काठमाडौं- त्रिभुवन विश्वविद्यालयबाट पारित नै विषय ब्याचलर इन मिडवाइफ्री साइन्स (बीएमएस) महाराजगञ्ज नर्सिङ क्याम्पसले भने एक वर्षदेखि पढाइ गरिरहेको पाइएको छ। परीक्षा आउने बेला पाठ्यक्रम नै विश्वविद्यालयले पास नगरेको पाइएपछि विद्यार्थीहरु आन्दोलित भएका छन्।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिन कार्यालयलाई ध्यानाकर्षण गराएपनि समस्या समाधानमा पहल नभएको विद्यार्थीहरुले बताएका छन्। विद्यार्थीहरुको सुनुवाइ नभएपछि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा दबाब कार्यक्रम थालिएको सभापति नोविना बस्नेतले जानकारी दिइन्।
विद्यार्थीहरुका अनुसार शैक्षिक वर्ष २०८०/८१ का लागि पिसिएल नर्सिङ गरेकालाई स्नातक तहको उक्त विषय पढाउन थालिएको थियो। सुरुमा उनीहरुले बीएमएसकै पाठ्यक्रम ठानेर बीएससी मिडवाइफ्रीको पाठ्यक्रम पढेको बुझिएको छ।
बीएससी मिडवाइफ्रीको पाठ्यक्रम पनि उनीहरु भर्ना भएको ६ महिना पछि मात्रै स्वीकृत भएको पाइएको छ। तीन वर्षे कार्यक्रमका लागि भनेर भर्ना भएका उनीहरु परीक्षा नजिक आएपछि मात्रै झस्किएका हुन्। आन्तरिक परीक्षाका क्रममा बीएससी मिडवाइफ्री देखेपछि आफूहरुले पढिरहेको विषय नभएको बताएका थिए।
उक्त विषय त्रिभुव विश्वविद्यालयको रेकर्डमै नभएको बल्ल जानकारीमा आएको स्ववियु अध्यक्ष बस्नेतले बताएकी छिन्। 'बीएमएस कार्यक्रमका लागि भर्ना भएका विद्यार्थीहरुको पाठ्यक्रम एक वर्ष बित्न लाग्दा पनि उपलब्ध छैन। विद्यार्थीहरुले बुझ्दै जाँदा बीएमएस भन्ने कार्यक्रम सञ्चालनको स्वीकृति विश्वविद्यालयमा पारित भएकै छैन,' उनले भनिन्, 'क्याम्पसले बीएसी मिडवाइफ्रीको पाठ्यक्रम पढाइरहेको छ। जुन कार्यक्रम पनि पहिलो ब्याचका विद्यार्थीहरु इनरोल भएको ६ महिना पछि मात्र स्वीकृत भएको छ।'
विश्वविद्यालयले प्रयोग गरेको पाठ्यक्रमसँग पहिलो ब्याचमा भर्ना भएका भएका विद्यार्थीहरुको इन्ट्री रिक्वाएरमेन्ट समेत नमिल्ने देखिएको छ। पिएसल नर्सिङबाट बीएमएसका लागि भर्ना लिइएका छन्। जुन तीन वर्षे कोर्स भनिएको थियो। बीएसी मिडवाइफ्री भने चार वर्षे कोर्स हो। प्लस टू पढेकाहरु त्यसमा भर्ना हुन पाउँछन्।
उक्त विषयलाई लिएर विद्यार्थीहरुले त्रिभुवन विश्वविद्याल, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलसमेत धाइसकेका छन्। ती निकायहरुले नियमसंगत नभएकाले मान्यता पाउने विषयमा सहज नहुने संकेत गरेको विद्यार्थीहरु बताउँछन्।
यसले एकातिर कार्यक्रमको वैधता र मान्यतामाथि नै प्रश्न उठेको अध्यक्ष बस्नेत बताउँछिन्। अर्कातिर विद्यार्थीहरुलाई शैक्षिक वर्ष नै खेर जाने पीर परेको छ। पढिरहेका विद्यार्थीको प्रयासलाई सम्बन्धित निकायले नसुनेपछि अहिले महाराजगन्ज नर्सिङ क्याम्पसका ४ सय भन्दा बढी विद्यार्थी नै आन्दोलित भएको बस्नेतले बताइन्।