काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्। उनले प्रतिष्ठानका कामु उपकुलपति डा प्रह्लाद कार्कीलाई आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन्।
भेटमा डा कार्कीले धरान पुगेर छिट्टै बैठक बोलाउने जानकारी दिएका छन्। 'कार्यकारिणी समितिमा मन्त्रालयले एक जना सदस्य मनोनित समेत गरिसकेकाले उहाँलाई समेत धरामा बोलाएर बैठक बस्ने तयारी भएको छ,' प्रधानमन्त्रीसँगको भेटमा उपकुलपति डा कार्कीले भने।
प्रधानमन्त्रीले उपकुलपति डा कार्कीलाई ‘पदाधिकारीलाई काठमाडौँ नबोलाउन र धरान गएर कार्यकारिणी समितिको बैठक बोलाई अहिले देखिएको समस्या समाधानका लागि काम अगाडि बढाउन आग्रह गरेका थिए। भेटमा प्रधानमन्त्री दाहालले नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजान पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
यसका साथै उपकुलपति डा कार्कीले आइतबार नै मुख्य सचिव वैकुण्ड अर्यालसँग पनि प्रतिष्ठानमा हाल देखिएको समस्या र त्यसको समाधानका विषयमा छलफल गरेका थिए।
प्रतिष्ठानमा हाल देखिएको समस्या र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको प्राडा कार्कीले जानकारी दिए। उनले छिट्टै कार्यकारिणी समितिको बैठक बोलाउने र कर्मचारीले उठाएका विषयहरुलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताए।
'अबको केही दिनमा कार्यकारिणी समितिको बैठक बस्ने छ,' उनले भने, 'त्यसपछि सिनेट बैठक समेत माघको अन्तिमसम्ममा बस्ने छ।' उनले कुनै पनि समस्याको वैधानिक र प्रतिष्ठानको आर्थिक अवस्थाले धान्न सक्ने समाधानको निमित्त आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए।
प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूको लामो समयदेखीको बढुवा सम्बन्धी विषय विवादमा परेको छ। जसका कारण अस्पतालको सेवा प्रवाहमा समेत असर परिरहेको छ।
प्रतिष्ठानको कार्यकारिणी सदस्यमा पन्थी
यसैबीच प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेतले प्रतिष्ठानको कार्यकारिणी सदस्यमा मन्त्रालयका उपसचिव राजेश पन्थीलाई मनोनित गरेका छन्। मन्त्रालयले केही दिन अघि नै पन्थीलाई सदस्यमा मनोनित गरेको हो। पन्थीले आफूले सदस्यको पत्र पाइसकेको र केही दिनभित्र धरानमा बैठकका लागि जाने तयारी भएको बताए।
प्रतिष्ठानको कार्यकारिणी समितिको अध्यक्ष उपकुलपति रहने छन्। समितिमा शिक्षाध्यक्ष, मन्त्रालयका प्रतिनिधि, अस्पताल निर्देशक, प्रतिष्ठानका विभागीय प्रमुखहरुमध्येबाट मनोनित दुई जना सदस्य रहने व्यवस्था छ भने रजिष्ट्रार सदस्य सचिव रहनेछन्।