मलाई अत्यधिक टाउको दुख्ने गरेको छ । उपचारका लागि धेरै अस्पताल पुगिसकें तर अझै खाश ठिक भएन । धेरैले माइग्रेन भएको भन्छन् । यो किन हुन्छ ? उपचार छ कि छैन ?
इन्दु
माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षण; रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् । भनिरहेका हुन्छन्, ‘सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन !’ यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ ।
पुरुषभन्दा महिलामा बढी
माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । विभिन्न शोध–अनुसन्धानअनुसार करिब ३ महिलालाई माइग्रेन हुँदा एक पुरुषमा मात्र यो रोग देखा पर्छ । किनभने महिलामा हर्मोनल परिवर्तन ज्यादा हुन्छ । महिनावारीको अघिपछि टाउको दुख्ने समस्या आइलाग्छ । पिल्सलगायत अस्थायी परिवार नियोजनका औषधि सेवन गर्ने वा रसायनयुक्त साधन प्रयोग गर्नेहरूलाई माइग्रेनको सम्भावना बढी हुन्छ ।
भोको पेट बसिरहने, व्रत बस्ने र धेरै समय अनिदो रहने मानिसलाई पनि माइग्रेनको जोखिम हुन्छ । त्यसैले हामीले भनिरहेका हुन्छौं कि माइग्रेनका बिरामीले दैनिक ६ देखि ८ घन्टा सुतेको हुनुपर्छ । राति काम गर्ने मानिसहरू पनि माइग्रेनका सिकार हुने सम्भावना उच्च रहन्छ । बढी तनावपूर्ण जीवनयापन गर्ने, धेरै सोच्नुपर्ने, मानसिक काम बढी गर्नुपर्नेलाई माइग्रेन बढी भएको पाइन्छ ।
माइग्रेनका लक्षण
माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हँुदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ । यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ । कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा । जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।
कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई वान्तासमेत हुने र कसैलाई वान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ । चम्किलो प्रकाश र उज्यालो हेर्न मन नहुने, भिडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ । बिरामीलाई आवाजको एलर्जी हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ ।
माइग्रेन दुई प्रकारको हुन्छ— विथ औरा र विद्आउट औरा ।
२०÷३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्यो बेला यसको संकेत शरीरले पाउँछ । दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षण देखियो भने यसलाई औरा भनिन्छ । कतिपयलाई कुनै पूवैसंकेत बिना पनि माइग्रेन हुन्छ ।
कतिपय बिरामीलाई कुनै गन्धका कारणले टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्न थाल्छ । उज्याले हेर्न मन नलाग्ने भएकाले कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् । बिरामीलाई टाउको दुख्दा २ घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ । यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले समेत काम गर्दैन ।
उपचार
खाने र लगाउने औषधि मात्रै होइन पारिवारिक वातावरणले पनि माइग्रेनको समस्या समाधान गर्न सघाउ पु¥याउँछ । परिवारका सदस्यहरूले बिरामीको समस्या बुझेनन् भने तनाव झनै बढेर जाने भएकाले शान्त वातावरण सिर्जना गरिदिनुपर्छ ।
माइग्रेनको जोखिमयुक्त क्षेत्रमा काम गर्नेहरूको सुरक्षामाथिको सम्बोधन महत्त्वपूर्ण हुन्छ । खाद्यान्न, पोषणजस्ता कुराहरूले पनि यो समस्या निराकरणमा भूमिका खेल्छ । फर्मेन्टेड खाना जस्तैः दही, मही, पनीर, आइसक्रिम आदि सकेसम्म खानु हुँदैन । माछामासु नखाँदा राम्रो । अमिलो, पिरो राखेका खानेकुरा तथा कफी, चिसोजस्ता पेय पदार्थ नपिए माइग्रेनको उपचारमा सहयोग मिल्छ । जंकफुडहरू खानु हँुदैन । तनाव व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हो । मानसिक समस्याका लागि औषधिसहित मेडिटेसन र योगा गर्नुपर्छ ।
हामीले माइग्रेनका बिरामीका लागि माइग्रेन थेरापी भनेर प्रोटोकल बनाएका छौँ । दुखाइ कम गर्नको लागि स्काप अकुपञ्चर विधि अपनाइन्छ, जसलाई वाई.एन.एस.ए. भनिन्छ । यो विधिअन्तर्गत शरीरका केही विन्दुमा प्रेसर गरेर दुखाइ कम गरिन्छ । जुन विन्दुले मस्तिष्कलाई आनन्द महसुस गराउने हर्माेन निकाल्छन्, ती विन्दुमा अकुपञ्चरको माध्यमबाछ प्रेसर दिइन्छ । माइग्रेन निको पार्न बाहिरबाट रासायनिक पदार्थ नदिइने भएकाले साइड इफेक्ट कम हुन्छ ।
माइग्रेनलाई बढावा दिने अरु पक्ष पनि हुन्छन् । कसैलाई गर्दन दुख्नासाथ टाउको दुख्न थाल्ने हुन्छ । आँखाको समस्याले पनि टाउको दुख्न सक्छ । पिनास रहेसम्म माइग्रेन निको हुँदैन । माइग्रेन निको हुन समय लाग्छ ।
हामी प्राकृतिक पद्दतिबाट उपचार गर्छाैं । यस्तो उपचार भनेको ‘असारमा धान रोपेर मंसिरमा पाके’झैँ हुन्छ । यसको आफ्नै चक्र हुन्छ । त्यसैले अकुपञ्चर प्रविधिबाट माइग्रेन निको पार्न एकदेखि तीन हप्तासम्म लाग्न सक्छ । बिरामीले उपचार विधिको अनुशासन पालना गर्ने हो भने माइग्रेन पूर्णतः निको हुन्छ ।
अकु. विशाल श्रेष्ठ, मेडिकल अकुपञ्चरिस्ट