काठमाडौं- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा कुझाउनुपर्ने दस्तुर हेरफेर भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा बुझाउनुपर्ने दस्तुर हेरफेर गरेर सार्वजनिक गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो।
अब सर्जिकल विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले प्रतिवर्ष १५०० बुझाउनुपर्नेछ।
सर्जिकल बाहेक अरु विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले १ हजार १००, एमबीबीएस, बिडिएस लगाएतले ७५० बुझाउनुपर्नेछ।
चिकित्सक बाहेकका स्वास्थ्यकर्मीको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो भन्दा माथिकाले ६५०, सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको योग्यता हासिल गरेकाले ५००, सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र वा सो सरहको योग्यता हासिल गरेका स्वास्थ्यकर्मीले ४०० र
सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र तह भन्दा कम योग्यता हासिल गरेका स्वास्थ्यकर्मीले ३६५ बुझाउनुपर्ने छ।
स्वास्थ्य संस्थाले वार्षिक रुपमा प्रति संस्था २,००० र १० शय्या भन्दा माथि १०० (प्रति शय्या) ब बापत तिर्नुपर्नेछ।