डा. भगवान कोइराला, पूर्व कार्यकारी निर्देशक, शिक्षण अस्पताल
छोटो अवधिमा शिक्षण अस्पतालमा धेरै सुधारका काम गरेर प्रशंसा पाउनुभयो। त्यस्तो के सुधार गर्नुभयो ?
शिक्षण अस्पताल देशकै महत्वपूर्ण तथा ठूलो अस्पताल भएर पनि व्यवस्थापकीय कमजोरीका कारण तत्कालिन समयमा अस्तव्यस्त अवस्थामा थियो। म तथा धेरै साथीहरू मिलेर समस्यालाई पहिचान गर्दै तिनलाई क्रमशः हल गर्ने प्रयास ग¥यौं। मूलतः चारवटा क्षेत्रमा काम गर्यौैं। भएका सेवासुविधाको पूर्ण सदुपयोग गर्ने, गराउने, नभएको सेवा विस्तार गर्ने, अनावश्यक खर्च कटौती तथा आर्थिक अनुशासन पालन गर्ने, गराउने, बिरामीलाई भार नपर्ने गरी अस्पतालको आम्दानीको वृद्धि गराउने काम गरियो।
के–के समस्या रहेछन् त शिक्षण अस्पतालमा ?
समस्या थुप्रै थिए र अझै पनि छन्। शिक्षण अस्पताल किन धरासायी बन्दैछ भनी अध्ययन गर्न डा. विमल सिन्हाको संयोजकत्वमा एक छानविन समिति बनेको थियो २ वर्ष पहिला। त्यसमा म पनि एक सदस्य थिएँ। त्यही समितिले धेरै समस्या पहिचान गरी निकासका बाटासमेत सिफारिस गरेको थियो। तिनै बँुदाहरूको सेरोफेरोमै धेरै काम भए। कुनै पनि अस्पतालमा हुन सक्ने विकृती निम्न हुन्छन् – पूर्ण क्षमतामा काम नहुने या नगर्ने, अनधिकृत रुपमा निःशुल्क गरिदिने र यसको लाभ व्यक्तिगत रूपमा लिने, पूर्वाधारमा कमी हुने तथा ठाडै चोरी हुने या गर्ने।
अनावश्यक खर्च कहाँ भएको रहेछ त ?
शल्यक्रिया कक्ष र वार्डमा खर्चको हिसाब नराख्दा अनावश्यक सामग्री आपूर्ति हुने रहेछ। प्रयोशालामा पनि वेस्टेज धेरै थियो। यातायातका साधन दुरुपयोग गर्ने प्रवृत्ति देखिन्थ्यो। अस्पतालका लागि खरिद हुने सामग्रीको मूल्यमा पनि विशेष नियन्त्रण नहुँदा बढी खर्च भएको मैले महसुस गरें। कार्यालय समयममा नै ओभरटाइम लिने त रोग नै थियो।
आम्दानी कसरी बढ्यो त ?
प्रत्येक वार्ड/ओटी/ल्याबमा जाने सामग्रीको खर्च विवरण राख्ने, नियमसंगत र मितव्ययी खरिद व्यवस्था गर्ने तथा ओभरटाइम पूर्ण रुपले खारेज गरेपछि खर्च घट्यो। त्यस्तै ओपीडीमा कोटा संख्या वृद्धि गरेपछि बिरामी बढे। बेडसंख्या बढे, भएका बेड खाली नराख्ने नीतिमा कडाई गरियो। नियमानुसारको च्यारिटीबाहेक अनधिकृत निःशुल्क गरिदिने प्रथामा कडाई गरेपछि त ओपीडीको आम्दानी ह्वात्तै बढ्यो।
अस्पतालमा भएका सेवाका लागि पनि बाहिर पठाउने प्रवृत्तिलाई सबै विभागसंग सहकार्य गर्दै न्युनिकरण गरियो। सबैजसो विभागको क्षमता बिस्तार गरियो, विशेषगरी रेडियोलोजीमा त धेरै नै स्थान तथा उपकरण थप गरियो। आइओएमको संख्या करीब ५८ पुर्याइयो। बालरोगका लागि छुट्टै इमर्जेन्सी तथा नयाँ वार्डको स्थापना गरियो। अपरेशन थियटरको संख्यामा वृद्धि तथा नयाँ भवन सबै सञ्चालनमा ल्याइयो। यी सबै कुराले गर्दा अस्पतालको मासिक आम्दानी औसत ३ करोडबाट करीब मासिक ५ करोडमा पुग्यो। अलि–आलि अािर्थक स्रोत भएपछि मर्मतसम्भार तथा सामग्री आपूर्ति गर्न सहज हुने र काम गर्ने साथीहरुलाई पनि जाँगर आउने रहेछ।यो सबै काम गर्नमा सबै विभाग, प्रशासन तथा चिकित्सक, नर्स, प्राविधिकहरूको उल्लेख्य सहयोग रह्यो।
नयाँ सेवा के–के आउँदैंछन् त ?
प्रत्येक विभागलाई केही न केही नयाँ उपकरण दिने प्रक्रियामा हामी थियौं। कतिपय उपकरण आइसकेका छन् भने कति आउने क्रममा छन्। मुख्य–मुख्य उपकरणमा अत्याधुनिक अल्ट्रासाउण्ड, सी–आर्म मेसिन, डीआर–फ्लुरोस्कोपी सिस्टम, एन्जिओग्राफी मेशिन, अत्याधुनिक अपरेशनको माइक्रोस्कोप, ल्याबका लागि फ्रोजन सेक्सन मेशिन पर्छन्। आइसियुका लागि भेन्टिलेटर, मोनिटर, सिरिञ्ज, पम्प आदि त थुप्रै आए। यी सबै मेशिन आएपछि शिक्षण अस्पतालको सेवाको स्तर तथा आम्दानी अरू वृद्धि हुने निश्चित छ।
के–के सुधार गर्नुभयो ?
विभागीय प्रमुखको नियमित बैठक र अन्तरक्रिया सुरुवात गरियो। पब्लिकको गुनासो तथा अव्यवस्थित पार्किङलाई व्यवस्थित गरियो। अस्पतालको फार्मेसी अपग्रेड गरी चौबिसै घण्टा चल्ने बनाइयो। भाडामा दिइएका घर, स्थानलाई पुनः टेण्डर गरी आयवृद्धि गरियो। आइसियु र सिसियु मर्ज गरियो। आइसियु ३० बाट ५७ बेड पुग्यो। वर्थिङ सेन्टर स्थापना गरियो। इएनटी वार्ड र ओटी नयाँ घरमा सारियो। बालरोग, आकस्मिक सेवा सुरु गरियो। ओभरटाइम भत्ता खारेज गरियो। ओभरटाइम भत्तामा मात्र ७० लाख अनावश्यक खर्च हुन्थ्यो।