काठमाडौं - प्रत्येक वर्ष जनवरी ३० का दिन विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस मनाउने गरिन्छ। यस रोग बारे जनचेतना बढाउन यो दिवस मनाउने गरिएको हो। नेपालले पनि विभिन्न कार्यक्रमहरु सहित यो दिवस मनाउँदै आएको छ।
के हो उपेक्षित उष्णप्रदेशीय रोग ?
विश्व स्वास्थ्य संगठनका अनुसार उष्णप्रदेशीय तथा समसितोष्णप्रदेशीय देशहरुमा व्याप्त विभिन्न २१ प्रकारका रोगहरुलाई उष्णप्रदेशीय रोग भनिन्छ। बेवास्ता गरिएका रोगहरुलाई उपेक्षित रोग भनिन्छ। उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्।
कुनै कालखण्डमा यी रोगहरु उपेक्षित थिए। यो रोगको बारेमा कुनै पनि किसिमको बहस तथा वकालत हुँदैन थियो। गरिबी, अशिक्षा र अज्ञानतासँग जोडिएर हेर्ने गरिन्थ्यो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यी रोगहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वकालत सुरु गर्यो। र, उष्णप्रदेशीय देशहरुमा पाइने रोगहरुको सूचीकृत समेत गर्यो।
यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
नेपालले हासिल गरेको प्रमुख उपलब्धिहरु
खस्रे रोगलाई सन् २०१८ मा नै निवारण गरिएको घोषणा गरी विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भइसकेको छ। पछिल्लो दुई दशकमा कालाजार बिरामीको संख्यामा कमी आएको छ। हात्तिपाइले इन्डेमिक जिल्लामध्ये ५३ जिल्लामा संक्रमणको प्रसार सम्बन्धी अध्ययनको सफलता पश्चात आम औषधि सेवन बन्द गरिसकिएको तथा ४९ जिल्लाहरुमा यसको रुग्णता मापन समेत भइसकेको छ ।
निवारणमा देखिएका चुनौती
कालाजार रोगको तथ्यांकहरु नयाँ जिल्लाहरुमा समेत पाइएकाले सन् २०२६ सम्ममा यसको निवारणका लागि चुनौती देखिएको छ।कालिकोट जिल्लामा कालाजार संक्रमणको दर उच्च रहेको छ। त्यस्तै सुर्खेत, बैतडी, बाजुरा, कैलाली,जस्ता जिल्लाहरुमा अन्य जिल्लामा अन्यमा भन्दा यस रोगका बिरामीहरुको संख्या अझै पनि बढी रहेको छ।
झापा, महोत्तरी, सर्लाही, रौतहट, धनुषा, रसुवा र कपिलवस्तु गरी ७ जिल्लाहरुमा हात्तिपाइले रोगको समुदायमा संक्रमण हुने क्रमलाई रोक्न नसकिएको अवस्था छ।
केही जिल्लाहरुमा कुष्ठरोगका बिरामीहरु प्रति १० हजार जनसंख्यामा १ हजारभन्दा बढी बिरामीहरुमा देखिएको अवस्था छ।
डब्लुएचओले सूचीकृत गरेका २१ उपेक्षित उष्णप्रदेशीय रोगहरु
१. डेंगु र चिकनगुनिया
२. रेबिज
३. ट्रकोमा (खस्रे रोग)
४. बुरुली अल्सर
५. यज
६. कुष्ठरोग (लेप्रोसी)
७. चागस रोग
८. हयुमन अफ्रिकन ट्रीपानोसोमियासीस (स्लीपिंग सिकनेस)
९. कालाजार (भिसेरल लेशम्यानियासिस)
१०. टेनियासिस र न्यूरोसिस्टीसर्कोसिस
११. ड्राकुनकुलियासिस (गिनिया वोर्म रोग)
१२. इसिनोकोकोसीस
१३. खाना जन्य ट्रीम्याटोडीयासिस
१४. हात्तीपाइले (लिम्फ्याटिक फाइलेरियासिस)
१५. ओंकोसर्सियासिस (रिभर अन्धोपना)
१६. सिस्टोसिसोमियासिस
१७. माटोबाट सर्ने जुका
२०१७ मा नयाँ थप गरिएका रोग
१८. माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरु डिप माइकोसेस
१९. सर्पदंश
२०. लुतो र अरु इक्टोपारासाइट
२१. नोमा
यी २१ मध्ये नेपालमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, टेनियासिस र न्यूरोसिस्टिसरकोसिस, लुतो र अरु इक्टोपारासाइट, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरु डिप माइकोसेस जस्ता उपेक्षित उष्णप्रदेशीय रोगहरु समस्याको रुपमा रहेका छन्।
यसमध्ये पनि कालाजार, कुष्ठरोग, हात्तीपाइले, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका र ट्रकोमा (खस्रे रोग) नेपालमा पाइने मुख्य आठ उपेक्षित उष्णप्रदेशीय रोगहरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यी रोग निवारणका लागि सरकारले बजेटको व्यवस्था गरी विभिन्न कार्यक्रम समेत गर्ने गरेको छ। ट्रकोमा रोग भने निवारण भइसकेको छ।
