काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले परिषद अन्तर्गत दर्ता भएका जनशक्तिहरुलाई ज्ञान र सीपमा अपडेट गर्नका लागि निरन्तर पेशागत उन्नयन कार्यक्रम (सीपिडी) लागू गर्ने तयारी गरेको छ। परिषदले सीपीडी कार्यक्रम ल्याउनका लागि समिति बनाएर काम अगाडि बढाएको छ।
परिषदका अध्यक्ष सुबोधकुमार शर्माको संयोजकत्वमा समिति गठन भएर काम अगाडि बढेको छ। समितिको पहिलो बैठक मंगलबार बसिसकेको छ। समितिमा डा नस्तु शर्मा, डा मदन उपाध्याय, डा बराज कर्माचार्य, सुदर्शन पौडेल लगायत छन्।
पहिलो बैठकमा सीपीडी किन चाहिने, कस कस लाई चाहिने, कसरी अगाडि बढ्ने, कार्यविधि निर्माणका विषयसहित सरोकारवालाहरुसँग कहिलेबाट कसरी सुझाव लिने लगायतका विषयमा छलफल भएको परिषदका अध्यक्ष शर्माले जानकारी दिए।
उनका अनुसार सीपीडी कार्यक्रम पहिलो चरणमा जनस्वास्थ्य विषयबाट सुरु गर्ने प्रारम्भिक तयारी भएको छ। त्यसपछि क्रमश अन्य विषयहरुमा पनि सीपीडी लागु गर्ने योजना रहेको उनले जानकारी दिए। परिषद अन्तर्गत अहिले विभिन्न ४८ वटा विषय दर्ता हुँदै आइरहेको छ।
परिषद अन्तर्गत दर्ता भएर विभिन्न पेशामा सक्रिय रहेका स्वास्थ्यकर्मीले आफ्नो ज्ञान र सीपलाई निरन्तर अभिवृद्धि गर्न सकुन भनेर काउन्सिलले नयाँ कार्यक्रम सुरु गर्न लागेको हो। यो कार्यक्रम कार्यान्वयनमा आएसँगै स्वास्थ्यकर्मीले निश्चित समयभित्रमा निश्चित अंक ल्याउनु पर्ने हुन्छ।
'सीपीडी कार्यक्रम कस्तो र कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यविधि बनाउने छौं,' अध्यक्ष शर्माले भने, 'यो कार्यक्रम अति नै आवश्यक छ। यसले जनशक्तिलाई समअनुसार अपडेट गर्नुका साथै गुणस्तरीय सेवा प्रवाहमा योगदान गर्ने छ।' यो कार्यक्रम लागु भएपछि जनशक्तिको सीप र दक्षता बढ्ने मात्र नभइ स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा समेत योगदान पुग्ने विश्वास लिइएको उनले जानकारी दिए।
स्वास्थ्य क्षेत्रमा रहेका जनशक्तिहरुलाई निरन्तर अध्ययन तथा सीपको आवश्यकता पर्दछ। आफ्नो ज्ञान, सीप र पेशागत विषयलाई निरन्तर अभिवृद्धि गरी समयानुकूल प्रशिक्षित भइरहनुपर्छ। यही कार्यका लागि परिषदले निरन्तर पेशागत उन्नयन कार्यक्रम ल्याउने योजना अगाडि बढाएको हो।