वीरगन्ज महानगरपालिकाको मेयरमा विजयी भएलगत्तै विजय सरावगीले आफ्नो प्राथमिकतामा स्वास्थ्य, शिक्षा र सरसफाइ रहेको बताए । सरावगीले आफ्नो कार्यकालमा तलब–भत्ता समेत नलिने घोषणा गरेका छन्। पाँच वर्षभित्रमा वीरगन्जलाई कायापलट गर्ने भाषण दिँदै आएका सरावगीसँग स्वास्थ्य क्षेत्रको विकास र विस्तारका योजनालगायतका विषयमा स्वास्थ्यखबरका प्रवीण ढकालले गरेको कुराकानी :
मेयरमा निर्वाचित भएपछि महानगरको स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ?
मेरो प्राथमिकता नै स्वास्थ्य, शिक्षा र सरसफाइ हो । त्यसकारण मेयरको कुर्सीमा बसेलगत्तै स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना अगाडि बढाइसकेको छु । यहाँका जनताले उपचारका लागि निकै दुःख पाइरहेका छन् । जनताको दुःख मेरो पनि दुःख हो । त्यसकारण उपचार सेवालाई सहज र सबैको पहुँचमा पु¥याउन मेरो जोड रहन्छ।
महानगरमा रहेका धेरै नागरिक विभिन्न कारणले बिरामी भएर पनि अस्पतालमा आउन सकेका छैनन् । अस्पताल आउन नसक्ने बिरामीलाई लक्षित गर्दै अब हामी बिरामी भएको स्थानमा उपचार सेवा लैजान्छौं । गरिब, विपन्न तथा स्वास्थ्यको पहुँचमा नआएका समुदायको पहिचान गरेर टोल–टोलमा अस्पतालमा पाइनेस्तरको उपचार सेवा लैजाने योजना छ।
सँधै टोल–टोलमा टोली लगेर मात्र समस्या समाधान होला र ?
सँधै लैजाने होइन । पहिला त सबैमा चेतना पुर्याउनु पर्यो नि । मानिसलाई के–के सेवा, कसरी लिने र के–के सेवा निःशुल्क छ भन्ने पनि ज्ञान छैन । साथै, स्वास्थ्य जाँच गर्नुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ भन्ने पनि राम्रो ज्ञान छैन । रोग लागेर रोग लुकाउने पनि छन् । यी सबै समस्यालाई समाधान गर्न सुरुको केही समय टोल–टोलमा, घर–घरमा पुग्नु जरुरी छ । यो कार्यक्रममा बिरामीको उपचार गर्ने काम मात्र हुँदैन।
सरसफाइ लगायत स्वास्थ्य चेतना फैलाउने काम पनि हुन्छ । यसबाट मानिसमा चेतना फैलिनुका साथै उपचारको पहुँचमा नआएकाको उपचार पनि हुन्छ । अर्को कुरा, अब हरेक वडामा स्वास्थ्य चौकी हुन्छ । त्यसलाई स्वास्थ्य चौकीको भवनमासेवा दिने गरी सीमित राख्दैनौं । हामी त्यहाँको टिमलाई टोल–टोलमा चलयमान बनाउँछौं । अनि ठूला रोगको उपचार गर्न महानगरमा रहेको अस्पतालको क्षमता बढाउने काम पनि हुन्छ।
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको अवस्था त निकै नाजुक छ नि ?
यो अस्पतालको विषयमा मैले सबै जानकारी संकलन गरिसकेको छु । कहाँ–कहाँ समस्या छ, कसरी ती समस्यालाई समाधान गर्दै जाने भनेर विज्ञहरुसँग छलफल गरिरहेको छु । अस्पतालमा अहिले भएको तीन सय शय्या क्षमता महानगरको जनसंख्याका आधारमा निकै कम हो । यसको क्षमता बढाएर ८ सय शय्यामा विस्तार गर्नेगरी काम थाल्ने भइसकेका छौं । पाँच वर्षभित्रमा उक्त अस्पताल १२ सय शय्यामा विस्तार गर्ने योजना छ । अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने हाम्रो लक्ष्य हो । मेडिकल कलेज बनेपछि त्यहाँ अध्ययन गर्ने डाक्टर र अध्यापन गर्ने डाक्टरलाई महानगरका अन्य सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि रोटेसनमा खटाउने योजना छ।
वीरगन्जमा सरुवा रोगको खतरा त छँदै छ, तर सहरीकरणसँगै नसर्ने रोगको भारी पनि थपिँदै छ नि ?
