काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर उनले नेपालकै दुर्गम स्थान कर्णालीमा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्।
उनलाई त्यहाँ 'कि नोट स्पिकर'का रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्राडा जया मुखर्जी, प्राडा विक्रम पटेल (हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख), अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी थिए।
डा रावलको प्रस्तुतिपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आमजनको पहुँच पुर्या्उने गरेको योगदानका लागि प्रशंसा गरेका थिए। उनीहरुले प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा रावलले बताए।
डा रावलले ग्लोबल हेल्थ एन्ड सोसियल मेडिसिनको उक्त कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुका साथै दोस्रो सत्रमा हार्वर्डमा पढ्ने चिकित्साका विद्यार्थीसँग अन्तरक्रिया समेत गरेका छन्। अन्तरक्रियामा सहभागी धेरै विद्यार्थीले कर्णालीमा आएर ग्रामिण जीवनमा प्रतिष्ठानले पारेको प्रभाव बुझ्न चाहेको बताएका छन्। डा रावलले भने, 'विद्यार्थीहरुले दुर्गम क्षेत्रमा दिइरहेको चिकित्सा सेवाको प्रभावबारे बुझ्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने चाहना व्यक्त गरेका छन्। हामीले उहाँहरुलाई त्यसका लागि सहजीकरण गर्ने वचन दिएका छौं।'
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।
भनिएको थियो, 'यो अन्तरक्रियात्मक कार्यक्रममा डा मंगल रावलसँग ग्रामिण स्वास्थ्य समानता र विकट क्षेत्रमा रहेको मेडिकल कलेज चलाउनुको लक्ष्य, उपलब्धी, सञ्चालन र यसका चुनौतीका विषयमा जान्न पाइनेछ।' विद्यार्थीले ग्रामिण स्वास्थ्य समानताका लागि कर्णाली प्रतिष्ठानले गरेको योगदानका साथै त्यहाँ काम गर्नुका चुनौतीबारे बुझ्न पाइने बताइएको थियो। कार्यक्रमका लागि हार्वर्डमै स्नातकोत्तर गरिरहेका नेपाली युवा डा प्रदिश पौडेलले सहजीकरण गरेका थिए।