काठमाडौं- संघीय संसद्को तेस्रो अधिवेशन आइतबार मध्यरातिबाट अन्त्य हुँदै छ । आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसद्को तेस्रो अधिवेशन आइतबार मध्यराति १२ बजेबाट अन्त्य हुने राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर जानकारी गराए।
गएको माघ २२ गतेदेखि सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रह्यो । यो अवधिमा १० दिनभन्दा बढी बैठकमा अनुपस्थित सांसदको ‘लिस्ट’मा तीनजना परेका छन् ।
वसन्तकुमार नेम्वाङ, मनोरमा शेरचन र सोनु मुर्मु १० दिनभन्दा बढी अनुपस्थित रहे । संघीय संसद् सचिवालयका अनुसार, नेम्वाङ ब्रेन स्टोक भई उपचाररत रहेकाले १२ दिन बैठकमा अनुस्थित रहेका हुन् । उनी माघ १७ देखि वैशाख २ गतेसम्म बसेको १२ बैठकमा अनुपस्थित भए ।
यस्तै, मनोरमा शेरचन थेरापी गर्नुपर्ने भएकाले फागुन २९ देखि वैशाख २ गतेसम्मका १३ बैठकमा अनुपस्थित भएको संसद् सचिवालयले जनाएको छ।
मुर्मु आमा र पतिको उपचारका निम्ति भारत जानुपर्ने भएकाले फागुन १४ देखि चैत ७ गतेसम्मका १० बैठकमा अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।