लुसाका- जाम्बियामा हैजाको प्रकोप बढेपछि राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय शुक्रबारदेखि बन्द गरिएको छ।
विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठनपाठनसहित सबै काम-कारबाही बन्द गर्ने घोषणा गरेको हो। विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआएसम्म विश्वविद्यालय सञ्चालन नगर्न निर्देशन दिइएको बताए।
जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाबाट प्रभावित भएको देखिएको जनाएको छ। प्रकोप सुरु भएदेखि अहिलेसम्म २ हजार २ सय ४८ जनालाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ।
स्वास्थ्यमन्त्री चितालु चिलुफियाले फोहोरका कारण हैजाको प्रकोप फैलिएको बताएका छन्। यसरी हैजा फैलाउने लुसाका तथा वरपरका खाजा पसल तथा केही होटलहरु पनि बन्द गराइएको उनले बताए।रासस