काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि लोक सेवा आयोगले सहमति प्रदान गरेको छ। प्रतिष्ठानको माग बमोजिम लोक सेवा आयोगले मंगलबार पदपूर्तिका लागि सहमति प्रदान गरेको हो।
आयोगमा ६ वर्षदेखि स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवा अबरुद्ध थियो। प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना जारी गर्नेछ। उपकुलपति डा मंगल रावलका अनुसार लामो समयको प्रयासपछि लोकसेवाले अनुमति दिएको हो।
प्रतिष्ठानले विभिन्न पद तथा समूह, उप समूहमा १७२ बढी पदमा स्थायी पदपूर्ति गर्ने उनले बताए। उनले भने, 'लोकसेवाबाटै स्थायी पदपुर्ती तथा स्तरबृद्धि गर्ने सहमतिले विगत ६-७ वर्ष देखि रोकिएको कर्मचारीको वृत्तिविकास अघि बढ्नेछ । पहिले सेवा आयोगबाट यी सबै काम हुन्थे । तर नयाँ संविधानले स्थायी पदपूर्तिका काम लोकसेवा आयोगको सहमतिमा मात्रै गर्नु पर्ने भन्ने व्यवस्था भयो। त्यसपछि नियमित प्रक्रिया अवरुद्ध भएको थियो।'
आफूहरुको स्तरबृद्धि तथा बढुवा रोकिएको भन्दै प्रतिष्ठानमा कार्यरत केही कर्मचारीहरुले आन्दोलन गर्दै आएका थिए। यससँगै उक्त आन्दोलन समेत असान्दर्भिक भएको छ।