काठमाडौं- खुला रुपमा बिक्री-वितरण हुँदै आइरहेको कटन क्याण्डीमा अखाद्य रङ प्रयोग हुने गरेको तथ्य फेला परेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभिन्न रङहरुमा बिक्री-वितरण हुने गरेको कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडामाइन बी’ प्रयोग हुने गरेको पाइएको हो।
उक्त रङ रोडामाइन बीको प्रयोगले मानव स्वास्थ्य गम्भीर असर पार्ने भएकोले विभागले कटन क्याण्डीको प्रयोग नगर्न/नगराउनका लागि सार्वजनिक सूचना जारी गरेको छ। यदि यस प्रकारको खाद्य पदार्थको प्रयोग तथा बिक्री-वितरण नरोकिएमा खाद्य ऐन नियम बमोजिम कारबाही गरिने चेतावनी विभागले दिएको छ।