काठमाडौं- सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा कानुन विपरित उमेरहद नाघेका व्यक्तिलाई नियुक्ति गरेको छ।
मन्त्रिपरिषदको माघ २५ गतेको बैठकले महोत्तरीको मनरा सिसवा–१० घर भएका प्राडा परसुराम मिश्रलाई अध्यक्षमा नियुक्त गरेको थियो। तर मन्त्रिपरिषदले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति(गठन) आदेश २०८० विपरीत प्राडा मिश्रलाई अध्यक्षमा नियुक्ति गरेको तथ्य भेटिएको छ।
गठन आदेशमा ३५ वर्ष पूरा भएको र ६५ वर्ष उमेर ननाघेका व्यक्ति अध्यक्षमा नियुक्त हुन सक्ने व्यवस्था रहेको छ। तर सरकारले उक्त व्यवस्था विपरित ६७ वर्ष उमेरका प्राडा मिश्रलाई नियुक्त गरेको पाइएको हो। कानुनविपरित नियुक्त भएका प्राडा मिश्रले माघ २८ गते अध्यक्षको पत्र बुझिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
ती कर्मचारीका अनुसार प्राडा मिश्रले पत्र बुझे लगत्तै प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय राजविराज पुगेर कार्यभार सम्हालेको र त्यपछि पुन: काठमाडौंमा नै बसिरहेका छन्।
स्वास्थ्यखबरलाई प्राप्त प्राडा मिश्रको नागरिकताको प्रतिलिपि अनुसार उनको उमेर ६७ वर्ष पूरा भइसकेको छ। उनको जन्म मिति २०१३ साल असोज ६ गते रहेको नागरिकतामा उल्लेख छ। उनले २०३३ साल असोज २७ गते नागरिकता लिएका थिए।
तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा मन्त्रिपरिषदले कानुन विपरित उमेरहद पार गरेका व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेका हुन्। स्वास्थ्य मन्त्रालयले उक्त विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत जानकारी गराइसकेको छ। 'कानुनविपरितको उहाँको नियुक्त सम्भवत खारेज हुन्छ होला,' मन्त्रालयका एक कर्मचारीले भने।