म ३१ वर्षको भएँ । मेरो बेला–बेला छाति दुखिरहन्छ । किन होला ?
कतिपय अवस्थामा मानिस सामान्य रहँदासमेत छाती दुख्ने गर्छ । यसरी दुख्नासाथ मानिसहरू मुटुसम्बन्धी रोग लागेको भन्दै चिकित्सककहाँ पुग्ने गर्छन् । तर, छाती दुख्नासाथ सबै दुखाई हृदयाघात र मुटु रोगका लक्षण नहुन पनि सक्छन् । कम उमेर अर्थात् ३०/३५ वर्षको समयमा छातीको दुखाई मुटुसम्बन्धी नभई अन्य कारण हुन सक्छन् । कतिपय अवस्थामा ग्यास्ट्रिकका कारण छाती र पेटको बीच भागमा दुखेको हुन सक्छ । छाती दुखाई उमेर, बानी, अभ्यास, रिस्क फ्याक्टर जस्तै मधुमेह, कोलस्ट्रोल, उच्चरक्तचाप, कति समयदेखि दुखिरहेकोजस्ता कुराले निक्र्यौल गर्नुपर्ने हुन्छ ।
लडेर वा चोटपटक लागेको या घाउ भएर छाती दुखेको तुरुन्तै थाहा हुन्छ । यदि पेटको समस्याका कारण हो भने बीचमा दुख्ने, अमिलो पानी आउने, पेटमा ग्यास भरिएको जस्तो हुने, चिल्लो पिरो खाएको अवस्थामा बढी दुखेको छ भने ग्यास्ट्रिकका कारण हुने हुन्छ । यस्तो अवस्थामा पेट र छातीको बीचमा पोलेको जस्तो हुने, ग्यास भरिनेजस्ता लक्षण हुन्छ । ३०/३५ वर्षको व्यक्तिलाई दुखेको छ भने ग्यास्ट्रिक हुनसक्छ तर ६०/६५ वर्षको व्यक्तिलाई दुखेको छ भने मुटुरोग हो कि भनी परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा लक्षणले मात्र ग्यास्ट्रिक र मुटुरोग छुट्याउन नसक्ने हुँदा इन्भेष्टिगेसन नै गर्नुपर्ने हुन्छ । यसका लागि इसीजी गर्नुपर्ने हुन्छ । सुगर या उच्चरक्तचाप छ भने परीक्षण गर्नुपर्ने हुन्छ ।
यदि ४० वर्षभन्दा माथिको उमेरमा छाती दुखेमा मुटुको समस्या पनि हुन सक्छ । छातीमा थिचेको जस्तो हुनु, सास फेर्न गाह्रो हुनु, हिड्डुल गर्दा, काम गर्दा दुखेको महसुस हुनु र आराम गर्दा दुखाई कम हुन्छ भने मुटुको समस्याका कारण हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ । हृदयाघात भएको अवस्थामा सहनै नसक्ने गरी दुख्छ या थिचेको महसुस हुन्छ । यस्ता बिरामीलाई उच्चरक्तचाप, मधुमेह या कोलेस्ट्रोल भएको हुनसक्छ । साथै वंशाणुगत, धुमपानका कारण पनि यस्ता समस्या देखिने गर्छन् ।
कतिपय अवस्थामा मनोवैज्ञानिक दुखाई पनि हुन्छ । काम गर्न गाह्रो हुने, अल्छी लाग्ने, बच्चालाई पढ्न मन नलाग्ने हुँदा पनि छाती दुख्यो भन्दै कामबाट पन्छिने गर्छन् । यसमा परीक्षण गर्दा कुनै पनि समस्या भेटिदैंन । यस्ता बिरामीको छाती दुखाईको उपचार गर्न साह्रै नै समस्या हुने गरेको छ ।
