काठमाडौं- तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल)को नर्सिङ कार्यक्रम सञ्चालनमा थिए। मेडिकल कलेजले पीसीएलसहित त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए।
तर २०७८ मंसिरदेखि भने मेडिकल कलेजहरुले पिसिए तहमा नर्सिङ कार्यक्रम सञ्चालन गरेका छैनन्। मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार पीसीएल तहको कार्यक्रम सञ्चालन गर्न नपाएका हुन्। आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको जनाएको छ।
तर मेडिकल कलेज सञ्चालकहरु भने ऐनको उक्त दफाले मेडिकल कलेजहरुलाई पीसीएल कार्यक्रम सञ्चालनमा रोक नलगाएको बताउँदै आइरहेका छन्। उनीहरुले विश्वविद्यालय र प्रतिष्ठानमा पीसीएल कार्यक्रम सञ्चालन नहुने तर मेडिकल कलेजका विषयमा ऐनले कहीँ कतै पढाउन नपाउने भनेर नलेखेको बताउँदै आइरहेका छन्।
के छ ऐनको दफा ४२ मा?
उक्त दफामा प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने विषय रहेको छ। जसमा ऐन प्रारम्भ भएपछि विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम सञ्चालन गर्न अनुमति दिने छैन भनेर उल्लेख गरिएको छ। यस्तै ऐन प्रारम्भ हुँदाका बखत कार्यक्रम सञ्चालन गरिरहेका विश्वविद्यालय वा प्रतिष्ठानले यो ऐन प्रारम्भ भएको पाँच वर्षभित्र त्यस्तो कार्यक्रम फेज आउट गर्नु पर्ने पनि उल्लेख छ।
ऐनले विश्वविद्यालय र प्रतिष्ठानले सम्बन्धन र कार्यक्रम चलाउन नपाउने भनेको तर मेडिकल कलेजहरुको हकमा चलाउन नपाउने भनेर उल्लेख नगरेको भन्दै मेडिकल कलेजहरुले पीसीएल तहका कार्यक्रम सञ्चालन हुनुपर्ने बताउँछन् निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संस्था 'एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज'का अध्यक्ष डा ज्ञानेन्द्र कार्की।
'ऐनले मेडिकल कलेजहरुमा पीसीएल कार्यक्रम चलाउन नपाउने भनेर कहीँ लेखिएको छैन। तर यहाँ कानुनको आफ्नै ढंगल व्याख्या गर्दै कार्यक्रम नै चलाउन रोक लगाइएको छ,' उनले भने, 'ऐनले विश्वविद्यालय र प्रतिष्ठानमा मात्र कार्यक्रम नचलाउ भनेको हो। मेडिकल कलेजहरु भनेको शिक्षण संस्था हुन्। उनीहरुले विश्वविद्यालय र प्रतिष्ठानबाट पीसीएलको सम्बन्धन नपाए पनि सीटीईभीटीजस्ता निकायबाट कार्यक्रम चलाउन पाउँछन्।'
उनले उक्त दफामा उल्लेख भएको विश्वविद्यालय र प्रतिष्ठानहरु कोको हुन् भन्ने विषयमा ऐनकै दफा २ मा परिभाषित गरिएको र मेडिकल कलेजहरु भनेको के हो भनेर पनि छुट्टाछुट्टै परिभाषित गरेको पनि जानकारी दिए।
के छ दफा २ को परिभाषामा?
“विश्वविद्यालय” भन्नाले चिकित्सा शिक्षा प्रदान गर्न, गराउन प्रचलित कानून बमोजिम स्थापित विश्वविद्यालय सम्झनु पर्छ।
“प्रतिष्ठान” भन्नाले चिकित्सा शिक्षा प्रदान गर्न प्रचलित कानून बमोजिम स्थापित प्रतिष्ठान सम्झनु पर्छ।
“शिक्षण संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापित चिकित्सा शिक्षा प्रदान गर्ने मेडिकल कलेज वा शिक्षण संस्था सम्झनु पर्छ र सो शब्दले शिक्षण संस्था सञ्चालन गर्न दिइएको विस्तारित कार्यक्रमको अनुमतिलाई समेत जनाउँछ।
डा कार्की ऐनको दफा ४२ र दफा २ अध्ययन गर्दा मेडिकल कलेजको हकमा पीसीएल कार्यक्रम रोक्नुपर्न कुनै कारण नभएको बताउँछन्। उनले विश्वविद्यालय र मेडिकल कलेजलाई एउटै डालोमा राखेर हेर्न नुहने भन्दै मेडिकल कलेजमा पीसीएलका कार्यक्रम चलाउन दिनुपर्नेमा जोड दिए।
'विश्वविद्यालय र मेडिकल कलेज एउटै हुँदै होइनन्। विश्वविद्यालयमा पीसीएल कार्यक्रम फेज आउट गर्ने निर्णय धेरै पहिला नै भएको हो। त्यही अनुसार पहिलाका आइए, आइकम जस्ता कार्यक्रम फेज आउट भएर प्लसटुहरु चलेका हुन्। अब प्लसटु चलाउने शिक्षण संस्थामा ब्याचलर र मास्टर्स तहको कार्यक्रम नपढाउँ भन्न मिल्छ त। कलेजहरुले त सम्बन्धन लिएर चलाउने हो। नर्सिङको हकमा पनि त्यही हो। विश्वविद्यालय अन्तर्गत रहेका नर्सिङको पीसीएल कार्यक्रम ढिला फेज आउट भयो भन्दैमा मेडिकल कलेजको कार्यक्रम नै खोस्न त मिलेन नि,' उनले भने।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले उक्त विषयमा ऐन र अन्य कानुन अध्ययन गरेर थप प्रतिक्रिया दिने बताए।