काठमाडौं- उमेरले ४५ वर्ष लागेका गोपी बस्नेतले खुइलिएको कपाल लिएर हिँडेको २२ वर्ष भयो। २२-२३ वर्षकै युवा उमेरमा कपाल झर्न सुरु भएको थियो। त्यसपछि उनको एकाएक मिर्गौला फेल भयो। उनले ३१ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गराए।
मिर्गौला प्रत्यारोपणपछि उनलाई लाग्यो- नयाँ जीवन प्राप्त गरें। मान्छेले भन्ने गरेको 'एकबार'को जुनीबाट उनी अर्को बारको जीवन आइपुगे। मिर्गौला प्रत्यारोपण गरे पनि सामान्य जीवन बिताइरहेका उनले 'अर्को बार'को जुनी झन् खुलेर जिउन थाले। तर हरेक दिन ऐनामा हेर्दा देखिने कपालविहीन टाउकोले उनको मनोबलमा ह्रास ल्याउँथ्यो।
त्यसपछि उनले दृढ संकल्प लिए- कपाल प्रत्यारोपण गराएरै छाड्छु। आफूजस्तो स्वास्थ्य भएको व्यक्तिको मिर्गौला प्रत्यारोपण हुने-नहुनेबारे उनले इन्टरनेटतिर खोजे। चिनेजानेका त्यस क्षेत्रका व्यक्तिहरुसँग सोधे। उनले प्रत्यारोपण हुन सक्ने पाए। त्यसपछि धाउन थाले, नेपालका कपाल प्रत्यारोपण केन्द्र।
बस्नेत भन्छन्, 'सुरुमा कपाल प्रत्यारोपणका लागि नाम चलेका केही सेन्टरमा गएँ। त्यहाँका चिकित्सक मैले मिर्गौला प्रत्यारोपण गरेको बताएपछि धकाउनुभयो। यस्तो अवस्था छ, नगरे हुन्छ भन्न थाल्नुभयो। मैले डा मोहन भुसालका बारेमा पनि थाहा पाएको थिएँ। त्यसैले एकपल्ट मिराकलमा बुझिहेरौं न भन्ने लाग्यो। उहाँ सकारात्मक देखिनुभयो। केही जाँच गराएपछि मात्रै प्रत्यारोपणका विषयमा कुरा गर्न सकिने बताउनुभयो। जुन मलाई निकै मन पर्यो।'
काठमाडौंको चुच्चेपाटीमा मिराकल स्किन, हेयर एन्ड एस्थेटिक क्लिनिक खोलेको डेढ वर्षमा डा भुषालले ९७ वटाको कपाल प्रत्यारोपण गरिसकेका थिए। ९८औं प्रत्यारोपण नाम अनुसारकै 'मिराकल' देखाउनुपर्ने चुनौती सहितको आइलागेको थियो। आफूलाई आँटी भन्न रुचाउने डा भुषालले कपाल प्रत्यारोपण गराएरै छाड्ने बस्नेतको तीव्र आकांक्षा महसुस गरे। उनले चिकित्सकीय प्रोटोकल र चिकित्सा विज्ञानले दर्शाएका जोखिमका विषयमा बस्नेतसँग छलफल गर्दै गए। बस्नेतले आफू तयार रहेको बताएपछि डा भुषाललाई पनि चुनौती लिन सहज भयो।
गएको हप्ता डा भुषालको टिमले १४ घन्टा लगाएर बस्नेतको कपाल प्रत्यारोपण गर्यो। डा भुषाल भन्छन्, 'उहाँको कपाल रोप्ने तीव्र इच्छा रहेछ। उहाँको चाहना देखेपछि नाइँ भन्न सकिनँ। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा अरुभन्दा केही सजगता जरुरी हुन्छ। पहिले नै केही जाँच र सम्बन्धित विशेषज्ञको सल्लाह पनि लिनुपर्छ। प्रत्यारोपण गरिरहँदा पनि इमर्जेन्सी ह्यान्डिल गर्न सक्ने तयारी गर्नुपर्छ। हामी त्यसका लागि तयार भयौं। बिरामीको बलियो आत्मबलका कारण सहज भयो।'
आम व्यक्तिको जस्तो एनेस्थेसियाले पनि काम उनीमा गरेन। त्यसैले दुईपल्ट गरेर प्रत्यारोपण गर्ने तयारी डा भुषालको थियो। बस्नेतले एकैपल्ट गरिछाड्ने दृढता देखाए। त्यसपछि खाना समेत नखुवाएर सलाइन दिएर १४ घन्टासम्म प्रत्यारोपण चल्यो।
प्रत्यारोपण गर्ने मान्छेको स्वास्थ्य अवस्थाका बारेमा डा भुषालले केही निकटस्थ चिकित्सकसँग सल्लाह गरेका थिए। प्राय: चिकित्सकले थोरै तलमाथि पर्दा अहिले बिरामी पक्षले गर्ने लफडा सम्झाउँदै 'नगरे भइहाल्छ नि' भन्ने प्रतिक्रिया दिएको डा भुषाल बताउँछन्।
उनले थपे, 'यही कारण आफ्नो विधामा निपूर्ण चिकित्सकले कतिपय उपचारमा आँट नगरेको पाइन्छ। तर सही ट्र्याक फलो गर्ने र बिरामीलाई पनि उपयुक्त ढंगले काउन्सिलिङ गरेर बुझाएपछि त्यस्तो घटना कम हुने मेरो विश्वास छ। मैले मेडिकल साइन्स अनुसारका जोखिम उहाँलाई बताएँ। एक हप्ता छलफल गरियो। त्यसपछि ओटी रेडी गर्न थप सामाग्री र औषधि जुटाएँ र हामीले सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेका छौं।'
आइतबार एक हप्तापछि फलोअपमा आइपुगेका थिए कपाल प्रत्यारोपित बस्नेत। कपाल सहितको अनुहार ऐनामा हेर्ने सपना साकार भएकोमा दंगदास देखिन्थे। उनले आफ्नो कपाल प्रत्यारोपण गर्न मिराकलको टिमले निकै नै मिहिनेत गरेको बताए। उनले थपे, 'उहाँहरुले मेरो स्वास्थ्यलाई लिएर दिएको चासो देखेपछि म ढुक्क थिएँ। प्रत्यारोपण गराइरहँदा पनि कुनै डर लागेन। किनभने उहाँहरु आफू ढुक्क भएर मात्रै प्रत्यारोपणका लागि अघि बढ्नुभएको थियो। त्यसैले आज स्माइल फेस लिएर आइपुगेको छु।'
प्रत्यारोपणमा डा भुसाललाई डा क्षितिज्मा गिरी र विजया केसीले एनेस्थेसियामा सघाएका थिए। त्यसैगरी मिर्गौला रोग विशेषज्ञ डा सन्तोष क्षेत्री, मुटुरोग विशेषज्ञ डा अभिषेक ठाकुर, छाला तथा यौनरोग विशेषज्ञ डा प्रिया भुषालले आ-आफ्नो तर्फबाट सघाएको डा भुषाल बताउँछन्। नर्सिङ टिममा भने सविना गुरुङ, समीक्षा गौतम र ज्ञानु घले रहेका थिए।