काठमाडौं- नेपाल चिकित्सक संघ धरान शाखाका अध्यक्ष एवं बीपी कोईराला स्वास्थ्य प्रतिष्ठानका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रोशन कलवारलाई पक्राउ गरिएकोप्रति नेपाल चिकित्सक संघले विरोध गरेको छ।
सञ्चारकर्मीहरुलाई जुत्ताको माला लगाउने धम्की दिंदै गाली गलौज गरेपछि पक्राउ परेका कलवारलाई सुरक्षाकर्मीहरुबाट दमन भएको भन्दै संघले बुधबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
कलवारले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सुरक्षाकर्मीबाट गरिएको दमनप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघका महासचिव डा संजिव तिवारीले लोकतन्त्रमा शान्तिपूर्ण रूपले विरोध गर्ने सबैको अधिकारलाई सम्मान गर्न माग गरेका छन्।
सञ्चार माध्यम तथा सञ्चारकर्मीविरुद्ध गालीगलौज गर्दै पत्रिका जलाउन खोज्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नीका सर्जन तथा एसोसिएट प्रोफेसर डा रोशन कलवारलाई प्रहरीले नियन्त्रण लिएको थियो।
प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका डा कलवारले केही दिनयता सामाजिक सञ्जालमा गाली गलौज गर्दै आएका थिए।
उनले सञ्चारकर्मीहरुलाई जुत्ताको माला लगाउने धम्की दिंदै गाली गलैज गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय धरान र इलाका प्रशासन कार्यालय धरानमा आइतबार उजुरी समेत दिइएको थियो।