काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ९ महिना सम्हाले। तर, यो छोटो अवधिमै स्वास्थ्य क्षेत्रमा परिवर्तनका केही महत्वपूर्ण कामको थालनी गरे। उनले मन्त्रालयमा नीतिगत परिवर्तन र मन्त्रालय अन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामा व्यवस्थापकीय परिवर्तनको महसुस गराएका थिए। पूर्व स्वास्थ्यमन्त्री थापासँग स्वास्थ्य खबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले गरेको 25ः
तपाईं स्वास्थ्य मन्त्री हुनुभयो। त्यसपछि स्वास्थ्य क्षेत्रलाई हेर्ने नेपाली कांग्रेसको दृष्टिकोण कत्तिको बदलियो?
पार्टीले स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टिकोण पहिलाभन्दा धेरै फरक छ। यसअघि पनि घोषणा पत्र लेख्नमा म संलग्न थिएँ। शिक्षा र स्वास्थ्यका कुरा आउँदा चाहिँ ‘कपी पेस्ट’ गरेको जस्तो हुन्थ्यो। अघिल्लो घोषणपत्रमा जे छन्, तिनै दोहोर्याउने गरिन्थ्यो। उस्तै कुराहरु हुन्थे, जस्तोः सबैलाई स्वास्थ्यको अधिकार उपलब्ध गराइनेछ, गाउँ–गाउँमा अस्पताल खोलिनेछ, डाक्टर पुर्याइनेछन् आदि। यसपल्ट स्वास्थ्य क्षेत्रमा हामीले गरेका कामको विवरण र नेपाली कांग्रेसले सरकार बनाउँदा स्वास्थ्यमा के–के गर्नेछ? भन्ने कुरा घोषणापत्रमा उल्लेख छ।
यसपल्टको निर्वाचनमा सबै दलका ठूला नेताले स्वास्थ्यका विषयमा बोल्न छुटाउनुभएको छैन। यसर्थ मलाई निकै खुसी लागेको छ कि, स्वास्थ्य महत्वपूर्ण राजनीतिक विषय बनेको छ। नयाँ सरकार बनेपछि स्वास्थ्यमा के–के हुन्छ भन्ने कुरा आमनागरिकले रुचिपूर्वक हेर्ने नै भए। सञ्चार माध्यमले चासो दिने भए। निरन्तर दबाब पर्ने भयो।
म मन्त्रालयमा ९ महिना ११ दिन रहें। नयाँ भएकाले अघिल्ला दुई–तीन महिना बुझ्न र सिक्न लाग्यो, पछिल्ला दुई–तीन महिना आचारसंहिता लाग्यो। बीचका ४–५ महिना जति मात्र काम गर्न पाइयो। सकेसम्म राम्रो गर्ने प्रयास गरियो।
तपाईंलाई फेरि मन्त्री बन्ने अवसर आयो भने स्वास्थ्य नै रोज्नुहुन्छ?
मैले केही समय काम गर्न पाएको भए परिणाम यो भन्दा चाँडो हात लाग्थ्यो र सार्थक हुन्थ्यो भन्ने मनमा अझै छ। थुप्रै काम सुरु गरें, तर तिनलाई पूरा गर्न अझै पाए हुन्थ्यो भन्ने लागिरहन्छ। म स्वास्थ्य मन्त्रालय रोजेर आएको होइन। अब चुनाव जितियो, म मन्त्री बन्ने अवस्था आयो र अर्थ मन्त्रालय र स्वास्थ्यमा एउटा रोज्ने अवस्था आउँदा म स्वास्थ्य नै रोज्छु। मैले सुरु गरेका स्वास्थ्य बीमा, सस्तोमा औषधि र स्वास्थ्य संस्थामा व्यवस्थापकीय परिवर्तनका कुरा टुंग्याउन चाहन्छु। म त्यहाँ रहँदा यसका लागि पाँच वर्षको परियोजना बनाइएको थियो। म बाहेक जो स्वास्थ्यमन्त्री भएर आए पनि हामीले ४–५ महिनामा सुरु गरेका काम नै गर्ने हो, अबको ५–७ वर्षसम्म।
नागरिक तहमा स्वास्थ्यका एजेन्डा नभएको हो? सर्वसाधरणको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?
मेरा लागि चुनावमा सबैभन्दा ठूलो सन्दर्भ नै स्वास्थ्यसँग जोडिएको विषय भएको छ। घरदैलोमा जाँदै गर्दा नागरिकतहबाट तपाईंले स्वास्थ्यमा थप केही गर्नुपर्छ भन्नुहुन्छ। स्वास्थ्यका विषयमा चासो बढेको छ।
मेरा लागि भने महत्वपूर्ण स्वास्थ्य बीमा हो। कतिले यसलाई हामीले अनावश्यक दाबी गर्यौं भनेका छन्। तर, यसमा दाबी होइन, सुरु जसरी भए पनि कानुन निर्माण गरेर अनिवार्य हामीले गराएका हौं। यसैगरी, नसर्ने रोगमा लाइफ स्टाइल जोडेर ‘म स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने अवधारणा अघि सारियो। यसैगरी, फ्याक्ट्रीबाट सिधै फार्मेसीमा औषधि पु¥याउने काम गरिएको छ। मानौं यसअघि एक परिवारले महिनामा औषधिको मूल्य ३ हजार तिर्नुपर्थ्यो भने अहिले १ हजारमा झरेको छ। निःशुल्क मिर्गौला प्रत्यारोपणले धेरै राहत पुर्याएको छ। बाथमुटु रोगको निःशुल्क उपचार सेवाले धेरैलाई सहज बनाएको छ।
सवैभन्दा महत्वपूर्ण उपलब्धि के ठान्नुहुन्छ?
