काठमाडौं– सन् २०३५ सम्ममा हाल रहेको क्षयरोगको महामारीलाई नियन्त्रण गर्ने तथा सन् २०५० सम्ममा नेपालबाट क्षयरोगलाई उन्मुलन गर्ने लक्ष्य नेपालले लिएको छ।
सन् २०५० सम्ममा प्रति १० लाख जनसंख्यामा क्षयरोग संक्रमण १ जना वा सो भन्दा कम भएको अवस्थामा क्षयरोगलाई उन्मुलन भएको मान्न सकिने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ बताउँछन्।
नेपाल अझै २ सय २९ प्रति १ लाख क्षयरोगको भार रहेको छ । चालु रणनीति योजनाको अन्त्यसम्म १ सय ८१ प्रति १ लाखमा पुग्नुपर्ने डा श्रेष्ठ बताउँछन्।
हरेक वर्ष विश्व स्वास्थ्य संगठनले ग्लोबल टिबी रिपोर्ट प्रस्तुत गर्दै आइरहेको छ । जसमा विभिन्न तथ्यांकमा आधारित भएर हरेक मुलुकमा नयाँ क्षयरोगीहरुको भार, मृत्यु लगायतका आंकलन गरिन्छ।
नेपालमा सन् २०२० मा नेशनल टिबी प्रिभ्यालेन्स सर्वे भएको थियो । उक्त सर्वेले नेपालमा क्षयरोगको भार ५९ हजार रहेको तथ्य फेला पारेको थियो।
यद्यपि सर्वे हुनु अगाडि नेपालमा वर्षेनी करिब ४० हजार भन्दा बढी क्षयरोगका बिरामीहरु थपिने गरेको आंकलन थियो । हरेक वर्ष हुने जनसंख्याको वृद्विदरका आधारमा सर्वे गरिन्छ।
क्षयरोग र गरिबी बीचको अन्तर सम्बन्ध
क्षयरोग र गरिबीबीच गहिरो सम्बन्ध रहेको तथ्य फेला परेको छ । विश्वमा क्षयरोगको अवस्था हेर्दाे अल्पविकसित तथा न्यून आय भएका मुलुकहरुमा क्षयरोगीको संख्या उच्च देखिएको छ।
विकसित मानिने मुलुकहरु उत्तर अमेरिका ,अस्ट्रेलिया तथा यूरोपियन मुलुकहरुमा क्षयरोगको भार कम पाइएको छ।
दक्षिण पूर्वी एसियामा मात्रै विश्वकै ४६ प्रतिशत क्षयरोगीहरु रहेको तथ्यांक छ । कुपोषणको समस्या धेरै भएका मुलुकहरु यसको उच्च जोखिममा रहेका छन्।
गरिबी न्यूनीकरण नभएसम्म सन् २०५० सम्ममा क्षयरोग उन्मुलनमा चुनौती थपिएको छ । क्षयरोगको भ्याक्सिन विकास गर्न सकेमा आगामी २ दशकमा क्षयरोगलाई उन्मुलन गर्न सकिने सरोकारवालाहरु बताउँछन्।
फोक्सो बाहेकका क्षयरोगी २८ प्रतिशत
क्षयरोग भन्नासाथ फोक्सोको रोग भन्ने आम बुझाइ रहेको छ । फोक्सो बाहेक २८ प्रतिशत बिरामीहरुमा अन्य अंगको क्षयरोग भएको तथ्यांक छ।
मुटु, मिर्गाैला, दिमाख, आँखा, महिलाहरुको प्रजनन अंग लगायतका क्षयरोगका बिरामीहरुको संख्या २८ प्रतिशत रहेको हो।
फोक्सोको क्षयरोग एक व्यक्तिबाट अर्काेमा सर्ने प्रकृतिको हुन्छ । अन्य अंगहरुमा लाग्ने क्षयरोग एक व्यक्तिबाट अर्काेमा सर्दैन ।
जस्तै, मिर्गौला, आन्द्रा, दिमाग, पेट, मुटुको क्षयरोग एक व्यक्तिबाट अर्काेमा सर्दैन । एक फोक्सोको क्षयरोगीले प्रतिवर्ष १० जना बिरामीहरुलाई सार्ने अनुसन्धानबाट पुष्टि भएको छ।
यद्यपि अन्य अंगको क्षयरोगीलाई समेत नेपाल सरकारको क्षयरोग नियन्त्रण कार्यक्रमले समेटेको छ। फोक्सो बाहेक अन्य अंगका क्षयरोगीहरुलाई अवस्था अनुसार १ वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुनसक्छ। जुन नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराइरहेको छ।
नेपालका ६ हजार भन्दा बढी डट्स केन्द्रहरुले क्षयरोगको औषधि निःशुल्क रुपमा प्रदान गरिरहेको छ।
नेपालमा क्षयरोगको मृत्युदर ३ प्रतिशत रहेको छ। क्षयरोगीले वार्षिक आम्दानीको २० प्रतिशत खर्च रोगको निदान तथा उपचारमा गर्ने गरेको पाइएको छ।
बढी क्षयरोगी हुनेमा मधेश प्रदेश पहिलो
मधेश प्रदेश नं १ मा बाग्मती प्रदेश नं २ मा तथा लुम्बिनी प्रदेश क्षयरोगको पहिचानको हिसाबले बढी क्षयरोगी भएको प्रदेशमा परेको छ।
नेपाल सरकारको पछिल्लो गतिबिधिहरुले क्षयरोगलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। नेपालमा सन् २०२१ को अन्त्यदेखि क्षयरोग मुक्त अभियान चलाइएको छ।
सुरुमा २५ पालिकामा चलाइएको उक्त अभियान हाल १२५ पालिकाहरुमा चलाइएको छ। क्षयरोगको भार बढी भएका १२५ वटा पालिकाहरुलाई छनौट गरी उक्त अभियान चलाइएको हो।
अभियान सञ्चालन गरिएका पालिकाहरुमा करिब ३६ प्रतिशतले बढी केशहरु पहिचान भएको छ । यद्यपि ७५३ वटै पालिकामा पुग्नुपर्ने चुनौती हामी माझ छ।
नेपालले सञ्चालन गरेको क्षयरोग मुक्त अभियानलाई विश्वस्तरबाट समेत प्रशंसा मिलेको छ।
चुनौती
नयाँ क्षयरोगीहरुको संख्या ७० हजार आंकलन गरिएपनि ३७ हजारको हाराहारीमा मात्रै केस पहिचान गर्न सकिएको देखिन्छ।
अझै पनि ४५ प्रतिशत क्षयरोगीहरु पहिचान हुन नसकेको अवस्था छ। बढी भन्दा बढी केशहरु पत्ता लगाई अगाडि बढ्नु हाम्रो लागि चुनौती बनेको छ।
कोरोना महामारी पश्चात् नेपालले क्षयरोगीको पहिचान संख्या बढाएको छ। नयाँ केसहरु बढी पहिचान हुनुमा समुदाय तथा निजी संघ संस्थाहरुको समेत संलग्नता रहेको छ।
नेपाललाई औषधि प्रतिरोधी क्षयरोगीको संख्या उच्च भएको मुलुकका रुपमा विश्व स्वास्थ्य संगठनले समेत समावेश गरेको छ।