियन भएको उनको दाबी छ। ‘ममी भेजेटेरियन भएकाले बाबा र म पनि सो सरह नै हुन्छौंँ।’ मासु खाने दिन आस्थाको घरमा दुइटा भान्छा बन्छन्। उनी बुवासँग मिलेर बार्दलीमा मासु पकाउँछिन् भने आमाले चाहिँ भान्सामा नियमित परिकार पकाउँछिन्। उनलाई अचेल लाग्छ, ‘आमा भेजेटेरियन भएर राम्रै भयो, नत्र मासुजन्य खानेकुराले स्वास्थ्यमा कति असर पारिसक्थ्यो होला।’
खानाको टाइमटेबल पनि असाध्यै मिलाउने गरिएको छ। उनकी आमा शिक्षिका भएकाले नियमित समयमै खाना खानुपर्ने बाध्यता छ। त्यो बाध्यता नभइ गज्जबको अनुशासन भएको आस्थाले बल्ल बुझेकी छिन्।
सानोमा उनलाई खेलकुदप्रति असाध्यै रुची थियो। त्यसले पनि स्वास्थ्यमा फाइदा पुर्याएछ भन्ने हिसाब बल्ल अहिले निकालेकी छिन्। उनले भनिन्, ‘अहिले बच्चाबच्ची घरबाहिर ननिस्किउन् भनेर अभिभावकले भिडियो गेममा भुलाउने गरेका छन्। यसले गर्दा एकातिर बच्चाको शारीरिक विकास रोकिएको हुन्छ भने अर्कातिर आँखा कमजोर हुने समस्या छ।’ उनले ती अभिभावकलाई सुझाइन्, ‘आउटडोर गेममा बच्चालाई फोर्स गर्नुपर्छ।’ उनले सानोमा खेलमध्ये बास्केटबल धेरै खेलिन्।
स्वास्थ्य क्षेत्रमा रहेर सेवा गर्ने रहर सानैमा पलायो, तर त्यो बीचैमा ओइलिएर मर्यो। पाँच कक्षा पढ्दासम्म फस्र्ट हुने उनलाई त्यतिबेला कसैले ‘भोलि ठूलो भएर के बन्ने ?’ भनेर सोध्यो भने भन्थिन् रे, ‘म डाक्टर बन्ने।’ उनका बुबालाई नर्स बनेपनि हुन्छ भन्ने लागेको रहेछ। कक्षा ६ पुग्दाखेरि उनमा गायन मोह झाँगिन थाल्यो। केही राष्ट्रिय र क्षेत्रीयस्तरका प्रतियोगितामा सफलता हात परेपछि रुची फेरियो।
उनले संगीतमा बढी समय दिन थालिन्, पढाइ पहिलेको जस्तो तेज गतिमा अघि बढ्न सकेन। विज्ञान र म्याथ झन्जटिला विषय लाग्न थाले। त्यसपछि डाक्टर हुने सपनाको आधार कमजोर भयो, तर मरेको थिएन। सात कक्षा पढ्दै गर्दा उनी फुड प्वाइजनिङका कारण थला पर्ने गरी बिरामी भइन्। एक हप्ता हस्पिटल बस्नु परेपछि भने उनलाई जिन्दगीमा अस्पतालको दैलो चिहाउनु नपरोस् भन्ने लाग्यो।
भन्छिन्, ‘अस्पतालको गन्ध र इनभाइरोमेन्ट एलर्जी लाग्न थाल्यो, त्यसपछि डाक्टर बन्ने कुरा सोच्न त के सुन्न पनि छाडिदिएँ।’ डाक्टर भएर रिामीको सेवा गर्न नपाए पनि उनमा एउटा रहरले अहिले पनि पखेटा हालिरहेको छ। त्यो हो, स्वास्थ्य सचेतना बोकेको गीतमा आवाज भर्ने। ‘त्यति गर्न पाएपनि डाक्टर भएकै सरह सन्तुष्टि मिल्थ्यो,’ उनी भन्छिन्।