काठमाडौं- सरकारका तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक आपसमा छुट्टाछुट्टै सम्झौता भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आपसमा द्विपक्षीय सम्झौता भएको हो।
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
प्राडा बस्नेतका अनुसार सम्झौतामा विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज लगायतका विषयहरु रहेका छन्।
सम्झौतामा न्याम्सका उपकुलपति प्राडा बस्नेत, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा ज्ञानेन्द्र गिरी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले हस्ताक्षर गरेका छन्।
यो सम्झौताले तीन वटै प्रतिष्ठानको विकास र विस्तारसँगै दुर्गमका नागरिकको स्वास्थ्य सुधारमा कोशेढुंगा हुने डा बस्नेत बताउँछन्।
कर्णालीका उपकुलपति डा रावलले यो सम्झौतासँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधिसँगै अनुसन्धान लगायतका विषयलाई थप उचाइमा पुर्याउने बताए।