नायिका बेनिशा हमाललाई बाल्यकालमा सेतो एप्रोनमाथि स्टेथेस्कोप झुन्ड्याएर चिटिक्क परेर हिँड्ने डाक्टरहरू बिछट्टै आकर्षक लाग्थे। अभिभावकसँग स्वास्थ्य संस्थाजाँदा सबैलाई निरोगी बनाउँन चाहने ती सुकिला कोटधारीका ठाउँमा आफ्ना बाबालाई राख्थिन् उनी। उनलाई लाग्थ्यो ‘मेरा बा पनि डाक्टर भए हुन्थ्यो।’
ठूलो हुँदै जाँदा उनको आफ्नै रहर भने अन्तै पलायो। सानोमा सेतो ड्रेसप्रति जत्ति आकर्षित थिइन्, पछि उनलाई त्यत्तिकै मात्रामा सेतो पर्दाले तान्न थाल्यो। सेतो पर्दामा देखिन राम्री त हुनैपर्यो। ‘राम्री हुन के गर्नुपर्छ ?’ उनले सोच्न थालिन्। त्यतिबेला अरु आइडिया के नै सोच्न सक्थिन् ? उनलाई लाग्यो, ‘सफासुघर रहनुपर्छ।’ सानैदेखि सफा भएर चिटिक्क पर्ने बानीले राम्री मात्र बनाएन, स्वस्थ हुन पनि सहयोग पुर्यायो।
तर बेनिशाले सानोमा सेतो ड्रेस र स्टेथेस्कोपप्रति जागेको रहर पुरा गर्न भने भुलिनन्। ‘रियलमा होइन रिलमा,’ हाँस्दै भनिन्। रुपा विष्टले गाएको गीत ‘म नारी हुँ’मा डाक्टर भएर अभिनय गरेकी छिन् उनले। ‘एकैछिन अभिनय गर्न त रमाइलो हो, तर सधैँ त्यही जिम्मेवारी निर्वाह गर्न निकै चुनौतीपूर्ण हुन्छ होला,’ रिलको डाक्टरी अनुभव सुनाइन्।
उनलाई जन्डिसले धेरै सताउँछ। त्यसैले कयौं पटक डाक्टर भेटेकी छिन्। ‘काठमाडौँको पानीले गर्दा तीनपटक जन्डिस भइसक्यो,’ उनले भनिन्। धुवाँ धुलोका कारण उनलाई रुघाखोकी र स्किन एलर्जीको समस्या पनि छ। त्यसैले मास्क अनिवार्य जस्तै छ। ‘स्कुटीमा हिँड्ने भएकाले पनि मास्क नबिर्सि लगाउँछु,’ उनले भनिन्।
सानैदेखि खुब एक्सरसाइज गरिन् बेनिशाले। ती न सुन्दरताका लागि थिए, न स्वास्थ्यका लागि नै। तर ती खेलहरूले पनि स्वस्थ राख्न धेरथोर सघाए भन्ने उनलाई महसुस हुन्छ आजकाल। ‘म फुटबल स्किपिङ खुब गर्थेँ,’ बाल्यकाल सम्झिइन्। आठ कक्षासम्म आइपुग्दा फुटबलमा छात्राका तर्फबाट उनलाई टीम क्याप्टेन बनाइयो। विद्यालयभित्र र बाहिरका धेरै प्रतियोगीतामा सहभागी भयो उनको टीम। स्किपिङ त अहिले पनि गर्छिन्। ‘त्यतिबेला रहरले थियो, अहिले करले,’ उनले भनिन्। ज्यान स्लिम बनाउन स्किपिङले सहयोग गरेको छ उनलाई।
सुन्दरता र स्वास्थ्यका लागि बे दुई वर्षदेखि भात खान छाडेकी छन्। ‘त्यसको सट्टा अन्य पोषिला खानेकुरा खान्छु,’ उनी भन्दै थिइन्। सुटिङमा पनि उनले आफ्नो खानेकुराको पहिल्यै व्यवस्था गर्छिन् वा गर्न लगाउँछिन्। ‘प्रायःजसो फ्रुटहरु नै लगेर जान्छु,’ उनले भनिन्। बेनिशा मांसहारी हुन्, मासुभन्दा माछा धेरै खान्छिन्। स्किन राम्रो बनाउने भएकाले माछा बढी खाने गरेको उनको भनाई छ। पानी धेरै पिउने त बानी नै भैसक्यो। जन्डिस भएका बेला डाक्टरले भनेका थिए, ‘पानी धेरै पिउनुपर्छ।’ त्यही सल्लाह पछ्याउँदै जाँदा बानी परेको उनले बताइन्।
चारवटा फिल्म र ५० भन्दा बढी म्युजिक भिडियोमा देखिइसकेकी बेनिशाले नियमित स्वास्थ्यजाँच चाहिँ गर्दिनन्। ‘यो बारेमा थाहा त छ तर अहिलेसम्म नियमित स्वास्थ्यजाँच गर्न गएकी छैन,’ उनले ढाँटिनन्। रोग नलागी अस्पतालको ढोका नढक्ढक्याउने भएपनि नियमित स्वास्थ्य जाँच गराउनु राम्रो बानी भएको उनको धारणा छ।
हाम्रो समाजमा धेरै जनासँग सामान्य रोगको उपचार गर्नसक्ने क्षमता नभएकाले बेनिशालाई लाग्छ, यसका लागि सरकारले पहल गर्नुपर्छ। यसमा आफूजस्ता सार्वजनिक छवी भएकालाई प्रयोग गर्दा प्रभावकारी हुने आइडिया छ उनीसँग। परिवर्तित समाज र वातावरणले गर्दा स्वास्थ्यमा समस्या बढ्दै गएको महसुस गरेकी छन्। ‘एकातिर विश्वव्यापीकरणको प्रभावले निथ्रुक्कै पारेको छ हामीलाई, अर्कातिर अझैं दुर्गम वस्तिमा समाजको डरले रोग लुकाउनुपर्ने अवस्था छ,’ उनी सुनाइन्।
बेनिशालाई रिस काबुमा राख्न मुस्किल पर्छ। तर त्यही कारण लामो समय तनाव लिन्नन्। त्यसैले स्वास्थ्यमा रिसको प्रभाव कम छ। रिस, डाह, तनाव सबैसँग हुन्छ, त्यसको व्यवस्थापन राम्रो गर्न सक्यो भने स्वास्थ्यलाई फाइदा पुग्ने उनको ठम्याइ छ।