काठमाडौं- करिब दुई सातादेखि आंशिक रुपमा बन्द रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ।
प्रतिष्ठानका कामु उपकुलपति डा.प्रल्हाद कार्कीले गत पुस २९ गतेदेखि बढुवाको माग गर्दै प्रतिष्ठानमा कार्यरत्त केही कर्मचारीहरुले बन्द गराएको ओपिडी सेवा गत आइतबारदेखि सुचारु भएको स्वास्थ्य खबरलाई बताए।
यद्यपि आन्दोलनरत बाहेक केही स्वास्थ्यकर्मीहरुले आंशिक रुपमा ओपिडी सेवा प्रदान गर्दै आइरहेका थिए। लामो समयदेखि बढुवाको प्रक्रिया रोकिएको तथा कामु उपकुलपति डा कार्कीले बढुवाका लागि समन्वयकारी भूमिका खेल्न नसकेको भन्दै प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका थिए।
प्रतिष्ठानका कर्मचारीहरुले तत्कालै बढ्वा प्रक्रिया कार्यन्वयन गराउनका लागि उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको मागसहितको मुद्दासमेत दर्ता गराएका थिए। उक्त मागमा बढुवा प्रक्रिया तत्कालका लागि नगराउनका उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो।