काठमाडौँ- नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य परीक्षणको गुणस्तरमा कुनै सम्झौता नहुने उल्लेख गरे।
मन्त्री भण्डारीले सरकारी र ठूला निजी अस्पताल हुँदाहुँदै पनि सीमित संस्थालाई सूचीकरण गरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि अनुमति दिनुको अर्थ स्वास्थ्य परीक्षणमा शुद्धता र प्रामाणिकता होस् भन्ने नै मुल उद्देश्य रहेको बताए।
मन्त्री भण्डारीले गलत गर्नेहरूका सम्बन्धमा सरकारले टुलुटुलु हेरेर नबसी कडा कारबाहीमा जाने बताए। उनले भने, ‘सरकारले व्यवसाय गर्दैन, व्यवसायी इमानदार नभए सरकारले कडाइ गर्नेछ। यसमा ध्यान दिनुहोला।’
मन्त्री भण्डारीले स्वास्थ्य परीक्षण रिपोर्ट पूर्ण रूपमा डिजिटाइजेसन गरेर समस्याको समाधान गर्ने भन्दै वैदेशिक रोजगार बोर्ड अनुगमनमा उत्रिनु आवश्यक रहेको बताए।
महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मिर्गौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणको गुणस्तरका विषयमा स्वास्थ्य व्यवसायी महासंघले पनि सक्रिय रुपमा अनुगमन गर्दै काम गर्नुपर्ने विषयमा मन्त्री भण्डारीले जोड दिए।
‘नेपालमा स्वास्थ्य परीक्षण हुँदा स्वस्थ देखिने तर विदेशमा पुगेपछि अस्वस्थ हुने जस्ता समस्याको समाधानमा पनि महासंघले काम गर्नुपर्छ,’ मन्त्री भण्डारीले भने।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले देशकै प्रतिनिधित्व गर्ने भएकाले स्वास्थ्य परीक्षण तल–माथि हुँदा देशको प्रतिष्ठा र कामदारको आर्थिक क्षति हुने भएकाले गम्भीर हुन व्यवसायीलाई आग्रह गरे।
साधारणसभामा श्रमसचिव मुकुन्दप्रसाद निरौलाले श्रमिकको स्वास्थ्यका विषयमा मन्त्रालयले आवश्यक कदम चालिरहेको जानकारी दिए।
महासंघ अध्यक्ष कैलाश खड्काले सरकारको मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि महासंघमा आवद्ध व्यवसायी प्रतिबद्व रहेको बताए। उनले स्वास्थ्य व्यवसायलाई गुणस्तरीय पारदर्शी, मर्यादित र व्यवस्थित बनाऔं भन्ने महासंघको मुल ध्येय रहेको उल्लेख गर्दै मेडिकल रिपोर्टको डिजिटाइजेसन नै बजारमा देखिने खराबी रोक्ने उपाय हुने टिप्पणी गरे।