फिल्म क्षेत्र धेरैका लागि रहर हो। कति रातारात सेलिब्रिटी बन्ने ध्येयले यो क्षेत्रलाई भ¥याङ बनाउन आइपुग्छन्, कति चाहिँ युवावयको लहडले चम्किलो पर्दामा अनुहार देखाउने भुत सवार भएर। अभिनेत्री नीता ढुंगाना यी दुवैमा पर्दिनन्। उनी जहिलेदेखि बुझ्ने भइन्, त्यतिबेला देखि नै ‘ठूली हिरोइन’ उनको सपना थियो। फिल्म ‘मितिनी’मा बाल कलाकारका रुपमा देखिएर सानै उमेरमा सुरु भएको उनको फिल्म करिअर यतिबेला शिखरोन्मुख छ। उनको फिल्म ‘नोटबुक’ बाट एनएफडिसी फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइसकेकी छन् भने यतिबेला उनको मुख्य भूमिका रहेको फिल्म ‘६ एकान ६’ हिट भइरहेको छ।
नेपाली फिल्म क्षेत्रमा ‘कान्छी हिरोइन’का रुपमा परिचित यी २२ वर्षीया युवतीसँग ‘ठूली हिरोइन’ बन्ने सपना छ। तर, अचेल उनकै समकक्षी वा अग्रज भन्न थालेका छन्, ‘नेपाली फिल्म क्षेत्रमा लागेर उँभो लागिदैंन।’ तर, नीता फरक छिन्। आफू संलग्न क्षेत्रलाई सुधार ल्याउन सकिन्छ, त्यसका लागि आफ्नो योगदान पनि हुनुपर्छ भन्ने धारणा राख्छिन्। ‘सबै फिल्ममा केही छैन भन्छन्, म सबथोक यहीँ देख्छु। आफूले गर्न सके त हुने हो नि,’ नीताको धारणा छ।
यही सकारात्मक सोच उनको करिअर स्वास्थ्यका लागि लाभदायक बनेको छ। नीतालाई नजिकबाट जान्नेहरुले अनुभूत गरेको हुनुपर्छ, मुस्कान उनको मुख्य गहना हो। सधैं मुस्कुराउन सक्ने क्षमता त्योसँग मात्रै हुन्छ जो स्वस्थ हुन्छ। अनुहारमा सधैं मुस्कानको बिजुली चम्काउन उनी स्वास्थ्यको निकै ख्याल गर्छिन्। बिहान साढे पाँच बजे उठ्नु, टन्न पानी पिउनु, आधा घन्टा नाँच्नु र जिम गर्नु उनका दैनिकी हुन्। त्यसमाथि तनाव व्यवस्थापन गर्ने क्षमता पनि उनको मुस्कानको स्रोत हो रे। ‘म त समस्यासँग न डराउँछु न भाग्छु। समस्या आउँछन् जान्छन्। तनाव लिएर केही हुँदैन,’ नीता भन्छिन्।
नीताले सुन्दर बन्नका लागि त्यस्तो विशेष केही गरेकी छैनन्। तर, स्वस्थ रहन भने धेरै गरेकी छिन्। खानेकुरामा पाएसम्म चिल्लो, पिरो र अमिलोको मात्रा कम भएको मात्रै खान्छिन्। सुटिङमा जाँदा झोलामा बिस्कुट र चकलेट राख्न भुल्दिनन्। कम्तिमा तीन महिनाको एकपटक ‘होल बडी’ चेकअप गराउछिन्। उनी भन्छिन्, ‘आमा दमको बिरामी हुनुहुन्थ्यो, उहाँलाई अस्पताल लैजाँदा आफ्नो पनि चेकअप गराउथेँ। त्यही बानी अहिले पनि छ।’ पहिला मेडिकेयर हस्पिटलमा चेकअप गराउने उनी अहिले भने बि एन्ड बि सरेकी छिन्।
उनको फिट शरीरको मुख्य राज भनेको चाहिँ डान्स हो। दिनको आधा घन्टा असिनपसिन हुने गरी नाच्छिन्। ‘सानोमा डान्सका स्टेप सिक्ने सोख थियो, अहिले बाध्यता भएको छ’ उनले भनिन्। उनलाई नाच्दा स्वास्थ्यका दृष्टिकोणले मात्र नभई दिमागका लागि पनि फाइदा पुग्छ । १४ वर्षको उमेरदेखि डान्स शिक्षिका बनेकी उनले नाँच्न कहिले सुरु गरिन् उनैलाई थाहा छैन। उनलाई लाग्छ, ‘निकै सानोदेखि नृत्य गर्न थालेकाले शरिर चुस्त, दुरुस्त बनेको हुनुपर्छ।’
‘सबैको पहिलो प्राथमिकता स्वास्थ्य नै हुनुपर्छ’ भन्ने मान्यता राख्ने नीतालाई बेलाबेला विभिन्न रोगले दुःख दिइरहन्छन्। सबभन्दा धेरै दुःख दिएको छ, ग्याष्ट्रिकले। बालकलाकारबाटै फिल्म क्षेत्रमा पुगेकी उनी सुटिङका कारण खाना टाइममा नभएकाले ग्याष्ट्रिक बल्झिएको बुझेकी छिन्। त्यसकारण उनको झोला छाम्दा दुइटा कुरा अवश्य भेटिन्छन्, बिस्कुट र ग्याष्टिकको औषधी। त्यसैगरी किड्नीमा पत्थरी भएर पनि एकपटक हस्पिटल पुगेकी छिन्। सुरुवाती अवस्था भएकाले अप्रेसन नगरी ठिक भयो।
अस्पताल सक्दो कसैलाई पनि जान नपरोस् जस्तो लाग्छ उनलाई। त्यहाँको वातावरण देखेरै उनलाई अत्यास लाग्छ। ‘नेपालमा त एकखालको दुर्गन्धले नै नजिकै हस्पिटल छ भन्ने जनाउ दिन्छ,’ उनको अनुभव छ। सरकारी अस्पतालको अवस्था झनै दर्दनाक लाग्छ उनलाई। सक्दो अस्पताल जाने अवस्था सिर्जना नगर्न उनले नियमित गर्ने केही कुराको सिको गर्दा पनि हुन्छ। उनी भन्छिन्, ‘सकारात्मक सोच, जिम र डान्सजस्ता व्यायाम नियमित गर्ने, चिल्लोपिरो खानाको लोभ नगर्ने, नियमित चेकजाँच गर्ने हो भने धेरै रोगको बाटो छेकिन्छ।’