काठमाडौं – नेपाल पेन केयर सेन्टरको आयोजनामा दीर्घकालीन दुखाइसम्बन्धि अन्र्तराष्ट्रियस्तरको दुईदिने नेपालमा सम्मेलन सुरु भएको छ । ललितपुरस्थित होटल सांग्रिला ब्लुमा शुक्रबारबाट सुरु भएको उक्त सम्मेलन दुई दिनसम्म रहनेछ।
उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दीर्घकालीन दुखाइको व्यवस्थापनका लागि एक निश्चित गाइडलाइन बनाउन आवश्यक रहेको बताए।
कार्यक्रम दीर्घकालीन दुखाईका बारेमा सचेतना फैलाउने मुख्य लक्ष्यका साथ गरिएको नेपाल पेन केयर सेन्टरका निर्देशन डा रोशन पियाले जाानकारी दिए। नेपालमा दुखाइलाई खासै मान्यता नदिइएका कारण यस्ता कार्यक्रमले सचेतना फैलाउने उनको भनाइ थियो।
औषधि तथा इन्जेक्सनको सहयोगले निको नभएका दुखाइलाई समेत कम गर्न सक्ने विधि नेपालमा आइसकेको उनले बताए।
नेपालमा पहिलोपटक स्थापना भएको नेपाल पेन केयर सेन्टरले दीर्घकालीन दुखाईका बिरामीहरुको उपचार गर्दै आइरहेको छ । हालसम्म सेन्टरले १० हजार भन्दा बढी दीर्घकालीन दुखाइका बिरामीहरुलाई सेवा दिइसकेको छ।
अझै पनि दुखाइलाई रोगका रुपमा नभई उमेर अनुसार हुने स्वभाविक प्रक्रियाका रुपमा लिने गरिएकोले सचेतना फैलाउनका लागि यस्ता कार्यक्रम उपयोगी हुने डा शिरिष अमात्यले बताए।
नेपालमा घर घरमा दीर्घकालीन दुखाइका बिरामी भएपनि सहेर बस्ने परिपाटी रहेको डा अमात्यको अनुभव छ । यद्यपि पछिल्लो समय चिकित्सक तथा बिरामी माझ दीर्घकालीन दुखाइबारे चेतना बढ्दै गएको उनी बताउँछन्।