टेलिसिरियल ‘दलन’मा पर्वत खौला गाउँकी काली दमिनीदेखि फिल्म ‘फिटकीरी’मा सहरकी आधुनिक युवतीसम्मको भूमिकामा चुस्त–दुरुस्त देखिने अभिनेत्रीको नाम हो, दिया मास्के। दियाको अभिनय कलाको चर्चा बजारमा व्याप्त छ। केही समयअघि फिल्म ‘सुनगाभा’मा उनले गरेको कत्थक नृत्यको पनि निकै चर्चा भएको थियो।
नृत्यमा देखिएको उनको ऊर्जालाई लिएर केही दिनअघि मात्रै अनामनगरस्थित मण्डला थिएटरमा केही नाट्यकर्मी र पत्रकारमाझ चर्चा चल्यो। तर, उनले त्यो फिल्ममा देखाएको ऊर्जालाई छायाँमा पार्ने गरी भनिन्, ‘यहाँहरूले मैले ज्याज डान्स गरेको देख्नु भएकै छैन। योभन्दा बढी इनर्जी देखाउनुपर्छ त्यहाँ।’
सबैको स्वभाविक जिज्ञासा थियो, ‘कहाँबाट प्राप्त हुन्छ, त्यो ऊर्जा?’ दियाले बिन्दास पारामा भनिदिइन्, ‘म स्वास्थ्यकर्मी आमाबाट जन्मिएकी छोरी हुँ। स्वस्थ भएपछि इनर्जी त हुने नै भयो।’ आमा ल्याब असिस्टेन्ट र दिदी डाक्टर भएकाले उनको स्वास्थ्यको राम्रै ख्याल भयो। कहिल्यै जङ्कफुड खान पाइनन्, चिल्लोपिरो र मासु पनि ठिक्क मात्रै।
सानोतिनो बिरामी हुँदा पनि चेकअप भइहाल्ने कारण उनको शरीरमा रोगले चान्सै पाएन। रोग लागेर अस्पताल नपुगे पनि उनको बाल्यकाल अस्पतालकै आँगनमा खेलेर बितेको रहेछ। ‘आमा जुन अस्पतालमा सरुवा हुनुहुन्थ्यो, म पनि सँगै जान्थेँ,’ उनले सम्झिइन्। अहिले पनि उनी हस्पिटल पुग्दा तिनै नोस्टालिजियातिर पुग्छिन्।
आमाको अत्याधिक ब्यस्तताले गर्दा स्वास्थ्य क्षेत्रमा करिअर बनाउने कुरामा भने उनी कहिल्यै पोजेटिभ हुन सकिनन्। चार वर्षको उमेरदेखि नाँच्न थालेकी उनले आठ वर्षको हुँदा ‘जुन त लाग्यो ताराले’ भन्ने बालगीतको भिडियोमा नाँच्ने अवसर पाएकी थिइन्। नृत्य उनको जीवनको महत्वपूर्ण पाटोका रूपमा अघि बढ्यो। ‘नृत्य मेरो स्वस्थ जीवनको अर्काे प्रमुख कारण हो,’ उनले भनिन्। ‘श्रीमान् र निद्रामध्ये एक छान्नुपर्दा निद्रा छान्ने मान्छे म, खेलमध्ये क्यारेम र चेस मात्रै खेल्थेँ,’ उनले ठट्टा गरिन्।
राम्ररी सुत्न सक्ने भएकाले काम र विश्रामको ब्यालेन्स हुन्छ। यही कारण आफू स्वस्थ भएको दाबी गर्छिन् दिया। कुशल ढंगले तनाब व्यवस्थापन गर्नसक्ने दियाले करिअरकै कुरामा पनि तनाब लिइनन्। ब्याचलर्सको पढाइ सकिएपछि उनले एउटा सिरियलमा काम गरेकी थिइन्, ‘सुखदुःखका कथा।’ त्यो सिरियलले उनलाई यति दुःखी बनायो कि, ‘यो अभिनय भन्ने कुरा जिन्दगीमा गर्दिनँ’ भनेर भागेकी थिइन्। तर, ‘दलन’की काली दमिनीले उनलाई छाडिन। गाउँमा पुग्दा त्यहाँका महिलाले आफ्नै दिदीबहिनी सम्झेर अँगालो हालेर रोए। उनलाई लाग्यो, ‘अब अभिनयबाहेक केही गर्दिनँ।’