युवाहरू एक्सरसाइज गरिरहेका हुन्छन् । यसले पनि मांसपेशीमा दुखाई हुन्छ । जसका कारण उनीहरु छाती दुख्यो भन्दै आत्तिएको पाइन्छ । यो आफै निको भएर जान्छ । कहिलेकाहीँ फोक्सो र छातीको बीचमा हावा भरियो भने पनि छाती दुख्ने हुन्छ ।
फोक्सो दुखाई मुख्यतया संक्रमण र क्यान्सरका कारण हुन्छ । कहिलेकाहीँ फोक्सो र छातीको बीचमा हावा वा पानी भरियो भने पनि दुख्ने हुन्छ । ज्वरो आउने, खोकी लाग्ने र छाती दुख्ने भएमा निमोनिया हुनसक्छ । यो एक किसिमको कडा संक्रमण हो । निमोनिया भाइरस र व्याक्टेरियाका कारण हुनेगर्छ । सामान्य रूघाखोकी लाग्नु भाइरल इन्फ्ल्युइन्जाको लक्षण हो । यो साधारणतया एक हप्तामा निको भएर जान्छ । तर पछि ज्वरो बढ्ने र छाती दुख्ने भएमा ‘सेकेण्डरी निमोनीया’ भनिन्छ ।
भाइरसका कारण दुवै फोक्सोलाई असर गरी अक्सीजन लिने क्षमतामा कमी आउने एआरडीएस (एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिण्ड्रोम) हुनसक्छ । छाती दुख्ने अर्को कारण क्यान्सर पनि हुन सक्छ । नेपालमा फोक्सोको क्यान्सर धेरै नै छ । वीर अस्पतालमा मात्र हप्तामा ३÷४ जना फोक्सो क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने गरेको छ । यस्ता बिरामीको सुरुको अवस्थामा छाती नदुख्न पनि सक्छ । खकारमा रगत देखिनु, तौल घट्दै जानु र क्यान्सर रोगको लक्षण हुन सक्छ । क्षयरोगमा पनि छाती दुखाई हुन्छ । २ हप्तासम्म साँझपख ज्वरो आउने, खोकी लाग्ने, खकारमा रगत देखिने, विस्तारै तौल घट्दै जाने, खाना नरूच्ने क्षयरोगका लक्षण हुन् ।
छाती दुख्दा चिकित्सकसँग सल्लाह लिनुपर्ने अवस्था
– ज्वरोसँगै छाती दुख्ने
– सास फेर्न गाह्रो हुने
– हिड्डुल गर्दा, काम गर्दा छाती थिचेको जस्तो हुनु, दुखाई देव्रे हात र घाँटीतर्फ जाने, पसिना आउने
– दमका रोगीलाई छाती दुखि सास फेर्न गाह्रो भएमा
– चुरोट खाने व्यक्तिमा लामो समयसम्म छाती दुखिरहेमा
सतर्कता
सुरुको अवस्थामा प्रायजसो रोगका लक्षण साधारण छाती दुख्ने, खोकी लाग्ने हुन्छ । तर समयअनुसार बढ्दै जान्छ । मानौ १० मिनेट हिड्दा छाती दुख्यो, गाह्रो भयो भन्दै तपाई ५ मिनेट मात्र हिड्नु भयो भने दुखाई कम लाग्न सक्छ । तर तपाईको दुखाई निरन्तर भैरहेको हुन्छ । यसलाई सामान्य रूपमा सोच्दा पछि भएर ठूलो असर गर्न सक्छ । सूर्ति तथा धुमपान रोकेमा मुटुरोग, फोक्सो तथा फोक्सो क्यान्सर जस्ता समस्याबाट बच्न सकिन्छ । अत्यधिक चिल्लो पदार्थ नखाने, नियमित व्यायाम गर्ने, सुगर, उच्चरक्तचापको नियमित परीक्षण गर्नाले पनि मुटुरोगबाट बच्न सकिन्छ ।
डा. शितल अधिकारी