तत्काल गर्ने कुरामा सुधार गर्यौं हामीले। सबै नेताले भन्दा चाहिँ जनता भन्ने गरेका थियौं। तर जनताले यहीँ पनि राम्रो उपचार नपाउने, नेता भने राज्यको ढुकुटीबाट विश्वका उत्कृष्ट अस्पतालमा उपचार गराउन जाने प्रचलन थियो। सबै कुरा हाम्रो बसमा थिएन। यो कुरामा हामीले अडान लियौं, स्वास्थ्य मन्त्रालयले नेताको उपचारका लागि सिफारिस गर्दैन भन्यौं। यसरी यो प्रचलन रोक्न सकियो, मलाई यो ठूलो उपलब्धि लाग्छ। किनभने नेताहरुले पनि यहीँ उपचार गर्नुपर्ने भएपछि सुधारतिर लाग्न घच्घच्याउँछ। यसैगरी, सरकारी अस्पतालको व्यवस्थापकीय सुधार पनि पहिलेको भन्दा राम्रो भएको छ। यसले मलाई सन्तुष्टि दिन्छ।
म चिकित्सा शिक्षा विधेयकसँग किन उभिएँ भने त्यो दार्चुलाजस्तो विकट ठाउँमा पनि विशेषज्ञ चिकित्सक पुर्याउने कुरासँग जोडिएको छ। यसैगरी, निक साइमन र निजी स्वास्थ्य संस्थासँग समेत समन्वय गरेर उपचार सेवालाई सर्वसाधरणको पहुँचमा ल्याउने प्रयास गरियो। मानसिक स्वास्थ्य देखि, अपांगता भएकाको स्वास्थ्यसम्म, मदिरा नियन्त्रणदेखि एम्बुलेन्स सुधारसम्म, ल्याब सुधारदेखि सरकारी अस्पतालको व्यवस्थापन सुधारसम्मका विषयमा नीतिगत काम टुंग्याइयो। यसमा पनि सन्तुष्टि लाग्छ।
स्वास्थ्य बीमाको भविष्य कस्तो देख्नुहुन्छ?
यो मत्वपूर्ण फड्को हो। आयका आधारमा बीमाको प्रिमियम तोकिन्छ। धेरै कमाउनेले बढी, मध्यमकाले मध्यम र तीर्न नसक्नेको सरकारले तिरिदिन्छ। असाध्य रोग लाग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने वा उपचार बीचमा छाड्नुपर्ने अवस्थाको अन्त्य यसले गर्छ। परिकल्पना यही हो। तर, यसका लागि सेवा दिने अस्पताललाई सुधार गर्नुपर्छ। हामीले ५ वर्षभित्र बीमा गरिसक्ने सोच्दा स्वास्थ्यचौकीदेखि वीर अस्पतालसम्मको सुधारबारे सोच्नुपर्छ। औषधिलाई सस्तो बनाउनुपर्छ। हामीले यसका लागि गृहकार्य पनि गरेका गर्यौं। कानुनी आधार बनायौं।
अस्पताल र औषधिप्रति अझै पनि जनगुनासो घटेको छैन नि?
हामीले अहिले जुनखालको सरकारी अस्पताल सुधारका काम प्रारम्भ गरेका छौं, यसको गति बढाउनुपर्छ। चिकित्सकहरु र जनशक्तिलाई जसरी हामीले अहिले काम लगाइरहेका छौं, जति सेवासुविधा दिएका छौं, यसले पुग्दैन। एक डाक्टर, एक संस्थाको नीत अँगाल्नुपर्छ। उनीहरुले धेरै ठाउँ काम गर्नुपर्ने वाध्यताको अन्त्य गर्नुपर्छ। यसका लागि डाक्टर पनि तयार नै छन्। हामीले यसका लागि उनीहरुको तलब १०० प्रतिशत बढाउन प्रस्ताव पनि गरेका हौं। जुनदिन सबै अस्पतालले आफ्नै फार्मेसी बनाउँछन्, औषधिको मूल्य स्वतः घट्दै जानेछ। मलाई स्वास्थ्य मन्त्री भइरहँदा के लाग्यो भने, नेपालमा काम गर्न सकिने रहेछ। गर्ने आधार पनि रहेछ। हामीसँग इच्छाशक्ति र सपना भने हुनुपर्छ।