काठमाडौं- काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको छ। विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ।
सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ। यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो। १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ।
नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर हो। २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ। वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ।
ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ। वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१० पुगेको थिय । खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ।