गायक राजेश पायल राईका साथीहरुले एउटा मिथक बनाइदिएका छन्, ‘राजेश पायल स्टेज चढ्यो भने गीत सुन्ने मान्छे थाक्छन् तर ऊ गाएर थाक्दैन ।’ नेपाली सुगम संगीतमा लामो समयदेखि राज गरिरहेका राजेशको स्टेजको प्रस्तुति लोभलाग्दो हुन्छ । संगीतमा स्वर मात्रै होइन, शरीरको तालमेल पनि मिलाइरहेका हुन्छन् । उनी यसलाई ‘संगीतको शक्ति’ भन्छन् । स्टेजमा यति फुर्तिला देखिने यी गायकले आफ्नो ‘स्वास्थ्य जीवन’का आरोह अवरोह स्वास्थ्य खबरपत्रिकालाई यसरी सुनाए :
पौडीबाज म
पहाडी जिल्ला खोटाङमा जन्मे÷हुर्केको हुँ । सानोमा हिँड्दा, खेल्दा र काम गर्दा नै प्रशस्त एक्सरसाइज भयो । त्यसैले अरु केही गरिएन । मलाई सबैभन्दा फिटचाहिँ पौडीले राख्यो जस्तो लाग्छ । किनभने डाक्टरले पौडीलाई एक्सरसाइजको सम्पूर्ण प्याकेज ठान्ने रहेछन् । सानोमा पौडी खेल्न भनेपछि हुरुक्कै हुन्थेँ । गर्मी लाग्यो कि हाम्रो धेरै समय स्थानीय खोलामा बित्थ्यो । त्यही रहरले मलाई त पौडीबाज नै बनाइसकेछ ।
अरुण नदी पौडी खेलेर तर्ने आँट निकै कमले गर्न सक्छन् । तर, मैले अरुण पौडिएर तरेको छु । त्यत्रो अरुण नदी तर्न मलाई २० मिनेट लागेको थियो । पौडीमा पर्फेक्ट भएसँगै म शाररिक रुपमा पनि पर्फेक्ट नै भएछु । कराँते पनि केही समय खेलेँ र फुटबल पनि खेल्थेँ ।
डिस्को, रक्सी र चुरोटको कुलत
गाउँको त्यो एक्सरसाइज स्वास्थ्यवद्र्धक खानाले झन्डै १५ वर्ष धान्यो । किनभने काठमाडौं आएर गायनमा संघर्ष गर्न थालेदेखि नै म चुरोट र मदिराको लतमा नराम्ररी फसेँ । प्रत्येक साँझ डिस्को जाने, थोरै पिउने भनेर रक्सी सुरु गर्ने र पिउँदापिउँदै पिएकै थाहा नपाउने । प्रत्येक दिन दुई बोतलसम्म खाइयो होला । चुरोट त चार, पाँच बट्टा नै सकिन्थ्यो । बिहान उठ्नेबेला त्यसको असर मेट्न पनि खाइएछ ।
लामो समय यही संसारमा रमाइयो र हराइयो । तर, स्वरमा समस्या आएन । गायनलाई त्यो कुलतले प्रभाव पारेन । त्यो अवधिमा न खाना नियमित भयो, न निद्रा । यो कुलतको जालोमा केही वर्ष जेलिएँ ।
हातखुट्टा नचलेको त्यो बिहान
नियमित रुटिनजस्तै त्यो साँझ पनि साथीहरुसँग डिस्को गइयो, रक्सी खाइयो र आएर सुतियो । २०६६ सालको एक बिहान बिउझिँदा मेरो बायाँ हात र खुट्टा आफ्नो इच्छाअनुसार चलाउनै सकिनँ । निकै प्रयास गरेँ, चल्दै चलेनन् । मनमा त्रासको आँधिबेहरी चल्यो । निकै अप्ठ्यारो गरी दाहिने शरीरको सहारामा खोच्याउँदै नजिकको क्लिनिक पुगेँ । त्यहाँ इसिजी गर्यो र रगत बाक्लो भएको शंकामा पातलो गर्ने औषधि दियो । त्यसपछि एमआरआई गर्ने भनियो । मैले चिनेका डा. भोला रिजाललाई फोन गरेर गएँ । त्यहाँबाट बाँसबारी न्युरो अस्पतालमा पठाउनुभयो । त्यहाँ चेकअप गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइयो र त्यहीँ ६ महिना फिजियोथेरापी गरेँ । अनिद्रा, रक्सी र चुरोटका कारण मलाई त्यस्तो भएको रहेछ । ६ महिनाको उपचारले म सम्पूर्ण रुपमा पुरानो अवस्थामा आएँ । मर्निङ वाक, धेरै निद्रा र पौडी खेल्ने बानीलाई फेरि नियमित बनाएँ ।
हल्लै हल्लाको देश
