एजेन्सी- विश्वकै सर्वाधिक ठूलो औषधि कम्पनीमध्येको एक एपोटेक्सका संस्थापक अध्यक्ष तथा उनकी श्रीमतीको रहस्यमय मृत्यु भएको छ। क्यानडाका व्यापारी ब्यारी शेरम्यार र उनको पत्नि हनी मृत अवस्थामा फेला परेका हुन्।
संसारकै सातौँ ठूलो औषधि कम्पनीका मालिक आफ्नै निवासमा मृत अवस्थामा फेला पारेको घटनालाई रहस्यमय रुपमा लिइएको छ । प्रहरीले उनीहरुको शव क्यानडास्थित उनीहरुको घरमा फेला पारेको जनाएको छ।
प्रहरीले मृत्यु शंकास्पद भएको र त्यसैअनुसार अनुसन्धानअघि बढाएको बताएको छ। उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ। प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।
व्यापारी शेरम्यान औषधि कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए। एपोटेक्सका औषधि संसारभर बेचिन्छन्।
व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए। प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन।
तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए।
एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामी सबै स्तब्ध र दुखी भएका छौं।’
उनीहरुका चार छोराछोरी छन्।
एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधि निर्माता कम्पनी हो। फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३ दशमलव २ अर्ब डलर रहेको बताउँछ।