काली दमिनीका रूपमा अभिनय गर्दाका ती क्षण सम्झिइन्, ‘सहरमा जन्मे/हुर्केकी युवतीले भारी बोकेर उकाली–ओराली गर्नु कहाँ सजिलो थियो र ? मलाई यही स्वास्थ्यले साथ दिएको हो।’ पर्वतको खौला गाउँमा दिया युवती कालीदेखि ४० वर्षे कालीसम्म भइन्। चार महिनामा २५ वर्ष काट्नु, उमेरको वृद्धिसँग हाउभाउ परिवर्तन गर्दै लैजानु सजिलो थिएन।
पात्रसँग नजिकिन उनले त्यो गाउँमा अनेक थोक गरिन्। त्यहाँका महिला सँगसँगै हिँडिन्, खाइन्, बसिन् र अनुहारसमेत डढाएर कालै पारिन्। त्यति मात्रै होइन, ‘कागबेनी’मा मुस्ताङको चिसोसँग पनि उनको यही स्वस्थ ज्यानले पौँठेजोरी खेलेको हो। ‘स्वास्थ्यमा समस्या त आएन तर नक्कली ताराले ‘सक्कली जाडो’ धान्न सकिनँ। मकलमा अँगालो हालेर बस्ने गर्थें। आफ्नो पालो आएपछि मात्रै सेटमा जान्थेँ,’ उनले कागबेनीको सुटिङ सम्झिइन्।
उनी स्वस्थ भएकै कारण कन्फिडेन्स छिन्। त्यही पूर्ण कन्फिडेन्स ‘सुनगाभा’मा देखाइन्। ‘म स्वस्थ भएर घाटा ब्योहोरेको त्यही एउटामा हो,’ उनले भनिन्। दिया नामकी समलिंगीमा पनि उनी दुरुस्तै भेटेपछि चर्चा चल्यो, ‘दिया त समलिंगी नै हो जस्तो छ।’ पत्रकारले प्रश्नै गरे, ‘स्वर पनि हस्की छ, नाम पनि दिया र अभिनय झन् दुरुस्त छ ?’ उनलाई स्पष्टीकरण दिँदै हैरान ! ‘भारतकी माधुरी र रेखाको पनि स्वर हस्की छ। म त्यो होइन कतिलाई भन्नु ?’ उनलाई गर्व लाग्यो, ‘म केटाजस्तै देखिएँ। जसले जेसुकै भने पनि यहाँ पनि म पास भइछु।’
स्वास्थ्यकर्मी हुन झिँजो मान्ने उनले पर्दामा भने त्यही भूमिकामा अभिनय गर्नुपरेको छ। स्वरुपराज आचार्यको स्वर रहेको ‘काँडा त बिझ्यो, बिझ्यो’ बोलको गीतमा उनले डाक्टरको भूमिका निर्वाह गरेकी छिन्। ‘आमाकै ड्रेस र एप्रोन लगाएर अभिनय गरेकाले पनि त्यो डक्टरको भूमिका मेरा लागि अविस्मरणीय रह्यो,’ उनले भनिन्। त्यसैगरी सर्ट फिल्म ‘ल सुन म भन्छु’ र एउटा सडक नाटकमा स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरेकी छिन् दियाले।
स्वास्थ्यकर्मी नभए पनि कसैको स्वास्थ्यका लागि सहयोग गर्नुपर्यो भने उनी तम्सिन्छिन्। रक्तदान गरेर अरूको स्वास्थ्यमा सेवा पुर्याउने उनको रहर भर्खरै मात्र पूरा भयो। ‘धेरै वर्षदेखि ट्राइ गरिरहेको थिएँ, जहिले पनि ब्लडप्रेसर लो भनेर फर्काइदिए। अहिले ठीक ठाउँमा छ। त्यसैल एकपटक दान गरेँ। अब नियमित गर्छु,’ उनले भनिन्।