वसन्त कुँवर ड्रग्स भन्नाले के बुझिन्छ ?
ड्रग्स भन्नाले लाग्ने, नसा दिने, लट्ठयाउने वस्तु भन्ने बुझिन्छ। लट्ठयाउने वस्तुलाई औषधी प्रयोजनमा ल्याइएको भए ड्रग्स (लागु औषध) भनिन्छ र औषधी प्रयोजनमा नल्याइएको भए लागु पदार्थ भनिन्छ। उदाहरणको लागी डेनड्रईड भन्ने ग्लुले लट्ठयाउँछ, त्यसलाई दुव्र्यसनमा परेकाहरुले लिने पनि गर्दछन् तर त्यो लागुऔषध नभई लागुपदार्थ हो तर अफिमबाट पेन किलर औाषधी बनाईने हुँदा त्यो लट्ठयाउने कुरा भने लागु औषध हो।
समाजमा पाईने र प्रयोग हुने मुख्य मुख्य ड्रग्सहरु के के हुन् ?
हाम्रो समाजमा औषधीको रुपमा प्रयोग भएका वा नभएका मुख्य लट्ठयाउने चिज वस्तुहरुमा रक्सीजन्य पदार्थ, गाँजा, अफिमबाट बनेका हिरोइन, ब्राउन सुगर, मर्फिन, कोकाबाट बनेका कोकिन, चिकित्सकले दिने औषधीहरु मध्ये निद्रा लगाउने, दुखाई कम गर्ने, खोकि रोक्ने, एलर्जि ठिक गर्ने, डिप्रेसन नियन्त्रण गर्ने, मुड अल्टर गर्ने आदि औषधीहरु, मनोरञ्जन स्थलमा उत्तेजनामा ल्याईराख्न प्रयोग हुने एम फेटामाईन, याभा, क्य्राक्स, जस्ता क्रितिम औषधीहरु, जुत्ता टाल्न प्रयोग हुने डेनड्राईड लगायत माउसुलीका पुच्छर जस्ता चिज वस्तु पनि पाईन्छन् र त्यसको दुरुपयोग पनि भईरहेको छ।
रक्सी ड्रग्स हो र ?
रक्सी आज भन्दा आठ हजार वर्ष अगाडीको पेन किलर औषधी नै हो। रक्सीपछि गाँजा, त्यसपछि हिरोइन, कोकिन पाउडर, त्यसपछि ट्यावलेट र सुईका रुपमा पेन किलर औषधीहरु परिमार्जित हुँदै आए। यस्ता लट्ठयाउने कुराले व्यक्तिको चेतना लट्ठयाउने हुँदा सेवनकर्ताले दुखाई, पीर, ताप, लाजसरम, जस्ता अनुभुति गर्नु पर्ने कुराहरु अनुभुति गर्न सक्दैनन्। त्यसैले यस्ता कुरा डिप्रेसनमा परेका बिरामीहरुलाई, मानसिक सन्तुलन गुमाएकाहरुलाई, पिडामा परेकाहरुलाई, औषधीको रुपमा दिइएको हो।
तर रक्सी त सबैले खान्छन् ?
जिम्मेवार सरकारहरुले हामीले जस्तो गरी रक्सीलाई स्वतन्त्रतापूर्वक छोडेका छैनन्। अमेरीकामा २२ वर्ष मुनिकालाई रक्सी बेचेमा सजय गरिन्छ। भारतमा रक्सी खास उमेरकालाई र खास स्थानबाट मात्रै बेच्न सक्ने व्यवस्था गरिएको छ। अरबका देशहरुमा रक्सी पिउनेलाई जेल नै हाल्ने कानून छ। रक्सीले व्यक्तिको चेतना लट्ठयाई भ्रमको दुनियामा लैजान्छ। त्यतिबेला व्यक्ति मुर्ख काम गर्दछ।
रक्सी सेवनकर्ता र अरु प्रकारका ड्रग्स खानेहरु दुव्र्यसनी भएकोमा के फरक हुन्छ ?
