धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।
आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन बिच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो। प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो। सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक आइतबारदेखि नियमित काममा फर्कने छन्।
दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ। आन्दोलनकारीलाई पूर्वाहग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ। भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने / नगराउने भनिएको छ। भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ।
उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाअघि बढाउन सक्ने आदेश दिएपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो। उक्त बैठकले फागुन ६ गतेदेखि बढुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेपनि आन्दोलनरत शिक्षक, कर्मचारीले प्रतिष्ठानका कायमुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले वार्ता गरेर लिखित सहमति जनाउनुपर्ने माग गरेपछि शनिबार वार्ता भएको हो।
सहमतिपत्रमा प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराल अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गरेका छन्।
वर्तमान परिस्थितिका कारण विद्यार्थीहरूको पठनपाठनमा परेको असरलाई गम्भीरतापूर्वक मनन गर्दै तत्कालै पठनपाठन सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनीकरण गरिने सहमतिमा उल्लेख छ। साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्न/नगराउन सबै सरोकारवाला पक्ष प्रतिबद्ध रहने बताइएको छ।
शिक्षक तथा कर्मचारीहरूको जारी भद्र अवज्ञा आजकै मितिबाट स्थगित गरि आ-आफ्नो नियमित कार्यमा संलग्न हुने सहमतिमा भनिएको छ। त्यस्तै विद्यार्थीहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागी हुने सहमतिमा उल्लेख छ।