काठमाडौं- नेपालकै जेठो तथा केन्द्रीयस्तरको अस्पताल वीरमा पहिलो पटक टेट्रालोजी अफ फ्यालट नामक मुटुको जटिल प्रकारको शल्यक्रिया गरिएको छ। शल्यक्रिया पश्चात् ३१ वर्षीय पुरुष बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भइसकेका छन्। शल्यक्रिया पश्चात् मुटुको सम्पूर्ण जाँचमा बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाको नेतृत्वमा वीर अस्पतालमा उक्त शल्यक्रिया सम्पन्न भएको हो। एनेस्थेसिया तथा सर्जन सहित शल्यक्रिया करिब ७ जना चिकित्सकको नेतृत्वमा भएको थियो।
वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा किरण श्रेष्ठका अनुसार जन्मजात रुपमा मुटुमा हुने भिन्न प्रकारका ४ समस्या हुँदा यस प्रकारको शल्यक्रिया गर्ने गरिन्छ। सामान्यतया मुटुको अन्य समस्यामा कुनै एक प्रकारको मात्रै समस्या हुने गरेको पाइन्छ। तर यस प्रकारको समस्यामा भने मुटुको भिन्न भिन्नै ४ प्रकारको समस्यामा हुने भएकोले अन्य प्रकारका मुटुको शल्यक्रिया भन्दा यो भिन्न भएको डा श्रेष्ठ बताउँछन्।
शल्यक्रियामा के गरियो
यस्तो समस्यामा पहिलो भनेको मुटुको भेन्ट्रिकल वालमा समस्या रहेको हुन्छ। जसलाई भेन्ट्रिकल सेप्टल डिफेक्ट पनि भन्ने गरिन्छ। त्यस्तै मुटुबाट रगत बाहिर निस्किई फोक्सोमा जाने बाटो अर्थात् पल्मोनरी भाग साँगुरिने। सामान्यतया मुटुको बायाँ भागले दायाँ भागको भन्दा बढी काम गर्नुपर्ने हुन्छ, त्यसले गर्दा सामान्य अवस्थामा मानव मुटुको बायाँ भाग बाक्लो तथा दायाँ भाग पातलो हुने गर्छ। तर यस्तो समस्या हुँदा यसको ठीक विपरीत हुने गर्छ। शरीरभरि रगत प्रवाह गर्ने मुख्य धमनी मुटुको बायाँ भागबाट निस्किनुपर्नेमा यस प्रकारको समस्या हुँदा दायाँ तथा बायाँ दुवैतर्फबाट निस्किने गर्छ।
मुटुमा रहेका यी चारै प्रकारका समस्यालाई हटाउनका लागि यस प्रकारको सर्जरी गरिने डा श्रेष्ठ बताउँछन्। एकैपटकको उपचारमा मुटुमा रहेका यी चारै प्रकारका समस्यालाई निको गराउनका लागि गरिने भएकोले यो जटिल तथा दुर्लभ प्रकृतिको शल्यक्रिया भएको डा श्रेष्ठले जानकारी दिए।
धेरै प्रकारको समस्यालाई एकै प्रकारको शल्यक्रियाको माध्यमबाट निको बनाउनपर्ने भएकोले शल्यक्रियाका क्रममा मुटुलाई लामो समयसम्म बन्द गर्नुपरेको थियो। शल्यक्रियाका क्रममा मुटुलाई जति लामो समयसम्म बन्द गरिन्छ, त्यति नै जोखिमको मात्रा पनि बढ्दै जाने गर्छ। शल्यक्रियाका लागि मुटुलाई करिब ४५ मिनेटसम्म बन्द गरिएको थियो, उक्त अवधिमा कृत्रिम रुपमा श्वासप्रश्वासको व्यवस्थापन गरिएको डा श्रेष्ठ बताउँछन्।
किन आउँछ यस्तो समस्या?
मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनामा बच्चाको शरीरको सम्पूर्ण अंगहरुको विकास भइसकेको हुन्छ। ३ महिनाभित्र मुटु पनि बनिसकेको हुन्छ। गर्भ रहेको ३ महिनाभित्र कुनै पनि बाह्य तत्वहरुले अंग निर्माणमा अवरोध गरेको अवस्थामा यस्तो समस्या आउन सक्छ। बाहिरी रुपमा रेडियसनको प्रभाव तथा विभिन्न प्रकारका इन्फेक्सनका कारण बनिरहेको मुटु निर्माणमा समस्या आउन सक्छ।
शल्यक्रियापश्चात् तीन महिना, ६ महिना र एक वर्षमा फलोअपका लागि मुटुको इको गर्नुपर्ने चिकित्सकको भनाइ छ। नेपालको गंगालाल तथा मनमोहन कार्डियो सेन्टरमा यस अगाडि नै यस प्रकारको शल्यक्रिया भएपनि वीर अस्पतालमा भने पहिलोपटक भएको हो। बालबालिकामा के कारणले यस प्रकारको समस्या देखिन्छ भन्ने वास्तविक तथ्यहरु हालसम्म पनि फेला परेको छैन।
यद्यपि यस प्रकारको समस्या जीन तथा क्रोमोजोमहरुमा परिवर्तन हुँदा आउने विज्ञहरु बताउँछन्। यस प्रकारको समस्यामा उपचार नगरिएको अवस्थामा यसले रगत जम्ने तथा मस्तिष्कमा स्ट्रोक हुने जस्ता समस्या निम्त्याउन सक्छ।