साधारणतया लट्ठयाउने कुराहरु शरीरमा तीनवटा बाटोबाट प्रवेश गराउन सकिन्छ। त्यो हो मुख, नाक, र नसाबाट। रक्सी मुखबाट लिईन्छ र यसको प्रत्यक्ष असर लिभरलाई पर्छ। लिभरको काम विष नियन्त्रण गर्ने हो। रक्सी नियमित खान थालेपछि त्यस व्यक्तिलाई लिभर सिरोसिस हुन्छ। लिभरकै गडबडिका कारण र दैनिक स्प्रीट लिएका कारण अल्सर हुन्छ। रक्सी सेवन गर्दा दैनिक झण्डै १५ वटा पौटिक तत्व नष्ट हुन थालेपछि त्यस व्यक्तिको शरीर काम्ने र पिडाका कारण निद्रामा समस्या आउने हुन थाल्छ। लिभरमा रगत राम्रोसँग पास नभएकोले फर्केर मुखबाट रगत वान्ता हुन सक्छ। फोक्सोले राम्रोसँग अक्सिजन तान्न नसकेकेपछि शरीरमा अक्सिजन नपुगी मानिस बेहोस भईरहन सक्छ र हातहरु बङ्गाएर जिब्रो घाँटीतिर लैजान सक्छ। बिस्तारै बिस्तारै रक्सी सेवन कर्ता बेसुरका कुरागर्दै जाने हुन थाल्छ। मेरो अनुभवमा रक्सीलाई परिवारले ड्रग्स होइन भन्ने मान्यता राखेका कारण अरु ड्रग्सले भन्दा यसले समाजमा ठूलो हानी गर्छ। रक्सीका सेवनकर्ताहरुमा क्षयरोग, मधुमेह र उच्च रक्तचापको बढी संभावना हुन्छ।
ड्रग्सले रगत, फोक्सो र कलेजोसम्बन्धी रोग, दुर्घटना र अपराधमा पुर्याउँन सक्छ। ड्रग्स सेवनकर्ताको शरीर रक्सी सेवनकर्ताको जस्तो जरजर अवस्थामा पुग्न पाउँदैन किनकी लुकेर सेवन गर्ने हुँदा साधारणतया दश वर्ष भित्र सेवनकर्ताको मृत्यु भइसकेको हुन्छ। रक्सी सेवन गर्नेहरुको स्वास्थबारे परिवारको चासो भईरहने हुँदा ती व्यक्तिहरु अलि लामो जीवन बाँच्छन् तर क्षति भने बढि गर्छन्।
ड्रग्सको उपचार भनेको के हो ?
ड्रग्सको उपचार भनेको लट्ठयाउने कुरा छोड्न सक्ने र त्यो छोडेर समाजमा नैतिक, उत्पादक, स्थिर भएर बस्न सक्ने बनाउने हो। ड्रग्समा उपचार तथा पुर्नस्थापनाको पनि जरुरी हुन्छ किनकी ड्रग्स खाने व्यक्तिको शारीरिक समस्या उपचारबाट ठिक हुन सक्छ तर उसको आदत, बानी व्यहोरा र समाजलाई हेर्ने दृष्टिकोणलाई समाज अनुकुल बनाउन चरित्र नै परिवर्तन गर्नुपर्छ। वानी छोड्न नसके ऊ संगत वा वातावरणका कारणले पुनः ड्रग्समा पर्दछ। त्यसैले पुर्नस्थापना गरेर व्यक्तिलाई घर, समाज र देशमा स्वीकार गराउनु चाँहि ज्यादै कठिन काम हुने गर्दछ।
ड्रग्स खाएको व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ ?
ड्रग्स खाएको व्यक्ति यदि दुब्लाउँदै गएको छ, पढाई, व्यवसायमा कमजोर हुँदै गएको छ, राती नसुत्ने बिहान अबेरसम्म नउठ्ने भएको छ, र व्यवहार परिवर्तन हुँदै गएको छ भने त्यो व्यक्ति दुव्र्यसनी भयो भनेर माने हुन्छ। यस्तो अवस्थामा पढाउने, विदेश पठाउने, व्यवसाय गराउने, विवाह गरिदिने, जस्ता काम गर्नु हुँदैन र उसलाई जति सक्यो छिटो उपचार तथा पुर्नस्थापना केन्द्र पठाई हाल्नुपर्छ। चिकित्सकको औषधीले ड्रग्स छोड्न सकिन्न। ड्रग्स छोड्ने औषधी नै हुँदैन। दुव्र्यसनीप्रति सहयोग भनेको उसलाई पुर्नस्थापना केन्द्रसम्म पुर्याउनु हो।
दुव्र्यसन रोग हो भन्छन् नि ?
