काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ।
मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा पाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष र सरकारी चिकित्सक संघका अध्यक्ष सदस्य छन् भने कानुन शाखाका उपसचिव सदस्यसचिव रहनेछन्।
गत भदौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरीय निर्णयबाट गठित समिति र नेपाल चिकित्सक संघका प्रतिनिधिहरुबीच सोही मितिमा भएको वार्तामा भएको सहमति अनुसार चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रकृया अगाडी बढाउने भनिएको थियो। सोही अनुसार पाँच सदस्यीय कार्यदल समिति गठन भएको हो।
कार्यदलले उक्त विषयमा अवधारण पत्र बनाई एक महिनाभित्र पेश गर्नुपर्नेछ।