नेपालमा पाइने मुख्य उपेक्षित उष्णप्रदेशीय रोगहरुको अवस्था
१. कालाजार
पछिल्लो दुई दशकमा कालाजार बिरामीको संख्यामा कमी आई दुई हजारबाट दुई सयमा झरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यद्यपि नयाँ जिल्लाहरुबाट बिरामीको विवरण प्राप्त भइरहेको र केही जिल्लामा यो प्रकोपको रुपमा समेत देखा परेको छ। कालाजारलाई जनस्वास्थ्यको समस्याको रुपमा निवारण गर्ने सरकारको लक्ष्य छ। सरकारले यातायात खर्च सहित औषधि, रोग निदान र उपचारमा आवश्यक सामग्री नि:शुल्क प्रदान गर्दै आएको छ। ओखलढुंगा, कालिकोट जिल्लामा अझै पनि कालाजारको प्रकोप छ।
२. कुष्ठरोग
सन् २०१० मा यो रोगलाई राष्ट्रियस्तरबाट जनस्वास्थ्यको समस्याको रुपमा निवारणको घोषणा गरिएको थियो। गत आर्थिक वर्ष २०७७/७८ मा शून्य दशमलव ७३ प्रिभ्यालेन्स दर र २ हजार १७३ कुष्ठरोग लागेकाको पहिचान गरिएको महाशाखाले जनाएको छ। कुष्ठरोग सर्ने प्रक्रिया अवरुद्ध गर्ने लक्ष्य रहेको सकारले उपचार सकिएपछि यातायात खर्च सहित कुष्ठरोग विरुद्धको औषधि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।
३. हात्तीपाइले
हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याको रपमा निवारण गर्ने सरकारको लक्ष्य छ। महाशाखाका अनुसार ६३ इन्डेमिक जिल्लामध्ये ५३ जिल्लामा ट्रान्समीसन असेस्मेन्ट सर्वेपछि आम औषधि सेवा बन्द गरिएको छ। र, १० जिल्लामा अहिले पनि आम औषधि सेवन जारी छ। झापा, मोरङ, बारा, लमजुङ, बागलुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधि सेवन बन्द हुन सकेको छैन।
सरकारले डीइसी र अल्बेन्डाजोल प्रयोग गरेर आम औषधि सेवन गराइरहेको छ। यसवर्षदेखि भने पाँच जिल्लामा नयाँ औषधि आइभरमेक्टिन पनि थप गरी तीन थरिका औषधि सेवन गराइने महाशाखाजाले जनाएको छ। यी औषधिहरु सरकारले निशुल्क उपलब्ध गराउँछ।
४. डेंगु
नेपालमा सन् २००४ मा डेंगुको पहिलो केस पत्ता लागेको थियो। त्यस यता वर्षेनी डेंगुका बिरामीहरु बढीरहेका छन् भने केही जिल्लामा यो प्रकोपको रुपमा समेत देखिने गरेको छ। ६५ भन्दा बढी जिल्लाहरुमा अझै पनि डेंगुको समस्या देखिएको छ।
५. रेबिज
रेबिज रोग सरकारले प्राथमिकीकरण गरेको सूचीको दोस्रो नम्बरमा छ। यो रोग शतप्रतिशत रोकथाम गर्न सकिने रोग पनि हो। रेबिज लागेको संक्रमित जनावरले टोक्दा या उनीहरुको र्याल चोटपटक वा घाउँमा पर्दा सर्छ। स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा रेबिज हुन्छ। तर ९९ प्रतिशत रेबिज कुकुरको टोकाइका कारण हुन्छ। गत आर्थिक वर्षमा ५२ हजार ६१० कुकुरको टोकाइ महाशाखामा रिपोर्ट भएको थियो। कुकुरको टोकाइबाट मानिसमा हुने रेबिज निवारण गर्ने सरकारको लक्ष्य छ। रेबिज निवारणका लागि सरकारले निशुल्क रेबिज खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
६. सर्पदंश
नेपालमा पाइने मुख्य उपेक्षित उष्णप्रदेशीय रोगमध्ये सर्पदंश पनि एक हो। यसको नियन्त्रणका लागि प्रतिविच उपचार र नियन्त्रण सम्बन्धी जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको महाशाखाले जनाएको छ।
७. माटोबाट सर्ने जुका
माटोबाट सर्ने जुकाको समस्या नेपालमा हाल नियन्त्रणमा छ। बालबालिका र गर्भवतीलाई जुकाको औषधि खुवाउने सरकारको कार्यक्रम छ। यसका लागि सरकारले जुकाको औषधि निशुल्क उपलब्ध गराउँदै आएको छ।
८. ट्रकोमा (खस्रे रोग)
यो रोग नेपालमा हाल निवारण भइरहेको छ। सन् २०१८ मा जनस्वास्थ्यको समस्याको रुपमा निवारण भएको डब्लुएचओले मान्यता समेत दिइसकेको छ।