दुव्र्यसन रोग र दुव्र्यसनी रोगी होइन। कुनै व्यक्तिले ड्रग्स नियमित खान थालेपछि ऊ सुत्नै नसक्ने, बेसुरका कुरा गर्ने, माया दया केहि नगर्ने, एक प्रकारले भन्ने हो भने ‘एबनर्मल’ हुन्छ। यस्तो व्यवहार देख्दा धेरैले मानसिक रोगी पो होकी भन्ने ठान्छन्। ड्रग्स छोड्न नसक्नु एउटा असक्षमताको अवस्था हो। नसा लिएपछि मानिसको व्यवहार परिवर्तन हुन्छ। त्यो परिवर्तीत व्यवहार रोग नभई नसाको कारणले भएको हुन्छ। यदि रोग भएको भए निश्चित दिनसम्म औषधी खाएपछि निको हुनु पर्ने थियो। दुव्र्यसन आफैमा रोग होइन, त्यसको परिणामले विभिन्न प्राणघातक रोग देखापर्न सक्छ।
नार्कोनन् प्रविधिले कसरी दुव्र्यसनमा परेकाहरुको उपचार गर्दछ ?
नार्कोनन्मा दुव्र्यसनलाई रोग मानिदैन, दुव्र्यसनमा परेकालाई दुव्र्यसनी भनिदैन, उपचारको क्रममा कुनै पनि लट्ठयाउने कुरा दिईदैन र त्यस व्यक्तिमा दुव्र्यसन त्याग्न सक्ने क्षमता नार्कोनन् कोर्षद्वारा बढाउने काम गरिन्छ। साधारणतया नार्कोनन्ले दुव्र्यसनमा परेका व्यक्तिहरुको आठ वटा यस्ता असक्षमताहरु दुर गर्दछ जसका कारणले ऊ ड्रग्स खान वाध्य भएको हुन्छ। पहिलो चरणमा दुव्र्यसनमा परेका व्यक्तिलाई भर्ना गरेर नार्कोनन्ले ड्रग्स नपाउँदा उसलाई हुने शारिरीक र मानसिक अप्ठ्यारा जसलाई सिक पनि भन्ने गरिन्छ। झण्डै वीस प्रकारका पोषक तत्व र विशेष अभ्यास मार्फत तीन दिनदेखी पाँच दिन भित्र पहिलो समास्याको समाधान गरिन्छ।
त्यसपछि दोश्रो चरणमा त्यो व्यक्ति संवाद, सामना, र नियन्त्रण गर्ने खुबी बढाईदिन्छ। तेश्रो चरणमा त्यस व्यक्तिको शरीर भित्र अड्किएर बसेका ड्रग्सका अंशहरुलाई बाहिर निकाली तलतलबाट जोगाउने क्षमता बढाइन्छ। चौथो चरणमा त्यो व्यक्तिले समाजमा फर्किएर सफल जीवन बिताओस् भन्नाका लागि उसमा खराब साथी छोड्न सक्ने, नैतिकतापूर्वक काम गर्नसक्ने, व्यवस्थापकीय क्षमता देखाउन सक्ने, र ड्रग्स नलिईकन खुशी रहन सक्ने, क्षमता बढाइन्छ। यी आठवटा क्षमताहरु एल.रोन. हवर्डस् भन्ने दार्शनिकले तयार गरेका आठवटा पुस्तकको अध्ययन मार्फत वृद्धि गराईन्छ। ड्रग छोड्न सफल भएपछि उसलाई ग्राजुएड भनिन्छ।
नार्कोनन् पद्धतीद्वारा उपचार गर्ने ठाउँ कहाँ कहाँ छ ?
