समकक्षी अभिनेत्रीमा अनिता आचार्यको फिगरको खुव चर्चा हुन्छ। लाम्चो गोलो अनुहारसँगै ‘छिनेको कम्मर’ले उनको आउटलुक तारिफयोग्य देखिएको छ। उनलाई धेरै सोधिरहन्छन्, ‘यो बान्की परेको ज्यानको रहस्य के हो?’ अनितासँग ठोस उत्तर छैन,। मुसुक्क हाँसेर भन्छिन्, ‘भगवानको कृपाले !’
खानेकुरामा भने अलिकति कन्ट्रोल गर्ने बानी छ उनको, त्यो पनि प्राकृतिक रुपमै। थोरै खाने तर बेलाबेला खाइरहनुपर्ने। यसले गर्दा ज्यानमा मासुको थुप्रो बस्न पाएन। तर, अर्काे खराब स्वभाव पनि छ रे, ‘उस्तै परे दुईदिनसम्म पनि खाना नखाए पुग्ने !’ यसैले त हो उनलाई ग्याँष्ट्रिकको रोगी बनाएको। अहिलेसम्म सबभन्दा धेरै दिन अस्पताल बस्नुपरेको पनि ग्याँस्ट्रिककै कारणले भएको बताइन्।
‘सबैको पहिलो प्राथमिकता स्वास्थ्य नै हुनुपर्छ’ भन्ने मान्यता राखेपनि थला नपरी अस्पताल नपुग्ने आम नेपालीभित्रै पर्छिन् उनी । त्यसैले डेढवर्षदेखि उनले कुनै अस्पतालको ढोका ढक्ढक्याउनु परेको छैन। स्वास्थ्यको उस्तो ख्याल नगर्ने आम नेपालीमध्ये नै पर्छिन् अनिता पनि। त्यसैले परिवारका सदस्य सम्झाइरहन्छन्, ‘गाउँ (धुलिखेल)को स्वस्थ खानाको असर सकिएपछि थाहा पाउलिस्।’ काठमाडौँमै जन्मेपनि धुलिखेलमा हुर्किएकीले उनलाई त्यहाँको हावापानी र अग्र्यानिक खानाले अहिलेसम्म धानिरहे झैं लाग्छ।
स्वास्थ्यमा ख्याल राख्नुपर्ने कुराको व्यवहारिक रुपमा पढाइ हुँदैन। त्यसैले पनि जथाभावी औषधि प्रयोग गर्ने र स्वास्थ्य संस्था भनेको बिरामी भएपछि मात्र जाने ठाउँ हो भन्ने सोचाइ आममान्छेको हुने उनले बताइन्। ‘स्वास्थ्यसम्बन्धी शिक्षा सबैलाई हुनुपर्छ, त्यसैले तल्लो तहका विद्यार्थीलाई पनि सामान्य औषधि र स्वास्थ्य टिप्स राखेर पाठ्यपुस्तक बनाउनुपर्छ’, उनको धारणा छ।
यति हुँदाहुँदै पनि आफू स्वस्थ रहनुको रहस्यचाहिँ तनावलाई ब्यवस्थापन गर्न सक्नु हो भन्ने उनलाई लाग्छ। जब तनाब सिर्जना हुन्छ त्यसपछि माइन्ड डाइभर्ट गर्ने कुनै न कुनै जुक्ति निकालिहाल्छिन्। मनपर्ने गीत सुन्ने, मनपरेको मान्छेसँग गफिने र घुम्ने उनका तनाव व्यवस्थापनका औजार हुन्। अरुलाई सुझाउछिन्, ‘हल गर्न नसकिने समस्यालाई लिएर टाउको नसमात्नोस्।’
एसएलसी पास गरुन्जेलसम्म उनको नर्स बन्ने रहर थियो। उनले छरछिमेकमा मान्छे बिरामी पर्दा दौडादौड गरेर डाक्टर बोलाएको देखिन्। ‘बिरामी ठिक गर्ने उपाय मैले जान्नुपर्छ’ भन्ने लाग्थ्यो उनलाई। स्कुलमा मदर टेरेसा, फ्लोरेन्स नाइटिंगेलका जीवनकथाले नर्स बन्ने रहर जगायो। सानोमा ‘उद्देश्य नभएको मान्छे नै होइन, बाँदर हो’ भनेर उनलाई कसैले भनिदियो। त्यसपछि ‘ठूली भएपछि के बन्ने ?’ भन्ने प्रश्नमा उनको उत्तर ‘नर्स’ भयो। एसएलसीपछि नर्सिङको इन्ट्रान्सका लागि फर्म पनि लिएकी थिइन्, तर साथीहरुसँगै प्लस टू पढ्न थालिन्। त्यसपछि मोडलिङ करियर सुरु भयो। नर्स बन्ने उनको रहर त्यत्तिकै बिलायो।
उनलाई लाग्छ, ‘नेपालमा अस्वस्थ मान्छे भन्दा स्वस्थ मान्छेको लेखाजोखा गर्न सजिलो छ।’ पीडा भएर उपचार गर्न नपाउनेका कथा र पीडा दबाएरै बस्नेका व्यथाका बारेमा कुरा गरिसाध्ये छैन। उपचार सर्वसाधारणको पहँुचमा छैन, पहुँचमा भएपनि रोगी छु भन्ने आँट छैन महिलालाई। सरकारको स्वास्थ्य रणनीति निकै कमजोर छ भन्ने उनलाई लाग्छ। ‘सबैका लागि स्वास्थ्य’ भन्ने सरकारी नारा, नारामै सीमित रहेको बताउछिन्।
शहर उपचारका गन्तव्य भएका छन्। तर, टोलैपिच्छे भेटिने अस्पताल र क्लिनिकमा राम्रो सेवा भएको उपचार केन्द्र भेट्न निकै गाह्रो रहेको उनको बुझाई छ। ‘बिरामी भएपछि मान्छे पैसामा कन्जुस्याइँ गर्दैन, सन्चो हुन चाहन्छ। तर, शुल्क तिरेर पनि राम्रो उपचार गर्छुभन्दा उपचार गर्ने ठाउँको अभाव हुन्छ’ उनी भन्दै थिइन्, ‘औँलामा गन्न सकिने राम्रामा सबैको उपचार संभव छैन।’
स्वास्थ्यकै कारणले आजसम्म केही खानेकुरा बारेकी छैनन् उनले। तर, उनको साथीसंगती सबै शाकाहारी भएकाले उनको पनि मासुमा रुची हराएको छ। उनलाई राम्री हुन केही गर्नु छैन। अहिलेसम्म केही गरेकी पनि छैनन् रे। फिल्म क्षेत्रमा लागेका अधिकांस महिलाको ध्यान फिटनेसमा हुन्छ। डाइटिङ पनि पर्छ प्राथमिकतामा । तर, अनिता भन्छिन्, ‘दुब्ली हुनुपर्छ भनेर केही बार्ने गरेकी छैन।’
अनिताका पाँच कुरा
स्वस्थ रहनुको रहस्य – तनावलाई ब्यवस्थापन गर्नु
सुझाव – हल गर्न नसकिने समस्यालाई लिएर टाउको नसमात्नोस
खाना – शाकाहारी नभएपनि मासुमा रुची छैन
बानी – थोरै तर बेलाबेलामा खाने
गुनासो - सरकारको स्वास्थ्य रणनीति निकै कमजोर