काठमाडौं- युएसएमएलईले समग्र नेपाली चिकित्सा क्षेत्रमाथि नै प्रश्न उठ्नेगरी 'सोलोडोलो' सूचना जारी गरेको भन्दै हस्ताक्षर अभियान थालिएको छ। डा रामु खरेलले चेन्ज डट ओआरजी)मार्फत् उक्त अभियान सुरु गरेका हुन्।
युएसएमएलईको विज्ञप्तिले सम्पूर्ण नेपाली चिकित्सावर्गलाई अपमानित र दु:खी तुल्याएको उल्लेख गर्दै ध्यानाकर्षण भएको जनाइएको छ।
भनिएको छ, 'युएसएमएलईले जारी गरेको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यहाँहरुको अनुसन्धानलाई पूर्ण समर्थन गर्छौं र हामी यो कुरामा सहमत छौं कि युएसएमएलईलाई मर्यादित बनाउनुपर्छ । तर, पूरा नेपाललाई नै मुछ्नेगरी निकालिएको युएसएमएलईको विज्ञप्तिले हजारौं नेपाली चिकित्सकको क्षमतालाई नजरअन्दाज गरेको गरेको छ।'
विज्ञप्तिले सम्पूर्ण नेपाली चिकित्सावर्गलाई अपमानित र दु:खी तुल्याएको पनि त्यहाँ उल्लेख छ। उक्त अनियमिततामा संलग्न प्रत्येक परीक्षार्थीमाथि अनुसन्धान गरिनुपर्ने बताउँदै युएसएमएलई गरेका समग्र नेपाली चिकित्सकमाथि नै हिलो छ्याप्ने काम स्वीकार्य नहुने बताइएको छ।
भनिएको छ, 'नेपालबाट शिक्षा हासिल गरेका सवै चिकित्सक दोषी छैनन् भन्नका लागि हामीले हस्ताक्षर अभियान थालेका हौं।' युएसएमएद्यईको विज्ञप्तिले केही देशहरु नै शैक्षिक बदमासीमै संलग्न हुनसक्ने भाष्य निर्माण गरेको बताइएको छ। 'यो किसिमको देशलाई नै बेइज्जत गर्ने भेदभावले नेपाली चिकित्सकहरुको मेहनत, दक्षता र उपलब्धीलाई छायाँमा पारेको छ। यो कुरा बुझ्न जरुरी छ कि केही गलत नियतका व्यक्तिहरुको कारणले सवैलाई एक नजरले हेरिनु हुँदैन,' त्यहाँ भनिएको छ।
यो किसिमको आरोपले अमेरिकामा अभ्यास गरिरहेका समग्र नेपाली चिकित्सकहरुलाई नै नकारात्मक प्रभाव पारेको समेत उल्लेख गरिएको छ।