काठमाडौं- नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनर (युएसएमएलईको नतिजा रद्द गर्ने निर्णयबिरुद्ध दायर मुद्दामा प्रभावित नेपाली डाक्टरहरुको तर्फबाट अमेरिकी अदालतमा दायर मुद्दामा निराशा हात लागेको छ। अमेरिकाको वासिंटन डिसीमा चलिरहेको मुद्दामा युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने नेपाली चिकित्सकको माग अदालतले अस्वीकार गरेको हो।
अमेरिकाबाट प्रकाशित हुने खसोखासका अनुसार अमेरिकी समय बुधबार विहान ११ बजे प्रारम्भिक सुनुवाई गर्दै इमर्जेन्सी मोसन अदालतले अस्वीकार गरेको हो । तर वर्गीय कारबाही मुद्दाको रूपमा मुद्दा अघि बढाउनका लागि दायर गरिएको मोसन भने रेकर्डमा उल्लेख गरिएका कारणहरूले आरक्षित गरिएको बताइएको छ।
अदालतले नतिजा रद्द गर्ने आदेश दिन अस्वीकार गरेपछि उक्त निर्णयबाट प्रभावित नेपाली डाक्टरहरु निराश भएका छन् । मुद्दाको लिखित फैसला आउन भने बाँकी रहेको बताइएको छ।
बुधबार दुबै पक्षलाई न्यायाधिस क्रिस्टोफर कुपरका अघि उपस्थित गराइएको थियो। दुवै पक्षले आफ्ना दाबी पेश गरेका थिए। दुवै पक्षको तर्क सुनेपछि अदालतले नतिजा रोक्न युएसएमएलईलाई आदेश दिन अस्वीकार गरेको हो। उक्त निर्णयबाट प्रभावित नेपाली डाक्टरले युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा मुद्दा दायर गरेका थिए।
युएसएमएलईका तर्फबाट यसअघि ५७ पेजको लिखित जवाफ पेश गरिएको थियो। जहाँ हरेक प्रश्नको जवाफ दिन ९० सेकेण्ड लाग्ने भएतापनि नेपाली डाक्टरले ३० सेकेण्ड भन्दा कममा जवाफ दिएको पाइएको बताएको छ। नेपाली चिकित्सकले दायर गरेको मुद्दामा जवाफ दिँदै उसले अमेरिकाको अदालतमा पेश गरेको जवाफमा यस्तो बताएको हो।
नेपाली विद्यार्थीले अस्वभाविक रुपमा उच्च स्कोर ल्याएको एवं नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको बताएको थियो। जवाफमा भनिएको थियो, 'स्टेप १ मा ९५ प्रतिशत, स्टेप २ मा ९१ प्रतिशत, स्टेप ३ मा ९१ प्रतिशत जवाफ सही दिइएएको छ त्यो पनि २० सेकेण्डभन्दा कम समयमा।'
अदालतमा पेश गरेको जवाफमा युएसएमएलई परीक्षामा नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग मिलेको बताइएको छ। युएसएमएलईले नेपालमा मात्रै नभइ भारतका दुईवटा सेन्टर, जोर्डन, नेपाल र पाकिस्तानमा समेत नतिजा रद्द गरिएको जनाएको छ।
परीक्षाका गोप्य सामाग्रीहरु ठूलो मात्रामा नेपालमा सामाजिक सञ्जाल र सामाजिक सञ्जालका च्याटरुमहरुमा शेयर गरेको पाइएको उसको दाबी छ।