काठमाडौं- स्वाबस्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चौतर्फी दबाब परेको छ। टेरामक्स खरिद अनियमितता प्रकरणमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगको छानविनमा रहेका उनलाई वर्खास्त गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले औपचारिक रुपमा गरेको छ।
केन्द्रीय कमिटीको बैठकले सरकारले द्वैध चरित्र देखाएको ठहर गर्दै तत्काल वर्खास्त गर्न माग गरेको हो। निर्णयमा भनिएको छ, 'तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ।'
देश तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको एमालेको निष्कर्ष छ । 'सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ,' एमालेको बुझाइ छ।
गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास काण्डका मुख्य निर्णयकर्ताहरुलाई उन्मुक्ति दिइएको पनि एमालेले बताएको छ। यसैगरी सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाएको छ।
'यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ,' एमालेले भनेको छ।
एमालेले संसद्मा पनि यस विषयमा कुरा उठाइसकेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद रघुजी पन्तले झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन जानु दुर्दशापूर्ण दृश्य देख्नुपरेको भन्दै अख्तियारले बयान लिइसकेको मन्त्री पदमा बसिरहन नमिल्ने बताएका हुन्।
‘पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले बोलीमा चुक्दा राजीनामा दिनुभयो। उहाँको गल्ती केही होइन। केपी ओलीको कार्यकालमा उहाँले पदबाट राजीनामा दिनुभयो। पञ्चायतकालदेखि आजसम्मको नेपालको राजनीतिक इतिहासमा अख्तियारले बयान लिन बोलाएपछि कुनै पनि मन्त्री पदमा बस्दैन। झन्डा हल्लाउँदै मन्त्री बयान दिन जाने दुर्दशापूर्ण दृश्य यसैपालि देखियो,’ उनले भने।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताइसकेका छन्। महासमिति बैठकको समापन समारोहमा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्षित गर्दै यस्तो बताएका हुन्। नागरिकले सुशासन चाहेको बताउँदै उनले यस्तो उल्लेख गरेका हुन्। उनले भने, 'काम गर्न नसक्नेलाई विश्राम दिउँ । दाग लागेको मन्त्रीलाई घर पठाउँ।'