भूपी शेरचनले एउटा कवितामा हाम्रो देशलाई ‘हल्लै हल्लाको देश’ भनेर संकेत गरेका छन् । साँच्ची हल्लै हल्लाको देश हो यो । किनभने मेरो एक पाटो अलिक कम चल्ने भएको थियो । तर, मेरो गायन क्षमतामा कहीँ कतै तलमाथि परेको थिएन । त्यो अवधिमा हल्ला चलाइयो, ‘राजेश पायल त गाउनै नसक्ने भयो रे ।’ कतिले मैले गाउन तयार पारेका गीत अरुलाई दिए, कतिले कुरे । तर, अभिनेत्री रेखा थापाले बजारमा आएको त्यो हल्ला मेटाइदिइन् । उनको फिल्म ‘हिफाजत’ गीत मैले खोच्याउँदै गएर गाएँ । त्यो राम्रै पनि भयो ।
जरुरी छ सकारात्मक सोच
रोगले जसलाई जतिबेला पनि आक्रमण गर्न सक्छ । त्यो रोगबाट उन्मुक्ति पाउन उपचारले मात्रै पुग्दैन, आफैले दह्रो बनाउन पनि जरुरी छ । मैले त्यो अवस्थामा पनि आफूभित्र नकारात्मक भावना पैदा हुन दिइनँ । चाँडो निको हुन हिन भावनाको सिकार हुनबाट उन्मुक्ति पाउन जरुरी हुन्छ । मैले मेरा हातखुट्टा नचले पनि केही फरक पर्दैन भनेर सोचिसकेको थिएँ । किनभने मलाई त यतिका श्रोताले स्वर चलेका कारण मन पराएका न हुन् । स्वर चलाउन सकिहाल्छु भन्ने आत्मविश्वास थियो । त्यस्तो अवस्थामा आफूभित्र दृढता हुन जरुरी पनि हुँदो रहेछ । म आशावादी भएरै बाँचिरहे । डाक्टरले ‘हाइस्किलमा नचिच्याउनू’ भनेका थिए । मैले मरे पनि संगीतमै मर्छु भनेर गाउन छाडिनँ । सकारात्मक सोचकै कारण म चाडो तन्दुरुस्त भएँ । डाक्टरले उमेर र इच्छाशक्तिले चाँडो ठीक बनाएको बताए ।
मेरा नाममा जताततै आराधना
मेरो विराम जति सामान्य थियो, फैलिँदा सम्पूर्ण रुपमा प्यारालाइसिस भएकै रुपमा फैलियो र फैलाइयो । मेरा लाखौं शुभचिन्तकले मेरो स्वास्थ्य लाभका निमित्त ठाउँ ठाउँमा आराधना गरेछन् । तीमध्ये पाँचथर जिल्लाको एउटा गाउँमा त गाउँलेहरु सबै मिलेर पूजापाठ गरेको सुनियो । कतिले भाकल गरे । यो सुनेर पनि ममा ऊर्जा बढ्यो । मलाई लाग्यो, मेरा लागि म मात्रै छैन, लाखौँ शुभचिन्तक छन् ।
स्वस्थ म
सायद त्यतिबेला अचाक्ली गरेर मदिरा र चुरोट सेवन नगरेको भए मैले अस्पताल कहिल्यै देख्नुपर्ने थिएन । अहिलेसम्म मलाई अरु कुनै रोगले छुने आँट गर्न सकेको छैन । मैले नियमित एक्सरसाइज त गर्ने गरेको छैन तर कन्सर्टमा उफ्रेको उफ्रै हुनुपर्ने भएर त्यसको सट्टाभर्ना भइरहेको जस्तो लाग्छ । बरु ज्यानलाई प्रशस्त आरामको जरुरी जस्तो लागेर अवेरसम्म सुत्छु ।
यस वर्ष देश/विदेशका धेरै ठाउँमा कन्सर्ट गरियो । हावापानी र समय नमिल्दा देशमा जाने÷आउने भएर रुघाखोकीले बेला बेला सताइरहेको छ । त्यो बाहेक त पूर्ण रुपमा स्वस्थ छु, अचेल । भर्खरै वल्र्ड टुर सकेँ । नेपाली रहने प्रायः देश पुगेर गीत गाउन पाउनु मेरा जीवनको ठूलो सफलता हो । मलाई मदिरा र चुरोटको असरले चाँडै झस्कायो । जसले गर्दा आज फेरि स्वस्थ र सुन्दर जीवन जिइरहेको छु । मैले कसैलाई सल्लाह दिँदा मदिरा र चुरोटको कुलतमा नफस्ने र फसेको भए बेलैमा होसियार हुन सल्लाह दिन्छु ।
नियमित चेकजाँच
मेरा हातखुट्टा चल्न छाड्नुअघि केही संकेत देखिए होलान् । तर, मैले वास्ता गरिनँ । जसको परिणाम मैले त्यो अवस्था भोगेँ । त्यसैले अचेल नियमित स्वास्थ्य जाँच गरिरहेको हुन्छु । जसले गर्दा जटिल अवस्था आउनुअघि नै उपचार गर्न सकियोस् । साथीहरुलाई पनि म कमसेकम ६ महिनामा एकपल्ट ज्यानको चेकजाँच गर्दा राम्रो हुन्छ भन्छु । मैले जीवनका दुई अध्याय भोगेको छु । यसकारण पनि कुलतमुक्त रहेर स्वस्थ जीवन जिउनुको मज्जा अर्कै हुन्छ भन्न सक्छु ।