काठमाडौं- मानव अधिकार आयोगले मासु पसल र अस्पतालमा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जीवाणु हुन सक्ने जनाएको छ। नगद पैसा (नोट तथा सिक्का) निर्मलीकरण नगरी बजारमा आउँदा त्यसबाट विभिन्न रोग फैलन गई मानिसको स्वास्थ्यको अधिकार हनन् भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक समेतलाई सफा नोट सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न सिफारिस गरेको छ।
'नगद पैसा (नोट तथा सिक्का) निर्मलीकरण नगरी बजारमा आउँदा त्यसबाट विभिन्न रोग फैलन गई मानिसको स्वास्थ्यको अधिकार प्रचलनमा अवरोध आउने भएकोले त्यसको लागि आवश्यक पहल गरीपाऊँ भनी दर्ताहुन आएको उजूरी माथि अनुसन्धान हुँदा त्यस्ता निर्मलीकरण नगरिएका नगद पैसाको कारोवारबाट नोट तथा सिक्कामा विभिन्न किटाणु, विषाणु तथा परजिवी हुने, त्यसबाट छालामा हुने पिलो खटिरो, फुड पोइजन हुने, वान्ता हुने, टाइफाइड झाडापखाला जस्ता रोग हुने एवम् मासु पसल र अस्पतालमा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जीवाणु हुने गरेको छ' आयोगको निर्णयमा भनिएको छ, 'पैसाको नगद कारोबारले नागरिकको स्वास्थ्य अधिकार प्रचलनमा पार्नसक्ने नकारात्मक प्रभाव रोक्न, सफा नोट सम्बन्धमा जारी भएका नीति निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्न, वित्तीय जननचेतना फैलाउने लगायतका कार्यहरू गर्नलाई सिफारिस गरिएको छ।'
यस्तै आयोगले मानसिक स्वास्थ्यको उपचार गराउनुपर्ने एक महिलालाई दुव्र्यसनीलाई राख्ने सुधार केन्द्रमा राखी निजको स्वास्थ्यको अधिकार हनन गरेको भनी आयोगमा दर्ताहुन आएको उजूरीउपर छानबिन गरि तत्काल उद्धार गरी विशेषज्ञ स्वास्थ्य संस्थामा उपचार गर्न आदेश दिएको जनाएको छ। आयोगको सो सिफारिस कार्यान्वयन भएकोसमेत बताइएको छ।