साना- यमनमा युद्ध सुरु भएदेखि अहिलेसम्म हैजाबाट प्रभावित हुनेहरुको सङख्या दश लाख पुगेको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिहीबार ट्विटरमा लेखेको छ, ‘यमनमा हैजाबाट प्रभावितहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ ।’ युद्धको प्रभावसँगै देशभरी हैजाको प्रभाव पनि बढ्दै गएको रेडक्रसका अधिकारीहरुले जानकारी दिएका हुन्।
11 संगठनले गत नोभेम्बरमा पनि हैजा जस्ता पानीजन्य रोगहरूका कारण धेरै जनाको ज्यान जानसक्ने चेतावनी दिएको थियो।
द्वन्द्वग्रस्त क्षेत्रमा विना रोकतोक काम गर्न सक्ने चिकित्सकहरूको समूहका संयोजक मार्क पोन्सिनले भने, ‘पानीमा लामो समयसम्म बाँच्नसक्ने भाइब्रियो नामक जीवाणुका कारण यमनका वस्तीहरूमा हैजा फैलिएको र यसको प्रभावलाई समयमै रोक्न नसकिने हो भने आगामी बर्षा याममा हैजाले थप माहामारीको रूप लिनसक्ने देखिन्छ।’
यमनमा हैजाका कारण दुई हजार २०० जनाको मृत्यु भइसकेको छ । अहिले पनि रोगलाई फैलिने सहज वातावरण कायमै रहेको उनीहरूको भनाइ छ।
यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाको सहयोगमा सरकारी पक्ष र हुथी विद्रोहीबीच रक्तपातपूर्ण युद्ध भइरहेको छ । विद्रोहीहरूले राजधानी नै आफ्नो नियन्त्रणमा लिएको छ । रासस