हालै गरिएको एउटा अध्ययनले बुबालाई डिप्रेसन भए छोराछोरीलाई पनि किशोर उमेरमा डिप्रेसनलगायत मानसिक समस्या हुने सम्भावना उच्च रहने देखाएको छ ।
यसअघिका अध्ययन अनुसन्धानले आमालाई डिप्रेसन हुँदा मात्र छोराछोरीमा पनि डिप्रेसन हुने सम्भावना देखाएका थिए । तर नयाँ अध्ययन नै पहिलो हो, जसले बुबाको डिप्रेसनको प्रभाव छोराछोरीमा पर्ने निष्कर्ष निकालेको छ । अध्ययनमा आमालाई डिप्रेसन भए÷नभएको तथ्य समावेश गरेको थिएन।
आयरल्यान्ड, वेल्स र इङल्यान्डका हजारौं परिवारमा गरिएको अध्ययनबाट यस्तो निष्कर्ष निस्केको हो ।
‘छोराछोरीको मानसिक स्वास्थ्यमा आमाको मानसिकताको बढी प्रभाव पर्छ र बुबाको प्रभाव न्यून हुन्छ भन्ने गलत धारणा थियो,’ अध्ययनकर्ता समूहका नेतृत्व गरेकी जेम्मा लेविस भन्छिन् । उनी युनिभर्सिटी कलेज लन्डनको साइकियाट्री विभागकी अनुसन्धाता हुन् ।
‘हामीले आमाबुबा र किशोरकिशोरीमा हुने डिप्रेसन लिंगसँग सम्बन्धित नहुने तथ्य अध्ययनबाट पत्ता लगायौं,’ कलेजले जारी गरेको विज्ञप्तिमा उनले भनेकी छन्, ‘डिप्रेसनबाट जोगाउन अहिलेसम्म खास गरी आमामाथि केन्द्रित हुन्थ्यो तर हाम्रो अध्ययनको नतिजाले आमाबुबा दुवैमा केन्द्रित हुनुपर्ने देखाएको छ ।’
किशोर वय सुरु भएपछि बालबालिकामा डिप्रेसन ह्वात्तै बढ्ने गर्छ । त्यसैले यो उमेरमा हुने डिप्रेसनका ‘रिस्क फ्याक्टर’बारे बढीभन्दा बढी जानकारी पाइए यसले जीवनको पछिल्लो चरणमा डिप्रेसनबाट जोगिन सकिने अध्ययनकर्ताहरू बताउँछन् ।
‘पुरुषले डिप्रेसनको उपचार गर्ने प्रवृत्ति न्यून छ,’ लेविस भन्छिन्, ‘यदि तपाईं बुबा हो र डिप्रेसनको उपचार गराउनु भएको छैन भने त्यसको प्रभाव तपाईंका सन्तानमा पर्न सक्छ । यो अध्ययनको निष्कर्षले डिप्रेसन भएका पुरुषले उपचार गराउने छन् भन्ने हाम्रो अपेक्षा छ ।’
किशोरकिशोरीलाई डिप्रेसनबाट जोगाउन उनीहरूका आमाबुबाले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने लेविसको धारणा छ । उनले अहिलेसम्म छोराछोरीको मानसिक स्वास्थ्य आमाको मानसिक स्वास्थ्यमा मात्र निर्भर हुने र आमालाई मात्र ध्यान दिइन्थ्यो तर अध्ययनले भने बुबाको मानसिक स्वास्थ्य पनि छोराछोरीको मानसिक स्वास्थ्यमा समान रुपमा महत्वपूर्ण रहेको तथ्य दर्शाएको बताइन् ।
यो अध्ययन ‘द लान्सेट साइकियाट्री’मा हालै प्रकाशित भएको छ ।
एजेन्सी