बिबिसी – ‘मलाई सहन नसक्ने गरी दुख्न थालेपछि म जोडले रुन्छु । बेहोस हुने स्थिति आउँछ,’ बिरामी अपराजिताले भनिन्।
३७ बर्षकी अपराजिता शर्मा चौथो स्टेजको ‘एन्डोमिट्रियोसिस’ रोगसँग संघर्षरत छिन् । यो एउटा यस्तो रोग हो, जसका बारेमा महिलाहरूले अत्यन्त न्यूनमात्र जानकारी पाएका छन् । र, यसबारे चिकित्सा वृत्तमा समेत कमैमात्र छलफल गरिन्छ।
‘एन्डोमिट्रियोसिस सोसाइटी अफ इन्डिया’का अनुसार भारतमा करिब अढाई करोड महिला यसबाट पीडित छन् ।
के हो एन्डोमिट्रियोसिस ?
यो रोगमा गर्भासय (सर्भिक्स)का छेउछाउका कोष र टिस्यु शरीरका अन्य भागमा फैलिन्छन्, जुन असामान्य हो ।
यस्ता कोष÷टिस्यु अन्डाशय, अण्डवाहिनी नली, मुत्रथैली वा पेटको कुनै पनि भागमा फैलिन सक्छन् । यो रोग सामान्यतया किशोरी र युवतीहरूलाई लाग्ने गर्छ।
मेनोपज भइसकेका (महिनावारी बन्द भइसकेका) महिलाहरूमा यो रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
यो रोगले लामो समयसम्म दुःख दिने भएकाले यसले बिरामीलाई शारीरिक र मानसिक कमजोर बनाउँछ । यो रोगग्रस्त महिला आमा बन्ने सम्भावना समेत न्यून हुन्छ ।
लक्षण
– अनियमित महिनावारी
– महिनावारीका बेला असामान्य रगत जानु र असहनीय दुखाइ
– महिनावारी सुरु हुनु केही दिनअघि वक्ष सुन्निने र दुख्ने
– युरिन इन्फेक्सन
– सहवासका बेला र पछि दुख्ने
– पेटको तल्लो भागमा तीव्र दुखाइ
– थकान, झर्किने र कमजोरी
अपराजिताले बिहे गरेको दुई वर्षपछि आफू एन्डोमिट्रियोसिसको गम्भीर स्टेजमा भएको थाहा पाइन् । यसअघि महिनावारीका बेला असहनीय दुखाइ हुँदा उनले २४ वर्षकी हुँदा चिकित्सककोमा गएकी थिइन् ।
उनले भनिन्, ‘ती चिकित्सकले मलाई पहिलो स्टेजको एन्डोमिट्रियोसिस भएको बताएका थिए । उनले मलाई छिट्टै बिहे गरी आमा बन्न सल्लाह दिएका थिए ।’
खासमा एन्डोमिट्रियोसिसवग्रस्त महिलाको महिनावारी हुँदा गर्भाशयभन्दा बाहिर रगत जम्मा हुन थाल्छ । यो रगतका कारण नै त्यहाँ सिस्ट वा डल्लो बन्न थाल्छ । सिस्ट बन्न थालेसँगै दुखाइ पनि बढ्छ ।
गर्भ रहेमा गर्भावस्थाका बेला नौ महिनासम्म महिनावारी नहुने भएकाले गर्भाशयबाहिर रगत जम्दैन र सिस्ट पनि बढ्न पाउँदैन । यस्तो बेलामा शल्यक्रिया गरी सिस्ट हटाउन सकिन्छ ।
मेनोपज नजिक भएका महिलाहरूलाई गर्भनिरोधक औषधि वा इन्जेक्सन दिएर प्रजनन तन्त्रलाई निष्क्रिय बनाउने प्रयास गरिन्छ ।
तर आमा भएपछि यो ठिक हुने वा दुखाइ घट्छ भन्ने आवश्यक छैन । कैयौंपल्ट समस्या जस्ताको तस्तै रहन्छ वा अझै बढ्न पनि सक्छ।
अहिलेसम्म अपराजिताले चारपल्ट शल्यक्रिया गरिसकिन् तर पनि उनी पूर्ण रुपमा यसबाट मुक्त भएकी छैनन्।
‘भारतमा यो रोगबारे जागरुकता र सुविधा छैन,’ उनले भनिन्, ‘शल्यक्रिया गरी यस्तो सिस्ट हटाउन सक्ने जम्मा जम्मी २÷४ जनामात्र चिकित्सक भएबाट यसको स्थितिबारे सहज अनुमान गर्न सकिन्छ।’
ख्याल गर्नुपर्ने कुरा के हो भने यस्ता रोगीलाई गाइनोकोलजिस्टले कुनै उपचार गर्न सक्दैनन्, यसको उपचारका लागि इन्डोक्राइनोलजिस्टसँग नै जानुपर्छ।
अपराजिताको गुनासो भने चिकित्सकले अनेकौं औषधि दिए, शल्यक्रिया गरे तर स्थायी उपचार गर्नेतिर भने कुनै पनि चिकित्सकले ध्यान नदिएकोमा छ ।
यसबीच उनले इन्टरनेटमा नै यसबारे खोजेर जानकारी बटुल्न र अध्ययन गर्न थालिन्।
उनी सामाजिक सञ्जालमा पनि त्यस्ता सपोर्ट ग्रुपसँग आबद्ध भइन्, जुन समूह रोगग्रस्त महिलाहरूको सहायता गरिरहेका थिए । उनले स्केच बनाएर मानिसहरूलाई यो रोगबारे बुझाउने प्रयास पनि गरिन्।
अहिले उनको हर्मोनल उपचार भइरहेको छ । उनको भनाइमा भारतका डक्टरहरू पहिले कुनै पनि महिलाको रोग वा दुखाइको चिन्ता गर्दैनन् जति उनीहरू ती महिला आमा बन्न सक्छिन् सक्दिनन् भन्ने कुराको हुन्छ।
तर फर्टिलिटी विशेषज्ञ डा शिखा जैन कम उमेरका महिलाको शल्यक्रियापछि पनि कैयौं साइड इफेक्ट्स आउने बताउँछिन् । डक्टरहरूले शल्यक्रिया नगर्ने यो पनि प्रमुख कारण भएको उनको विचार छ ।
उनले भनिन्, ‘यो रोगको कुनै खास कारण हुँदैन । कैयौंपल्ट यो वंशाणुगत पनि हुन्छ । बिरामीमा उपचार असर गरे/नगरेको अनुमान गर्न समेत कठिन हुन्छ ।’
केही महिलालाई भने सर्जरीपछि ठीक हुन्छ र केहीलाई ३÷४ पल्ट सम्म शल्यक्रिया गर्नुपर्ने उनले बताइन्।
उनले यो रोग प्रारम्भिक चरणमै भए अल्ट्रासाउन्डबाट पनि पत्ता लगाउन सकिने जानकारी दिइन् । तर रोगको स्थिति गम्भीर भए लेप्रोस्कोपीको मद्दतबाट पत्ता लगाउन सकिन्छ।
अपराजिता भन्छिन्, ‘यसबाट बेलैमा सचेत हुन महिनावारीका बेला हुने दुखाइ र युरिन इन्फेक्सनजस्ता समस्यालाई गम्भिरतापूर्वक लिनुपर्छ । साथै शारीरिक सफाइ र भोजनमा विशेष ध्यान दिनुपर्छ।’