विश्वकै सबैभन्दा मोटो जीवित मानिसको रुपमा मेक्सिकोका म्यानुएल उरिबेले गिनिज बुकमा नाम दर्ता गराएका छन्। सन् २००६ जनवरीमा उनको तौल ५६० किलो थियो।
एउटा टेलिभिजनमार्फत् सहयोगको अपिल गरेपछि र चिकित्सकहरुको सहयोगले उनले त्यसपछि तौल घटाउन थाले। ७ मार्च २००७ मा उनले तौल ३८१ किलोमा झारे। मोटोपनाका कारण उनी आफैं उठ्न बस्न सक्दैनन्, सन् २००२ यता उनी बेडमै रहन बाध्य छन्। निरन्तर गरेको प्रयासस्वरुप सन् २०१२ को फेब्रुअरीमा उनले आफ्नो तौल २०० किलोमा झारेका थिए।
सन् १९६५ जुनमा मेक्सिकोको मोन्टेरेमा जन्मिएका म्यानुएलको यस्तो मोटोपनाको समस्यालाई ‘मर्विड ओवेसिटी’ भनिन्छ। उनले मेक्सिकोको टेलिभिसा टेलिभिजन नेटवर्कमार्फत् सार्वजनिक रुपमा अपिल गरेपछि विश्वको ध्यान उनीतिर खिचिएको थियो। तर, इटालीमा लगेर ग्यास्ट्रिक बाइपास सर्जरी गरिदिने प्रस्तावलाई उनले अस्वीकार गरेका थिए।
उनको मोटोपनालाई लिएर ‘दि वल्र्ड्स हेभिएस्ट म्यान’ नामक वृत्तचित्र पनि बनाइएको थियो। म्यानुएलका अनुसार उमेर बढ्दै जाँदा उनमा मोटोपना बढ्दै गएपनि सुरुमा त्यति देखिने खालको थिएन। २० वर्षको उमेरसम्म उनको तौल सामान्यरुपमै बढ्दै गयो। सन् १९८७ मा विवाह गरेपछि गैरकानुनी रुपमा उनी अमेरिका प्रवेश गरे। उनले अमेरिकाका सडकमा ‘ट्याको’ (मासु, तरकारीलगायतले बनेको मेक्सिकन खाना) बेच्न थाले र आफू पनि खान थाले। पछि उनले कुर्सीमा बसेर गर्नुपर्ने टाइपराइटरको काम पाए। घरबाट कारमा अफिस जानु र सिधैं कुर्सीमा गएर काम गर्नु उनको दैनिक बन्यो। शारीरिक क्रियाकलाप भएन।
तर, म्यानुएलले डाक्टरको सल्लाहबमोजिम डाइटिङ गरे र तौल घटाउन सफल भए। डा. ब्यारे सियर्सले बनाएको डाइटअनुसार उनलाई दैनिक २ हजार किलो क्यालोरीको खाना दिइयो। उनलाई दैनिक ६ पटक खाना दिइन्थ्यो, जसमा अण्डा, ह्वाइट अमलेट, सलाद, चिकन, माछा स्प्रीङ ग्रिन हुन्थ्यो।
उनले आफूजस्तै मोटोपनाले पीडित भएका अर्का व्यक्ति जोसे लुईस गार्जालाई पनि विशेष प्रकारको डाइटमार्फत् तौल घटाउन सल्लाह दिएका थिए। उनी अहिले म्यानुएल युरिबे फाउण्डेशनमार्फत् मेक्सिकन नागरिकहरुलाई मोटोपनाको समस्यासंग जुध्न पोषणबारे सचेतना फैलाउन सक्रिय छन्।