हो, यो चिन्ताको विषय छ । गर्मीका कारण यहाँ लामखुट्टे तथा कीटजन्य रोगको खतरा त पहिलेदेखि नै थियो । शुद्ध खानेपानीको अभाव र फोहोरका कारण अन्य सरुवा रोग पनि उत्तिकै छ । यी रोगको नियन्त्रणका लागि केही कामहरु भइरहेका छन् । तर, ती पर्याप्त छैनन् । हामीले सरसफाइ र शुद्ध पिउने पानीमा जोड दिँदै लामखुट्टे र कीटजन्य रोग नियन्त्रणका लागि छुट्टै योजना बनाएर काम अगाडि बढाउने सोचिसकेका छौं ।
अर्कोतर्फ अस्वस्थ 18 र सहरीकरणका कारण मुटु, मिर्गौला, कलेजो रोगसँगै क्यान्सर जस्ता नसर्ने रोगको खतरा पनि थपिइरहेको छ । यी समस्यालाई समाधान गर्न र मानिसको 18लाई स्वस्थ बनाउन महानगरका टोल–टोलमा योग तथा ध्यान केन्द्र खोल्ने भएका छौं । म आफैं पनि पतञ्जलीको फलोवर हुँ । अहिले हामीसँग योग सिकाउन सक्ने ५ सय प्रशिक्षक छन् । ती सबैलाई महानगरका टोल–टोलमा परिचालन गर्नेछु । टोल विकास समिति खडा गरेर हरेक टोलमा योग सेन्टर बनाउँछु।
महानगरका निजी अस्पताल र स्वास्थ्य संस्थाको व्यवस्थापन चाहिँ कसरी हुन्छ नि ?
पहिला यहाँका निजी अस्पताल तथा निजी स्वास्थ्य संस्थाको अनुमगन केन्द्रबाट मात्र हुन्थ्यो । केन्द्रमा जनशक्ति नहुँदा वर्षौंसम्म पनि अनुमगन हुँदैनथ्यो । तर, अब यहाँका सबै निजी संस्था हाम्रो आँखा अगाडि नै हुन्छन् । तिनीहरुले नियम तथा मापदण्ड पूरा गरे÷नगरेको हामीले तुरुन्तै देख्न सक्छौं । जसले नियम मानेको छैन र मापदण्ड पूरा गरेको छैन त्यस्ता संस्थालाई निश्चित समय दिएर मापदण्ड पूरा गर्न भन्छौं । त्यति गर्दा पनि सुधार नगरे बन्द गरिदिन्छौं । अब बिरामीलाई ठग्ने, लुट्ने बहानाबाजी चल्दैन।
निजी अस्पतालको शुल्क त महँगो छँदै छ, सरकारीमै उपचार गर्नेले पनि महँगा औषधि किन्नुपर्ने वाध्यता छ नि ?
शुल्कलाई पनि हामीले व्यवस्थित बनाउन लागिरहेका छौं । उपचारका क्रममा विभिन्न परीक्षणका नाममा बिरामीबाट धेरै पैसा असुल्ने काम हुन्छ । यसलाई हामीले वैज्ञानिक ढंगमा शुल्क निर्धारण गर्नेछौं । निजी अस्पतालको पनि शुल्कमा एक रुपता ल्याउनेछौं । अर्को कुरा, औषधि महँगो भन्ने छ । औषधिलाई सस्तो बनाउने विषयमा हामीले काम अगाडि बढाइसकेका छौं । वीरगन्जमा नै आधा दर्जनभन्दा बढी औषधि उत्पादन गर्ने कम्पनी छन् । ती सबै कम्पनीसँग छलफल गरेर वीरगन्जमा औषधि सस्तोमा उपलब्ध गराउने तयारीमा हामी लागेका छौं ।
औषधि उत्पादनदेखि बिरामीले खरिद गर्दा सम्म बीचमा निकै लामो चेन हुने रहेछ । ती सबै च्यानललाई घटाएर सोझै औषधि किन्ने र बिरामीलाई सस्तोमा उपलब्ध गराउने विषयमा हामीले योजना बनाएका छौं । उक्त योजना अनुसार काम गर्न औषधि उत्पादकसँग छलफल गरिरहेका छौं।
संविधानले स्थानीय तहमा स्वास्थ्यलाई दिएको अधिकार पर्याप्त छ त ?
अहिलेसम्म हेर्दा संविधानले स्वास्थ्यको क्षेत्रमा दिएको अधिकार पर्याप्त नै देखिन्छ । हामी पनि नयाँ नै छौं । काम गर्दै जाँदा हामीसँगै अन्य महानगरमा पनि समस्या वा चुनौती आउन सक्ला । सबैको साझा समस्या आयो भने त्यसलाई क्रमशः सल्टाउँदै जाने न हो । अहिले सरसरर्ती हेर्दा पर्याप्त नै छ भन्न सकिन्छ ।