अरूलाई हसाउनमै जीवन व्यतित गरिरहेका कलाकार मदनकृष्ण श्रेष्ठ आफू पनि सदा हँसमुख देखिन्छन्। सधैँको उनको हँसिलो चेहरा अचेल केही क्लान्त छ। दुई वर्षअघि देखिएको ‘पार्किन्सोन्स ’ रोगले उनको मुहारको चमक खोस्दै लगेको छ। तर, आफूलाई हँसिलो मुहारका साथ रमाइलोसँग प्रस्तुत गर्ने व्यवहारमा परिवर्तन भने एकरत्ति आएको छैन। जागरण, समाजसेवा र हास्यव्यङ्यको सक्रियतामा व्यवधान खडा गर्ने प्रयास गरे पनि उनले आफ्नो इच्छाशक्तिका कारण रोगलाई चुनौती दिइरहेका छन्। उनी काममा सक्रिय नै छन्। शरीरको दायाँ भागमा यो रोगले आक्रमण गरेको छ। दुई वर्षदेखि औषधि सेवन गरिरहेका श्रेष्ठको दायाँ खुट्टा र हात अलि ढिलो चल्छ। फिजियोथेरापी पद्दतिमार्फत आफूलाई सक्रिय बनाएर उनी रोगलाई जितिरहेका छन्।
हेल्थ कन्सियस उनलाई ६ दशक पार गरुन्जेल कुनै रोगल समात्ने आँट गरेन। व्यस्तताका बाबजुद स्वास्थ्यको ख्याल गर्न छाडेनन्। ‘सुटिङको धपेडीले खान–सुत्नको ठेगान हुँदैनथ्यो, तर म सधैँ बिहान मर्निङ वाक जान्थेँ,’ उनले भने। हेल्थ कन्सियस हुँदाहुँदै पनि केही रोगसँग उनले पौँठेजोरी खेल्नुपर्यो। उनलाई यसअघि ‘ब्याकपेन’ र ‘प्रेसर’को समस्याले सताएको थियो। शल्यक्रिया गरेपछि उनको ब्याकपेन ठिक भयो। ‘यो उमेरसम्म आइपुग्दा त्यही ब्याकपेनको शल्यक्रिया गर्दा १० दिन अस्पताल बसेको छु,’ उनले जीवनमै लामो अस्पताल बसाइको स्मरण गरेँ।
आफ्नो मात्रै स्वास्थ्यको ख्याल गर्ने मान्छेभित्र पर्दैनन् उनी। दर्जनौँ टेलिफिल्म र विज्ञापन मार्फत सर्वसाधारणलाई स्वास्थ्यबारे जनचेतना प्रदान गरेका छन्। सर्वसधारणलाई खानेपानी, सरसफाइ, पैष्टिक आहार र रोगले आक्रमण गरेपछि अस्पताल गइहाल्न ‘कन्भिन्स’ गरेका छन्। स्वास्थ्यकै कुरालाई मध्यनजर गरेर मदनकृष्ण र हरिवंश आचार्यको ‘मह’ जोडीले निर्माण गरेका चेतनामूलक हास्य टेलिफिल्मबाट स्वास्थ्य शिक्षा लिने नेपालीको संख्या ठूलै छ।
त्यसमाथि हाँस्नु स्वास्थ्यका लागि लाभप्रद हुन्छ भनिन्छ। जनस्वास्थ्यका लागि उनीहरू अस्पतालसँग पनि जोडिएका छन्। काठमाडौँस्थित मोडल अस्पताल खुल्नुमा महजोडीको ठूलो योगदान छ। पब्लिक हेल्थ कन्सर्न ट्रस्ट (फेक्ट) अन्तर्गत खुलेको मोडल अस्पतालका सञ्चालकमध्ये महजोडी पनि पर्दछन्। यो संस्था गठनका विषयमा मदनकृष्ण भन्छन्, ‘हामी आफ्नो कमाइका लागि मात्रै होइन, सामाजिक कामका लागि पनि कार्यक्रम गथ्र्याैं। स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यले डा. सुमन श्रेष्ठले एउटा बैठकमा हामीलाई बोलाउनुभयो। हामीलाई उहाँको योजना मन पर्यो। यो संस्थाले खोल्ने अस्पतालका लागि सहयोग गर्न राजी भयौँ।’
