योग विज्ञानमा मुटुको उपचार तथा सुधारका लागि धेरै उपचार पद्दति छन्। तीमध्ये अनाहत चक्रको ध्वनिद्वारा एकदमै सहज ढंगले मुटुलाई फाइदा पुर्या उन सकिन्छ। लय, ताल, ध्वनि तथा मन्त्रले मुटुको राम्रो सुधार गर्न सकिन्छ। कुनै पनि ध्वनिलाई सुनियोजित रुपले लय, ताल मिलाएर लक्ष्यमा भेदन गर्ने तथा अभिव्यक्त गर्ने विधिलाई नै मन्त्र तथा माहामन्त्र भनिन्छ।
मन्त्र तथा ध्वनि एकदमै शक्तिशाली हुन्छ। गुरुत्व शक्ति तथा सम्मोहन शक्ति र यसमा जैवीक विद्युतीय शक्ति प्रभावशाली मानिन्छ।
विधि
अनाहत चक्र मुटुको स्वामी हो। यस चक्रमा फोक्सो, थाइमस ग्रन्थी, मुटु र स्नायु मांसपेशी, नसा, नाडी, नलीका साथै हरेक कोषिकासँग घनिष्ट सम्बन्ध हुन्छ। फोक्सोमा अक्सिजन, इम्युनिटी ग्रन्थीको प्रतिरोध शक्ति र मुटुको रक्त प्रणालीसँग निकै घनिष्ट सम्बन्ध हुन्छ। साथै, यो चक्र वायु तत्व पनि हो।
सम्पूर्ण शरीरको यही प्रक्रियाबाट नै हावा वा हाइड्रोलिक सिस्टमको सञ्चालन तथा व्यवस्थापन हुन्छ। १२ दल कमलमा १२ वटा मात्रिका अक्षर कं, खं, गं, घं, ङं, चं, छं, जं, झं, ञं, टं, ठं हो। अनि यसको बनावट यन्त्र षट्कोण हो। जसको मध्यमा यं बीज मन्त्र हुन्छ। यही मन्त्रका साथै मात्रिका अक्षर सबै मन्त्र मनमनैले हृदयलाई लक्षित गरी जतिखेर जहाँ जप्दा पनि हुन्छ। कुनै पनि अवस्थामा उठ्दा, बस्दा, हिँड्दा, सुत्दा या काम गर्दाको अवस्थामा पनि यस मन्त्रलाई निरन्तर जपिरहन सकिन्छ।
यस मन्त्रलाई ध्वनिका साथ जसरी हामी (ॐ) मन्त्रलाई लामो आवाज बनाई निकै कम्पन, झन्कार, गुञ्जन गराउँदै निकाल्छौं त्यसरी नै सबै मन्त्रद्वारा मुटुलाई लक्षित गरी ध्वनिसहित कम्पन गराइरहनुपर्छ। मुटुको कुनै पनि समस्या भएकाले मनलाई स्थिर गरी ध्यानसहितको मन्त्रद्वारा निरन्तर विशेष कम्पन गराइरहनुपर्छ।
यसमा रङलाई जोड्न सकियो भने त झन् सुनमा सुगन्ध हुन्छ। यसको रङ हरियोमा निलो घेरा भएको हुन्छ, हाम्रो योग साधनाका लागि चाहिँ यही निलो घेरा भएको हरियो रङ हो। मन्त्र र ध्वनिको साथमा यसलाई पनि जोड्न सकिन्छ।
लाभ
मुटुको कुनै पनि समस्या, मुटुको भल्भ, स्नायु तथा नलीमा कडापन होस् या शिथिलता, यसले लाभ गर्छ। त्यस्तै, रगतमा बाक्लोपन होस् वा मुटुको रिदम हर्टबिटको अनियमितता या असन्तुलन, सबैका लागि यस प्रक्रियाले लाभ गर्छ। अनाहत चक्रको अर्को विशेषता हो, प्रतिरोध शक्ति (इम्युनिटी पावर), अक्सिजन तथा प्राण शक्तिका साथै वयान नाम गरेको प्राण वायुले समग्र शरीरलाई चाहिने सम्पूर्ण तत्व पुर्याउने काम गर्छ।
(महामृत्युञ्जय योग केन्द्र, गौशाला)