काठमाडौं- चिकित्सा शिक्षा आयोगको तेह्रौं बैठक बैठक बस्दैछ। विभिन्न पाँच विषयमा छलफल गर्नेगरी बैठक बस्न लागेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रविणता प्रमाणपत्र तहका आशयपत्रहरूका लागि चिकित्सा शिक्षातर्फ नर्सिङ लगायत अन्य विधाका शैक्षिक कार्यक्रम सञ्चालन गर्न पेश हुन आएका नयाँ शिक्षण संस्थाहरूलाई आशयपत्र प्रदान गर्ने विषयमा छलफल हुने बताइएको छ।
यसैगरी नर्सिङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारको सम्बन्धमा कार्यदलले तयार गरेको प्रतिवेदन प्रस्तुत हुनेछ।
चिकित्सा शिक्षाका विभिन्न तह र विधाका आगामी शैक्षिक सत्र २०८१ का लागि शैक्षिक क्यालेण्डर तर्जुमाको विषयमा पनि कार्यसूचीमा राखिएको छ।
चिकित्सा शिक्षाको परीक्षा प्रणालीमा सुधार गर्नको लागि सूचना प्रविधि सम्बन्धी कार्यको लागि दुई वटा समानान्तर प्रणाली विकास गरी गोपनीयता र शुद्धतामा बढोत्तरी गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। र, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ बमोजिम आशयपत्र र सम्बन्धन सिफारिस प्रदान गर्दा लिइने शुल्क सम्बन्धी पनि छलफल हुने आयोगले जनाएको छ।
प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बस्न लागेको हो।