काठमाडौं- वीर अस्पतालमा एक महिनासम्म कोलोरेक्टल क्यान्सरको नि:शुल्क जाँच सुरु भएको छ। अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिना कोलेरेक्टल क्यान्सर सचेतना दिवस हो। वीर अस्पतालले सोही अनुसार एक महिनाभर सचेतनासँगै जोखिम समूहमा रहेकाहरुको नि:शुल्क जाँच सुरु गरेको हो।
वीर अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा पौडेलका अनुसार यो एक महिनाको अवधिमा ४५ देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको जाँच नि:शुल्क गर्न लागिएको हो।
कोलोरेक्टल क्यान्सरको समयमा नै पहिचान गर्न सकियो भने रोकथाम गर्न सकिने क्यान्सर भएकाले सचेतना महिनामा नि:शुल्क जाँच सेवा सुरु गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
'वीर अस्पतालले यो अवधिमा कोलोरेक्टल क्यान्सरका विषयमा सचेतनामुलक कार्यक्रम पनि गर्ने छ,' उनले भने, 'साथै नि:शुल्क जाँच सेवा पनि एक महिना नै चलाउने छ।'
कोलोरेक्टल क्यान्सरको जाँचका लागि कोलोनोस्कोपी गर्ने गरिन्छ। वीर अस्पतालमा कोलोनोस्कोपी गरेको दुई हजार पाँच सय पर्ने गर्छ।
कोलोरेक्टल क्यान्सर भनेको सामान्यतयाः ठूलो आन्द्रा र मलासय क्यान्सर हो। यो क्यान्सर विकसित राष्ट्रहरुमा बढि देखिएको छ भने मध्यम तथा निम्न आय भएका नेपाल जस्तो देशहरुमा पनि हरेक वर्ष बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन्।
नेपालमा बिरामीहरुमा धेरै देखिने क्यान्सरमध्ये कोलोरेक्टल पाँचौं नम्बरमा रहेको जानकारी दिँदै वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंले भनिन्, 'स्क्रिनिङ ओपीडी सुरु हुनु निकै राम्रो कुरा हो। यसले समयमा नै रोग पहिचान गर्दै उपचार गर्न ठूलो योगदान गर्छ।'
उनका अनुसार वीर अस्पतालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ ओपीडी लामो समयदेखिन नियमित रुपमा हुँदै आइरहेको छ। 'अहिले कोलेरेक्टल क्यान्सर स्क्रिनिङ सेवा पनि थप भएको छ। यो सुखद कुरा हो,' उनले भनिन्।