संसारमा एकसय पैंतालीस ठाउँमा नार्कोनन् प्रविधिद्वारा उपचार गरिन्छ। एसियामा नेपाल र ताईवान मात्रै छ। नेपालमा नार्कोनन् पद्धती अनुसारको सेवा पूर्ण रुपमा हात्तीगौंडामा र आशिंक रूपमा बुढानिलकण्ठमा लिन सकिन्छ। यी बाहेक नार्कोनन्को थोरै मात्र पाठ्यक्रम राखी बाँकि नेपालमा नै विकास गरिएको सेवा मुलपानीमा र प्रशिक्षण प्रशिक्षक बन्ने तालिम नुवाकोटको ककनीमा रहेको नार्कोनन् अन्तरराष्ट्रिय तालीम केन्द्रबाट लिनसकिन्छ।
नार्कोनन्को सफलताको मात्रा के कस्तो छ ?
यदि दुई वर्षसम्म कसैले उपचार पश्चात ड्रग्स लिएन, नैतिकतामा कुनै समस्या आएन, उसले पढाई, व्यवसाय वा जिम्मेवारी लिएको कुरामा राम्रो गर्यो र जीवन र व्यवहार उतार चढाव खालको नभई स्थिर देखियो भने त्यस्तो व्यक्तिलाई हामी ड्रग्स छोड्न सफलको कोटीमा राख्छौं। साधारणतया नार्कोनन्मा ६ महिना उपचार तथा पुर्नस्थापनाको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइन्छ। अर्को छ महिना स्कूल, कलेज, कार्यालय, टोफेल, स्याट, जस्ता कोर्षहरुमा पढाई, ड्रग्स छोड्न सक्ने वा नसक्ने अध्ययन गरिन्छ। साधारणतया एक वर्षसम्म ड्रग्स नलिई राम्रो गरेपछि अर्कोएक वर्ष अनुगमनमा राखिन्छ। यस्तो प्रकृया पुरा गर्नेहरु ७० प्रतिशत ड्रग्स मुक्त हुन्छन्। राम्रो नतिजा दिन नसके नार्कोनन्को लाईसेन्स् नै खारेज हुने भएकोले विशेष ध्यान दिइन्छ।
ड्रग्सको अल्पकालीन र दीर्घकालीन असर के हुन्छ ?
अल्पकालीन रूपमा ड्रग्सले दुर्घटनामा पर्ने, लिभर खराब हुन्छ। दीर्घकालीन रुपमा व्यक्ति कडा रोगबाट ग्रसित हुने, मानसिक रोगदेखि मृत्यु नै गराउन सक्छ।सामाजिक हिसाबले हेर्ने हो भने ड्रग्सको अल्पकालीन असर अशोभनीय र असुरक्षीत समाज श्रृजना हुन थाल्छ भने दीर्घकालीन रुपमा पुरै समाज बस्न लायक नै हुँदैन। डिभोर्स जस्ता पारिवारिक कलहका घटना बढाउँछ। गुणात्मक रुपमा दुव्र्यसन र अपराध बढ्छ।
ड्रग्सको समस्या सरुवा रोग जस्तै हो ?
यो रोग होइन तर सरुवा समस्या चाँहि हो। ड्रग्स बेच्नेहरुले पहिला साना केटा केटीलाई निःशूल्क ड्रग्स खान दिन्छन् र उनीहरु छोड्नै नसक्ने भएपछि तिनीहरुबाट पैसा ठगी गर्छन्। पैसा तिर्न नसक्ने भएपछि त्यस्ता केटाकेटीलाई अरू तीन जना साथीहरु फसाउन सके निःशुल्क उसलाई ड्रग्स दिने प्रस्ताव राख्दछन्। यसरी ड्रग्सको समस्या सरुवा रोग जस्तै गुणात्मक ढंगले बढ्दै जान्छ तर यो रोग नभई सरुवा समस्या हो।
(नार्कोनन् नेपालका राष्ट्रिय निर्देशक वसन्त कुँवरको स्वास्थ्यखबर पत्रिकामा २०७० साल फागुनमा प्रकाशित अन्तर्वार्ता )