यही कारण उनी कहिलेकाहीँ सुन्छन्, ‘मोडल अस्पतालमा महको पनि सेयर छ।’ उनको मन कटक्क काट्छ। उनी भन्छन्, ‘फाइदा लिनका लागि हामी हिस्सेदार बनेका होइनौँ, सर्वसाधरणको सेवा गर्न इच्छुक भएका हौँ।’ यो अस्पतालबाट उनले एक रुपैयाँ पनि लिएका छैनन्। बैठकभत्ता भनेर आउने पैसा पनि लिएका छैनन्।
मदनकृष्णलाई यो अस्पतालबाट पैसा लिन नपरोस् जस्तै लाग्छ। भन्छन्, ‘बढीभन्दा बढी सर्वसाधरणलाई सेवा प्रदान गर्न पाइयोस्, त्यो पैसाले अस्पतालले दिने सेवाको गुणस्तरमा बृद्धि गर्न सकियोस् भन्ने उद्देश्य मात्र हो।’ भर्खरै एउटा अनलाइनमा मोडल अस्पतालमा महको सेयर छ भन्ने आशयमा आएको समाचारप्रति उनको चित्त दुखाइ छ, ‘जहाँ हामीले आर्थिक उपलब्धिका लागि काम गरेका छैनौँ, त्यहाँ हाम्रो सेयर कसरी हुन्छ ?’ उनी स्पष्ट पार्छन्, ‘सेयर होइन, त्यो अस्पतालमा हाम्रो योगदान छ भनिदिए हुन्थ्यो।’
जीवनको यो उमेरसम्म आइपुग्दा उनले अरूलाई हँसाए। सबैलाई खुसी पारे। हँसाएरै प्राप्त गरेको पैसाले जीविकोपार्जन पनि भइरहेकै छ। उनको भनाइ छ, ‘अस्पतालमा सर्वसाधरणले सकी/नसकी र रोईरोई तिरेको पैसा हामी लिदैनौँ। त्यो लिन पनि नपरोस्।’ यसको अर्थ अन्यथा नलागोस् भन्ने चाहन्छन् उनी। श्रेष्ठले स्पष्ट पारे, ‘डाक्टर वा स्वास्थ्यका क्षेत्रमा संलग्न अरूको पेसा नै त्यही भएकाले अस्पतालबाट आएको पैसा लिनु नराम्रो होइन तर हाम्रो पेसा अर्कै भएकाले हामीले पैसा लिँदैनौँ भनेका छौँ।’
त्यसैगरी, श्रेष्ठ स्पाइनल इन्जुरी संघमा पनि स्थापनाकालदेखि नै छन्। त्यहाँ उनले सकेको सहयोग गरिरहेका छन्। जनस्वास्थ्यका लागि यसबाहेक धेरै ठाउँमा महजोडी सक्रिय छ। जनआन्दोलनका बेला धेरै सर्वसाधरण नेपाली घाइते भए। कमजोर पारिवारिक अवस्था भएकाहरूले अकालमै ज्यान गुमाउनुपथ्र्याे। कसैले कसैलाई विश्वास नगर्ने त्यो समयमा महजोडी दृश्यमा आयो। जनआन्दोलनका घाइतेको उपचारका लागि उनीहरूले आफैँले चन्दा हालेर सहयोगका लागि सबैलाई आग्रह गरे। सहयोगी मनले लाइन लागेर चन्दा दिए। सर्वसाधरणको जीवनका लागि गरेको त्यो पहलमा गर्व गर्दै श्रेष्ठ भन्छन् ‘हामीप्रति सर्वसाधरणको विश्वास रहेछ भन्ने प्रमाणित भएको थियो। त्यो विश्वास कायम राख्न हामीले पनि मिहेनत गर्यौँ। त्यही ठूलो आत्मसन्तुष्टिको बाटो पनि हो।’